फूल निर्यात १९ करोडबाट ९८ लाखमा झर्यो
सरकारले फूल निर्यात गर्ने उद्देश्यले लगानी गरे पनि त्यस अनुसारको प्रतिफल हासिल हुन नसक्दा परनिर्भरता बढ्दै गएको छ । नेपालमा एक वर्षमा भारतबाट मात्र ३८ करोड रुपैयाँ बराबरको फूल आयात हुँदा निर्यात भने ९८ लाख रुपैयाँमा सीमित छ ।
फ्लोरीकल्चर एशोसिएशन नेपाल (फ्यान) को ३० औं वार्षिक साधारणसभामा नेपाल उद्योग वाणिज्य महासंघ वस्तुगततर्फका उपाध्यक्ष अञ्जन श्रेष्ठले पहिला वार्षिक १९ करोड रुपैयाँ बराबरको फूल निर्यात हुने गरेकोमा अहिले त्यो घटेर ९८ लाख अर्थात् झण्डै एक करोडमा झरेको बताए । देशको अर्थतन्त्रका लागि यो राम्रो संकेत नरहेको उनले प्रस्ट पारे ।
उनका अनुसार भारतबाट मात्र ३८ करोड रुपैयाँभन्दा बढी मूल्यको फूल आयात भइरहेको छ । त्यसलाई निरुत्साहित गर्न सरकारीस्तरबाटै लाग्नुपर्ने उनको भनाइ छ । नेपालबाट कुनै वस्तु निर्यात गर्दा भारतीय पक्षबाट निकै दुःख दिने गरेको पीडा सुनाउँदै उपाध्यक्ष श्रेष्ठले त्यस कारणले पनि नेपालबाट कम निर्यात भइरहेको बताए ।
‘भारतीय पक्षले भन्सारदेखि लिएर विभिन्न चेकजाँचमा समय लगाइदिने, के के कागजात मिलेन भनेर फर्काइरहने, अनावश्यक लफडा खडा गरेर दुःख दिने गरेका कारण निर्यात गर्नुभन्दा नगर्दा नै बेस हुने जस्तो लाग्न थालिसकेको छ,’ उनले भने ।
उनले यसको भुक्तभोगी आफू स्वयं रहेको जिकिरसमेत गरे । ‘म चकलेटलगायत सामग्री भारत निर्यात गर्छु तर यति लफडा लगाउँछ कि ती समान पुग्न तीनदेखि चार महिना लगाई दिन्छन्, त्यसले पनि नेपाली व्यापारीलाई गाह्रो बनाएको छ,’ उनले भने ।
नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष शकुन्तलाल हिराचनले पनि नेपालले पर्याप्त मात्रामा फूल निर्यात गर्न नसक्नु दुखद् रहेको बताए । उनले भने, ‘नेपालमा फूल उत्पादनको पर्याप्त सम्भावना छ तर यान्त्रीकरणका कारण सम्भव भएको छैन ।’
इजरायल मरुभूमिको देश भएर पनि त्यहाँ गुलाबको फूल उत्पादन गरेर निर्यात समेत गरिरहेको बताउँदै उनले इजरायलको तुलनामा नेपालको वातावरण धेरै नै राम्रो भए पनि व्यवस्था राम्रो नभएकाले अपेक्षा अनुसार काम गर्न नसकेको बताए ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा.राजेन्द्र मिश्रले फूलको निर्यात प्रवर्द्धनमा सहयोग गर्न सरकार तयार रहेको र त्यसका लागि प्रस्ताव ल्याउन फ्यानलाई आग्रह पनि गरे । उनले भने, ‘फूल निर्यात प्रवर्द्धनका लागि के के गर्न सकिन्छ त्यसका लागि प्रस्ताव ल्याउनुस्, त्यसमा हामी सहयोग गर्न तयार छौं ।’
कृषि विभागका उपमहानिर्देशक शान्ता कार्कीले पनि सरकारले फूल क्षेत्रमा विगतदेखि नै सहयोग गर्दै आएको प्रस्ट पार्दै त्यसमा अरु थप के गर्न सकिन्छ, छलफलका लागि आग्रह गरिन् । उनले भनिन्, ‘अपेक्षा गरेअनुसार सहयोग नभएको होला तर सरकारबाट निरन्तर सहयोग भइरहेको छ, थप सहयोग के गर्न सकिन्छ, त्यसका लागि छलफल गरौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी