बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

लघुकथा : रातो रंग

शनिबार, ०१ असोज २०७९, ०६ : १८
शनिबार, ०१ असोज २०७९

“हामीहरूलाई त गन्दै गन्दैनन् यार,” भरेको लागि चामल भिजाउँदै रमेश करायो । 

“एउटा न एउटालाई त पट्याउलास् नि, बल्ल एक वर्ष भएको छ । चनामा पनि किरा लागेको रहेछ यार,” भन्दै हरिले भरखर किनेर ल्याएको चना उनीहरूले खाना खाने ठुलो थालमा खन्याएर हेर्न थाल्यो । 

“तँलाई पो रिताले सुरुबाट नै लाइन दिई र मख्ख छस् । आफ्नो काम बने भयो, अरूको मतलब छैन । यसो रितासँग कुरा गरेर प्रमीलालाई मिला भनेको सुन्ने होइन ।” रमेशले भन्यो । 

“कुरा गर्छु यार, ह्याँ आफूले अझै प्रेम प्रस्ताव राख्न सकेको छैन । बोलचाल गर्‍यो भन्दैमा हुन्छ र ? कसरी प्रमीलाको कुरा गर्ने ? बरु हिजो त तँ सँगै बसे जस्तै मान्थेँ । आफैले कुरा गर्न भ्याइनस् ?” हरिले भन्यो । 

“क्लासमा के कुरा गर्नु भनेर नि,” रमेशले भन्यो । 

यस्तैमा मोबाइलको टुङटुङ घन्टी बज्यो, हरिले मोबाइल हेर्‍यो, रिताको म्यासेज रहेछ । हत्तपत्त भित्ताको ह्याङ्गरबाट सर्ट र पाइन्ट निकाल्यो । 

के सोच्यो खै, सर्ट फेरि भित्तामा नै राख्यो । रमेशको रातो सर्ट हेर्दै भन्यो, “तेरो रातो सर्ट बिहान आइरन गरेको हो नि है । म लगाउँछु ल,” मुसुक्क हाँस्दै रमेशले स्वीकृति दियो । 

रातो सर्ट लगाएर उ तल बाटोमा ओर्ल्यो । 

“आज उसैले कुरा राख्छे होला जस्तो छ । नभए आज मै कुरा गर्छु ।” मनमा कुरा खेलाउन थाल्यो । रिता त नजिकै आइसकेकी रहिछन् । बाटोमा नै भेट भयो । 

“हेर, म आज असाध्यै खुसी छु । त्यसैले, आज सँगै बसेर खाजा खाऊँ भनेर बोलाएकी,” रिताले भनिन् । 

उनीहरू गुप्ताजीको खाजा पसलमा पसे ।

“हामी पनि जानौँ न के खुसी हो त्यस्तो,” उसले पनि उत्सुकता लागेर सोध्यो । 

“अब नफर्किने गरेर मेरो श्रीमान् आउने हुनु भयो नि,” उनले खुसी व्यक्त गर्दे भनिन् । 

चकिर्दो घाममा पाकेको अलकत्रा राखेर पिच बाटो बनाउँदै गरेको कामदारलाई हेर्दे भावुक भएर फेरि भनिन् “विचरा मेरो श्रीमान्लाई पनि त्यो मरुभूमिमा कति दुःख भयो होला है ?” 

हरिका ओठ पनि हल्का हाँसेको जस्तो देखियो तर मनमा भने कुरा खेल्न थाल्यो, “कमसेकम कहिलेकाहीँ मात्र भए पनि सिउँदोमा रातो रंग लगाएको भए हुने नि ।”

पोखरा–७, मासबार, कास्की

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ढाकामोहन बराल
ढाकामोहन बराल
लेखकबाट थप