बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

ब्याजदर वृद्धिप्रति मोरङ व्यापार संघको आपत्ति

शुक्रबार, ३१ भदौ २०७९, २१ : ११
शुक्रबार, ३१ भदौ २०७९

बढ्दो बैंकिङ ब्याजदर वृद्धिलाई लिएर मोरङ व्यापार संघले आपत्ति जनाएको छ । शुक्रवार पत्रकार सम्मेलनको आयोजना गर्दै संघले नजिकिँदै गरेकाे चाडपर्वको मुखैमा बढेको बजार महँगीसँगै बैंकिङ ब्याजदर र सुस्त स्थानीय बजारको स्थितिले अर्थतन्त्रको विकराल स्थिति झल्काएको संघले बताएको हो ।

यस मुद्दाप्रति संघको गम्भीर ध्यानाकर्षण समेत भएको बताएको छ । ‘विगत केहि महिनादेखि चर्किँदै गएको बैंक ब्याजदर, तरलता अभाव तथा आयातमा गरिएका कडाइले औद्योगिक/व्यावसायिक आर्थिक चक्र नराम्ररी प्रभावित भएको सर्व विदितै छ । लगानी योग्य पुँजीको अभावमा उद्योग/व्यवसायहरू आ–आफ्ना क्षमता अनुरूप कार्य गर्न असमर्थ हुँदै गएको दुरावस्था देखा परेको जानकारी गराउन चाहन्छौँ’ संघद्वारा जारी विज्ञप्तिमा थप भनिएको छ, ‘विगत ६ महिना मै एकल अंकको बैंक ब्याजदर दोब्बर हुन गएको छ भने छोटो अवधि मै भद्र सहमति भंग गर्दै बैंकहरुले आफूखुसी ४ प्रतिशतसम्म स्प्रेडर दर कायम गरेका छन् । यसबाट कोभिड पश्चात् बिस्तारै लयमा फर्कँदै गरेको अर्थतन्त्रलाई पुनः उच्च बैंक ब्याजदरको धक्का लागेको छ ।’

एकातिर बैंकहरुका करोडौँका नाफा भन्ने समाचारहरू सुनिन आई रहेको छन्, श्रावणमा मात्रै ९०० करोड मुनाफा कमाएको बुझिएको छ भने अर्कोतर्फ उद्योग/व्यवसाय र उपभोक्ताहरुको नाजुक अवस्था प्रति सरकार र राष्ट्र बैंकले खासै चासो नदिनाले उद्योगी/व्यवसायीहरू हतोत्साहित भई रहेका छन् । यसैबीच नेपाल राष्ट्र बैंकले हाल जारी गरेको चालु पूँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ का केही प्रावधानहरू समेत औद्योगिक÷व्यवसायीक वातावरणका लागि प्रतिकूल रहन गई प्रत्यक्ष प्रभाव पर्ने भएकाले त्यसलाई तत्कालै सुधार गर्न तथा चालू पूँजी कर्जालाई पारदर्शी एवं एकरुपता कायम गर्न समेत हामीले राष्ट्र बैंकलाई सुझावहरू पत्राचार गरेका छौँ । त्यसका साथै, हामीले एकल अंकको ब्याजदर कायम गर्नु पर्ने, औद्योगिक/व्यावसायिक प्रयोजनका कर्जाको ब्याजदर फरक गरिनु पर्ने, संस्थागत व्याज दर कम गरिनु पर्ने आदि विभिन्न मागहरु राष्ट्र बैंक समक्ष राख्दै आएका छौँ’ संघले भनेको छ ।

यस्तै, नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि तय गरेको ७ प्रतिशतको वार्षिक उपभोक्ता मूल्य वृद्धिदर गत साउनमै औसत ८.२६ प्रतिशत हुन पुगेको, चाडवाड अगावै ध्यू, तेल, फलफूल, माछामासु, गेडागुडी लगायतका खाद्य तथा दैनिक उपभोग्य वस्तुहरूको मूल्य आकासिएको संघको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप