आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

सूर्याेदय नगरपालिकामा ५० करोडका आयोजना

शुक्रबार, ३१ भदौ २०७९, २१ : २५
शुक्रबार, ३१ भदौ २०७९

विभिन्न एकीकृत सहरी पूर्वाधार निर्माण कार्यक्रम अन्तर्गत इलामको सूर्याेदय नगरपालिकामा ५० करोडका कार्यक्रम धमाधम शिलान्यास भएका छन् । पूर्व प्रधानमन्त्री झलनाथ खनाल र शहरी विकास मन्त्री मेटमणि चौधरीले ६ महत्वपूर्ण सडक  शिलान्यास गरेका छन् । सहरी पूर्वाधार कार्यक्रम अन्तर्गत फिक्कल रिङ रोड, हुरहुरे भन्ज्याङ्–ग्यावाचोक, छब्बीसे –छिरुवा सडक, रातमाटे –माने डाँडा सडक, माने भन्ज्याङ –च्यामेखोला गोर्खे सडक शिलान्यास गरिएको छ भने आयआर्जन जन्य पूर्वाधारतर्फ नगर बसपार्क, चिस्यान केन्द्र, कन्याम पार्क, पोखरी संरक्षण देखि पोखरी सौन्दर्यकरण सम्म रहेका छन् । 

शिलान्यास कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सूर्याेदय नगरपालिकालाई सुन्दर, आधुनिक र नमुना बनाउने बताए । इलाम हिरा हो तर कुद्न बाँकी छ भन्दै खनालले भने, ‘रिङ रोडको विकास, शन्दुकपुरको थप विकास, श्री अन्तु डाँडाको सुन्दरतमा वृद्धि, होम स्टे, चिया बगान, यसको सौन्दर्यको अन्तर्राष्ट्रियकरण गरिनेछ । व्यापार, बिजनेस थप बढ्ने छ ।’

इलामले कला, साहित्य र संगीतमा समेत अनेकन प्रतिभा जन्माएको बताउँदै इलामलाई देशकै सुन्दर जिल्ला बनाउन लागिपर्ने धारणा पूर्व प्रधानमन्त्री खनालले राखेका थिए ।  शिलान्यासकै क्रममा सहरी विकास मन्त्री मेटमणि चौधरीले झलनाथ खनाल जस्तो व्यक्तित्व भएको, पर्यटन र उत्पादनमा चिनिएको सुन्दर इलामलाई थप सुन्दर, व्यवस्थित बनाउन सहरी मन्त्रालयले कुनै कसर बाँकी नराख्ने बताए । 

सूर्याेदय नगरपालिकाका मेयर रनबहादुर राईले इलामको विकासका लागि पूर्वप्रधानमन्त्री झलनाथ खनाल र सहरी मन्त्री चौधरीले गरेको प्रयासको प्रशंसा गरेका थिए ।  शहरी विकास मन्त्रालयका उपमहानिर्देशक नारायण भण्डारीले एकीकृत सहरी विकास कार्यक्रमले इलामका जनतालाई थप उन्नत बनाउने धारणा राखेका थिए । त्यसैगरि सघन सहरी तथा भवन निर्माण विभाग झापाका आयोजना प्रमुख सुदिप पौडेल शहरीकरण सँगै आयआर्जनमा पनि सुधार हुनुका साथै सबै आयोजना समयमै सकिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप