बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

Exclusive : टुकुचा मिच्ने ५८१ कित्ताका घरमा महानगरको डोजर चल्ने (सूचीसहित)

टुकुचा अतिक्रमण गर्न सघाउने सरकारी कर्मचारीलाई समेत कारवाहीका लागि सिफारिस हुने
शुक्रबार, ३१ भदौ २०७९, १७ : ३०
शुक्रबार, ३१ भदौ २०७९

टुकुचा मिचेर संरचना बनाइएको ५८१ वटा कित्ताका जग्गा र त्यहाँ बनेका घरमा डोजर चल्ने भएको छ । काठमाडौं महानगरपालिकाका अनुसार चण्डोलदेखि थापाथलीसम्म टुकुचा खोला अतिक्रमण भएका ५८१ कित्ता जग्गा तथा त्यहाँका घरमा डोजर चल्ने भएको हो । 

शहरी विकास मन्त्रालयले तयार पारेको टुकुचा खोला करिडोर व्यवस्थापनसम्बन्धी प्रतिवेदनलाई काठमाडौं महानगरपालिकाले स्वीकार गर्दै सोही योजना अनुसार टुकुचा खोला करिडोर बनाउन लागेको हो । त्यसका लागि बिहीबारदेखि महानगरपालिकाले टुकुचा खोला मिचिएको जय नेपाल हलबाट उत्खनन् सुरु गरेको छ । 

महानगरपालिकाले बिहीबार हात्तीसारमा रहेको जय नेपाल फिल्म हलको कम्पाउण्डभित्र डोजर लगाएर टुकुचा खोलाको उत्खनन् सुरु गरेको हो । अब शनिवारदेखि फेरि हात्तीसारक्षेत्रमा छोपिएको टुकुचा खोला बाहिर निकाल्ने गरी उत्खनन् गर्न लागिएको छ । हात्तीसारक्षेत्रमा रहेका चारवटा ठूला भवन पूर्णरुपमा भत्कने छन् । यस्तै केही टहरा र खोलाको सेटब्याक मिचेर बनाइएका घरका केही भूभाग पनि भत्काउने तयारी गरिएको छ । 

रातोपाटीलाई प्राप्त डकुमेन्ट अनुसार काठमाडौं महानगरपालिका वडा नम्बर १ मा रहेको कित्ता नम्बर ११ को नैना कुमारी देवी राणाको जग्गादेखि वडा नम्बर ३२ को कित्ता नम्बर ३३२२ को नजमा बानुसम्मका व्यक्तिले टुकुचा खोलाको अतिक्रमण गरेका छन् । टुकुचा खोलाको दायाँबायाँ रहेका ५८१ कित्ता जग्गा तथा त्यहाँ बनेका घर टहरा लगायतका संरचनाले शहरी विकासको मापदण्ड पूरा गरेका छैनन् । टुकुचा खोलाको चौडाई चार मिटर र खोलाको दायाँ तथा बायाँ चार चार मिटर छाड्नुपर्ने भएपनि यसरी दायाँ बायाँ चार चार मिटर नछाडिएका संरचनामा डोजर चलाउन लागिएको हो । पहिले खोला खुला गरी सेटब्याक समेत तयार भएपछि दसैँलगत्तै टुकुचा खोला करिडोर निर्माणका लागि टेण्डर आह्वान गर्ने तयारी गरिएको छ । 

टुकुचा बेपत्ता बनाउनेमाथि कारवाहीका लागि सिफारिस गरिने
महानगरपालिकाका एक सल्लाहकारका अनुसार टुकुचा खोलाको अतिक्रमण गर्ने, अतिक्रमण गर्न सघाउ पुर्‍याउने र आफ्नो जिम्मेवारी पूरा नगर्ने राष्ट्रसेवक कर्मचारी, जनप्रतिनिधि, महानगरकै कर्मचारी आदि समेतलाई कारवाहीका लागि सिफारिस गर्ने तयारी गरिएको छ । 

आफ्नो नाम उल्लेख गर्न नचाहने ती सल्लाहकारले भने, ‘टुकुचा खोलामाथि अतिक्रमण भएको करिब ४० वर्ष भयो । यो समयमा टुकुचा खोलाको अतिक्रमण धेरै भएको देखिन्छ । कतिपय स्थानमा टुकुचा खोला नै भूमिगत बनाइएको छ भने खोलाका लागि छाड्नुपर्ने चार चार मिटरको सेटब्याक नछोडी संरचना बनाइएका छन् । साथै टुकुचा खोलामै ढल मिसाउन पनि अनुमति दिएको पाइएको छ । यस्तो कार्यमा संलग्न महानगरपालिकाकै कर्मचारी, नापी कार्यालय, मालपोत कार्यालय र स्थानीय जनप्रतिनिधि समेतलाई कारवाहीका लागि सिफारिस गर्ने तयारी भइरहेको छ । कुन कुन कार्यालय वा कर्मचारीले कसरी बदमासी गरे भनेर अहिले अनुसन्धान र छानबिन भइरहेको छ । छानबिन लगत्तै हामी उनीहरुलाई कारवाहीका लागि पनि सिफारिस गर्नेछौँ ।’

दसैँअगाडि नै हात्तीसार क्षेत्रमा टुकुचाको उत्खनन सकिने
ती सल्लाहकारका अनुसार आगामी दसैँ अगाडि नै हात्तीसारक्षेत्रमा भूमिगत बनाइएको टुकुचा खोला खुला बनाइने तयारी भएको छ । उत्खननको काम अब शनिबारदेखि नियमित हुनेछ । तर हात्तीसारक्षेत्रमा सबै स्थानमा डोजरबाट उत्खनन् नगरी खनेर वा अन्य विधिबाट उत्खनन् गरिने छ । 

हात्तीसार क्षेत्रमा रहेका चारवटा ठूला भवनले टुकुचा खोलामाथि संरचना बनाएका छन् । जय नेपाल हलसँगै रहेको एअर अरेबिया तथा गल्फ एअरको कार्यालय रहेको भवन पूरै भत्कने छ भने एसबी डेभलपर्सले बनाएको लक्ष्मी बैंक रहेको स्थानको पछिल्लो भवन पनि टुकुचा खोलामाथि बनाइएकाले उक्त भवन पनि भत्काइने छ । त्यसबाहेक हात्तीसार क्षेत्रमा रहेका साना साना टहरा तथा सेटब्याक नछाडि बनाइएका केही घरका केही भूभाग पनि भत्कने छ । 
दसैँअगाडि नै हात्तीसारक्षेत्रमा टुकुचाको कुल चौडाइ १२ मिटर (खोला चार मिटर, दायाँ र बायाँ चार÷चार मिटर) बनाउने गरी काम भइरहेको महानगरपालिकाले जनाएको छ । 

पुनश्चः यी कित्ताहरू टुकुचासँग जोडिएका जग्गाका कित्ताहरू हुन् । यी कित्ताहरूमध्ये अधिकांशले चार मिटरको सेटब्याक नछाडि संरचना बनाएको महानगरले बताएको छ । यी कित्तामा परेपनि मापदण्ड पूरा गरेका घर नभत्कने महानगरले जनाएको छ ।

सूची हेर्नुहोस्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप