बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

अमेरिकी प्रतिबन्ध हटे मात्र आणविक सम्झौता हुन्छ : इरानी राष्ट्रपति

शुक्रबार, ३१ भदौ २०७९, २० : ४६
शुक्रबार, ३१ भदौ २०७९

इरानका राष्ट्रपति इब्राहिम रैसीले आणविक सम्झौताको लागि अमेरिकाले लगाइरहेको प्रतिबन्ध हटाउनुपर्ने बताए ।  प्रतिबन्धहरु स्थायी रुपमा हट्ने प्रतिवद्धता आउनुपर्ने उनले जोड दिए ।  उज्वेकिस्तान भ्रमणमा रहेका रैसीले तेहरानसँग सम्झौताको लागि वासिङटन इमानदार रहेकोप्रति प्रश्न रहेको बताउँदै यही कारण अमेरिकासँग प्रत्यक्ष वार्ता गर्ने बेला नआइसकेको बताए । 

‘प्रतिबन्ध हट्ने र पछि पुनः ती नलाग्ने प्रत्याभूत गर्नुपर्यो । सुरक्षाको सवालमा इस्लामिक गणतन्त्र इरानविरुद्ध अनावश्यक राजनीतिक तथा आधारहीन आरोप लगाइन्छ,’ सांघाई कोअपरेसन अर्गनाईजेसनमा सहभागी हुने क्रममा बिहीबार रैसीले भने । 

‘यदि हामीलाई विश्वसनीय प्रतिवद्धता गरियो र प्रतिबन्ध चिरकालसम्म हटाइने वाचा आयो भने र सुरक्षाको मुद्दामा उपाय खोजियो भने बल्ल सहमति सम्भव हुनेछ,’ राष्ट्रपतिले भने ।  इरान र अमेरिकाबीच सन् २०१५ को आणविक सम्झौता ब्यूँताउन चलिरहेको प्रयास अहिले अवरुद्ध बनेको सन्दर्भमा रैसीको यस्तो भनाई आएको हो ।  सन् २०१५ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प २०१५ मा हस्ताक्षर भएको आणविक सम्झौताबाट बाहिरिएका थिए । 

आणविक सम्झौता अन्तर्गत इरानले युरेनियम प्रशोधन कार्यक्रमलाई शान्तिपूर्ण प्रयोजनलाई मात्र प्रयोग गर्ने गरी न्युनिकरण गर्ने र आणविक हतियार हासिल गर्ने उद्देश्य परित्याग गर्ने बताएको थियो ।  बदलामा इरानमाथि लागू प्रतिबन्ध खुकुलो बनाउने सम्झौतामा उल्लेख थियो ।

सन् २०१५ मा भियनामा सम्पन्न सम्झौतामा अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, रुस, चीन,युरोपेली संघ र इरानले हस्ताक्षर गरेका थिए ।  अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सी(आईएईए) ले इरानले सम्झौता अनुरुप काम गरिरहेको बताइरहँदा ट्रम्पले अमेरिकालाई सम्झौताबाट बाहिर निकालेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप