आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेस सहमहामन्त्रीले बुझाए क्लस्टरअनुसार उम्मेदवारको सूची

शुक्रबार, ३१ भदौ २०७९, १९ : ०४
शुक्रबार, ३१ भदौ २०७९

नेपाली कांग्रेस समानुपातिक प्रणालीतर्फ उम्मेदवारको बन्दसूची बनाउने अन्तिम तयारीमा छ । कांग्रेसका ८ जना सहमहामन्त्रीले मातहतका समितिबाट केन्द्रमा सिफारिस भएर आएका उम्मेदवारको नाम क्लस्टर अनुसार सूचीकृत गरेर प्रतिवेदन बुझाएका हुन् । 

शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठकमा सहमहामन्त्रीहरुले समानुपातिकतर्फ प्रतिनिधि र प्रदेशसभाका लागि सिफारिस भएकाहरुको नाम छुट्याएर बुझाएका छन् ।सहमहामन्त्री बद्री पाण्डले भने, 'हामीले क्लस्टरको अलग अलग सूची बनाएका थियौं । ती सामग्री बैठकमा सहभागी नेताहरुलाई उपलब्ध गरायौं । यसमाथि अध्ययन हुन्छ ।'

सहमहामन्त्रीले क्लस्टर अनुसार तयार पारे उम्मेदवारहरूको सूचीमाथि शनिबार दिउँसो २ बजे बस्ने बैठकमा थप छलफल हुने पाण्डले बताए । उनले भने, 'भोलिको बैठकमा उम्मेदवार छनोटबारे आफ्नो सुझाव दिन्छौं । नाम छनोटको विधि अनुसार टुंग्याउने बन्ने कुरा भएको छ ।

समानुपातिक प्रणालीतर्फ उम्मेदवारको बन्दसूची असोज २ र ३ मा बुझाउने निर्वाचन आयोगको कार्यतालिका छ । प्रतिनिधिसभाका लागि दलहरूले समानुपातिक बढीमा १ सय १० र कम्तीमा ११ उम्मेदवारको नाम बुझाउन सक्छन् । प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ अनुसार दलहरूले समावेशी सिद्धान्तअनुसार उम्मेदवारको बन्दसूची तयार गर्नुपर्ने हुन्छ । 

दलित, आदिवासी जनजाति, खस–आर्य, मधेसी, थारू र मुस्लिमको संख्यामा प्रतिशतका आधारमा प्रतिनिधित्व हुने गरी उम्मेदवारको नाम दलहरूले आयोगमा बुझाउनुपर्छ । खसआर्य ३४, आदिवासी जनजाति ३२ जना, थारु ७, दलित १५, मधेसी १७ र मुस्लिम ५ जनाको नाम समेटिनुपर्ने कानुनी व्यवस्था छ । प्रत्येक समावेशी समूहबाट कम्तीमा ५० प्रतिशत महिला हुनुपर्छ । यस्तै प्रदेश १ मा ३७, मधेस प्रदेशमा ४३, बागमती प्रदेशमा ४४, गण्डकी प्रदेशमा २४, लुम्बिनी प्रदेशमा ३५, कर्णाली प्रदेशमा १६ र सुदूरपश्चिममा २१ उम्मेदवारको नाम छनोट गर्नुपर्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप