मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

बजार अनुगमन गर्न समितिद्वारा सरकारलाई निर्देशन

शुक्रबार, ३१ भदौ २०७९, १६ : १५
शुक्रबार, ३१ भदौ २०७९

राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले अखाद्य वस्तुको मिसावट र कालोबजारी रोक्न सरकारका विभिन्न निकायलाई निर्देशन दिएको छ । ‘बजार अनुगमन, मूल्यवृद्धि नियन्त्रण, उपभोक्ता हित संरक्षण तथा गुणस्तरीय वस्तुको सहज आपूर्तिका’ सम्बन्धमा सिंहदरबारमा आज बसेको समितिको बैठकले चाडपर्व नजिकिँदै गर्दा अखाद्य वस्तुको मिसावट र कालोबजारी हुनेतर्फ  सजग हुन सरकारलाई आग्रह गरेको छ ।  

समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती) ले  बैठकमा  अन्तरमन्त्रालय र तीन तहका सरकारको समन्वयमा बजार अनुगमन गरी अहिले भइरहेको मिसावट र कालोबजारी गर्नेलाई कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको बताइन् । उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र नेपाल गुणस्तर तथा नापतौल विभागलाई समितिमा बोलाएर खाद्यान्न वस्तुमा अखाद्य पदार्थ मिसाउन र कालोबाजारी गर्नेलाई कारबाही गर्न निर्देशन दिएको जानकारी दिइन् ।

उनले एकीकृत अनुगमन टोली बनाई बजार अनुगमन गर्नुपर्नेसमेत बताइन् । “चाडपर्वको समयमा सर्वसाधारणलाई झुक्याउन अखाद्य वस्तु मिसावट र धेरै मूल्यमा वस्तु बिक्री गर्ने गरेका हुन्छन”, उनले भनिन्, “अनुगमन गरी बजारलाई नियन्त्रण गर्नुपर्दछ ।” समितिका सदस्य खिमलाल भट्टराईले खाद्य वस्तुमा कृतिम अभाव खडा गर्ने भएकाले सचेत हुनुपर्ने बताए । उनले चिनी, खसी, बोका, भेडा, च्याङ्ग्राको सहज उपलब्धता हुनुपर्ने भन्दै होटेल रेन्टुराँको पनि नियमित अनुगमन गर्नुपर्ने खाँचो औँल्याए ।

समिति अर्का सदस्य इन्दिरा गौतमले अखाद्य बस्तु बेच्नेलाई हदैसम्मको कारबाही गर्नुपर्ने बताइन् । उनले स्वदेशी केरा र स्याउलाई प्राथमिकतामा राख्नुपर्ने भनाइ राखिन् । अर्का सदस्य जयन्ती राईले बजारमा अखाद्य वस्तु बेच्ने गरेको पाइएको जनाउँदै अनुगमन हुन नसकेको गुनासो गरिन् । “व्यापारीले मनपरी वस्तुको मूल्य लिएका छन् । सरकारले अनुगमन गर्न सकेको छैन”, उनले भनिन्, “अहिले दैनिक र अरु बेला साप्ताहिकरुपमा अनुगमन गर्नुपर्दछ ।”

समितिका अर्का सदस्य रामचन्द्र रायले सरकारले ल्याएको नीति, नियम कार्यान्वयन नगरेको हुनाले बजारमा विचौलिया बढेको बताए । उनले सुपथ मूल्यका पसल सञ्चालन गर्नुभन्द मूल्य नियन्त्रणमा ध्यान दिनुपर्ने भनाइ राखे । समितिका  सदस्य इन्दु कँडेलले बजार अनुगमन नहुँदा व्यापारीको मनोमानी बढेको बताइन् । उनले सुपथ मूल्यका पसलमा धनी वर्गको मात्र पहुँच बढेको जनाउँदै नेपाल भारत सीमा क्षेत्रमा अखाद्य वस्तु बढी मिसावट हुने गरेको बताइन् । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा तोयनारायण ज्ञवालीले मन्त्रालयको क्षमताअनुसार बजार अनुगमनलाई प्रभावकारी बनाइने जानकारी दिए । उनले वैशाखयता एक हजार चार सय व्यापारी फर्ममा अनुगमन गर्दा रु ८३ लाख ११ हजार राजस्व सङ्कलन गरिएको बताए । उपभोक्त संरक्षण विभागका महानिर्देशक महेश भट्टराईले अगामी असोज २ गतेबाट १०  संयुक्त अनुगमन टोलीले बजार अनुगमन गर्ने जानकारी दिए । उनले अखाद्य वस्तुको मिसावट र कालोबजारीबारे सर्वसाधारणलाई जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताए । उनका अनुसार यही भदौ ३० गते पाँच सय ५६ व्यापारी फर्ममा अनुगमन गर्दा एक सय सात व्यापारी फर्मबाट अखाद्य वस्तु र म्याद गुज्रेका सामान बरामद गरी २१ लाख जरिवाना गरिएको थियो ।

नापतौल विभागका महानिर्देशक दिनानाथ मिश्रले नापतौलका सामग्रीको नियमित अनुगमन गरिरहेको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप