स्वतन्त्रको पक्षमा लहर कि स्वतन्त्र उठ्ने रहर ?

person explore access_timeभदौ ३१, २०७९ chat_bubble_outline0

गत स्थानीय निर्वाचनमा बालेन्द्र शाह र हर्क साम्पाङ जस्ता केही स्वतन्त्र उम्मेदवारहरुले विभिन्न कारणले मेयर पदमा चुनाव जितेका कारण आउँदो मंसिर ४ गते हुन गइरहेको संघीय संसद र प्रदेश सभाको चुनावको लागि स्वतन्त्र भै चुनाव लड्न रहर गर्नेहरुको ओइरो नै लागेको छ ।


यस अघिका संसदीय निर्वाचनहरुमा पनि एक दुईजना लोकप्रिय स्वतन्त्र उम्मेदवारहरुले विजय हासिल नगरेका हैनन् । तर यसपालि भने स्वतन्त्र भै चुनाव लड्नेहरुको संख्या अलि असामान्य रुपमा नै बढ्ने देखिएको छ ।  यसरी स्वतन्त्र उम्मेदवारहरुप्रति केही आकर्षण बढेका कारण कसै कसैले त पार्टीकै नाम स्वतन्त्र राखेका छन् । तर त्यसबाट जनता झुक्किने सम्भावना भने निकै कम छ । यसरी स्वतन्त्र भै निर्वाचन लड्नेहरुको जमात देख्दा पञ्चायत व्यवस्थाको समयमा पद्मरत्न तुलाधरले स्वतन्त्र वाम भनी निर्वाचन लडेको कुराको याद दिलाउँछ । तर त्यसरी चुनाव जितेर पछि उनी एमालेको सरकारमा मन्त्री पनि बन्न पुगेका थिए ।



यसरी काठमाडौं र धरान जस्ता प्रमुख सहरमा ठूला, ठूला पार्टीका उम्मेदवारहरुलाई पराजित गरी स्वतन्त्र उम्मेदवारहरुले चुनाव जित्नुका पछाडि निश्चय पनि ती पार्टीहरुका अलोकप्रिय क्रियाकलाप प्रति जनताको बढ्दो आक्रोश नै प्रमुख कारण रहेको यथार्थलाई अस्वीकार गर्न सकिन्न । तर इतिहास सधैं दोहरिंदैन, आकस्मिकता पनि सधैं घटित हुँदैन र हरवखत भाग्यले साथ नै देला पनि भन्न सकिन्न ।



स्वतन्त्र भै चुनाव लड्न, प्रचार, प्रसार गर्न, चुनावमा विजय प्राप्त गर्न र जितेको खण्डमा काम गर्न पनि त्यति सजिलो अवश्य हुने छैन । यसपालिको चुनावमा स्वतन्त्र भै उठ्ने केही असाधारण प्रतिभा भएका उम्मेदवारहरुले अवश्य पनि चुनाव जित्न सक्ने सम्भावना रहला र कतिपय ठाउँमा स्वतन्त्र उम्मेदवारले आफू नजिते पनि कतिपय जित्न सक्ने उम्मेदवारलाई हराउन र कतिपय हार्ने उम्मेदवारलाई जिताउन भूमिका खेल्ने कुरामा भने शंका गर्नुपर्ने देखिंदैन ।

तर यसपालि जसरी अधिक संख्यामा स्वतन्त्र भै निर्वाचन लड्न रहर गर्नेहरु मैदानमा देखिएका छन्, त्यसै गरी उनीहरुले चुनावमा स्वतन्त्रकै पक्षमा लहर ल्याउने भने कम सम्भावना देखिन्छ । स्वतन्त्र उम्मेदवारहरुमा जति उत्साह यसपालि देखिएको छ, त्यति उनीहरुले आममतदाताको मन जित्न भने सहज हुने देखिंदैन ।

किनभने बहुदलीय व्यवस्था पुनस्थापना भएको तीन दशक नाघिसकेको र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको डेढ दशक भैसकेको वर्तमान अवस्थामा नेपाली मतदाताहरु निकै परिपक्व भैसकेका छन् । उनीहरुले बुझेका छन् कि स्वतन्त्र उम्मेदवारहरुको हैसियत चुनावपछि के रहला, र उनीहरुले जनतासामू गरेका वाचा, कवूल कत्तिको पूरा गर्ला भन्ने कुरा  ।

हालै सम्पन्न स्थानीय निर्वाचनको नतिजालाई विश्लेषण गर्ने हो भने यो निचोड निकाल्न सकिन्छ कि मतदाताले ठूला, ठूला स्थापित भैसकेका पार्टीहरुलाई अवश्य पनि राम्रो पाठ सिकाएका छन् । अब हाम्रोलाई हैन राम्रोलाई उम्मेदवार बनाउन पर्छ, चाकडी गर्ने र नेताहरुको पछि लाग्नेलाई हैन योग्य, क्षमतावान् र काम गर्न सक्नेलाई उम्मेदवार बनाउन पर्छ भन्ने सन्देश उनीहरुले गत स्थानीय निर्वाचनमार्फत दिन खोजेका छन् ।

तर बहुदलीय व्यवस्थामा धेरै स्वतन्त्र उम्मेदवारहरुलाई जिताएर व्यवस्था नै असफल पार्न भने उनीहरु कदापि चाहन्नन् । कहीँ नभएको जात्रा हाँडीगाउँमा भने जस्तै संसारमा कतै पनि नभएको चुनावमा स्वतन्त्रहरुको बहुमत आउनमा नेपाली जनता कारक बन्न कदापि सक्ने छैन । अनि यसरी दशकौंको संघर्षबाट शहीदहरुले रगत बगाएर, कतिपय जागरुक, चेतनशील नेपाली जनताले जेल, नेल भोगेर ल्याएको बहुदलीय व्यवस्था, संघीय प्रणाली र गणतन्त्रको के अर्थ रहन्छ यदि स्वतन्त्रलाई नै देशको जिम्मा दिने हो भने ? जस्ता प्रश्न उठ्नु पनि अस्वाभाविक हैन । 

आखिर बहुदलीय व्यवस्थामा चुनाव लड्न संगठन चाहिन्छ, काम गर्न टिमवर्क चाहिन्छ र संगठन विना केही व्यक्तिहरुको रहरले केही परिवर्तन गर्न सकिन्न भन्ने कुरा सबैले राम्ररी बुझेका छन् ।

राजनैतिक पार्टीहरुले गत आम निर्वाचनको नतिजाबाट अवश्य पनि पाठ नसिकी सुख छैन । चुनावमा नातावाद, कृपावादको आधारमा तथा भोजभतेर खुवाएको वा सारी र पैसा बाँडेको भरमा चुनाव जित्न अव सम्भव छैन भन्ने कुरा उनीहरुले राम्ररी बुझुन् भन्ने सन्देश दिन पनि केही स्वतन्त्र उम्मेदवारहरुलाई जनताले चुनाव जिताएको हुनपर्छ ।

अब केवल दलको नाउँले मात्र मतदाताहरुले आफ्नो अमूल्य भोट हाल्न मतदाताहरु वाध्य हुने छैनन् । उनीहरुले उम्मेदवारको अनुहार, उनीहरुको व्यक्तित्व, योग्यता, क्षमता, विगतको रिकर्ड आदि नहेरी, उम्मेदवारको उचित मूल्याङ्कन नगरी आँखा चिम्लेर अमुक पार्टीको नाउँमा अवश्य पनि भोट हाल्ने छैनन् ।

स्वतन्त्र भनेर चुनाव लड्ने उम्मेदवारको पृष्ठभूमि राम्ररी केलाएर हेर्ने हो भने वास्तवमा केही अपवादलाई छोडेर उनीहरु स्वतन्त्र नै छैनन् । तिनीहरुमध्ये कोही पार्टीबाट टिकट पाउने सम्भावना नरहेका कारण स्वतन्त्र भै चुनाव लड्न खोजेका देखिन्छन् भने कोही चाहिं बालेन र हर्कको नक्कल गर्दै उनकै चिन्ह लिएर चुनावी मैदानमा उत्रेका देखिन्छन् । कोही आफ्नो कार्यक्रम र योजना केही नभए पनि पुराना राजनैतिक पार्टीहरुलाई गाली गलौज गरेकै भरमा उनीहरुका कमी, कमजोरीलाई औंल्याएकै भरमा जनताले भोट दिने आशमा चुनाव लड्ने मनस्थितिमा देखिन्छन् ।

उता कोही यस व्यवस्थालाई असफल तुल्याउन प्रजातन्त्र विरोधी तथा प्रतिक्रियावादीहरुको साँठगाँठमा स्वतन्त्र भै चुनावी मैदानमा उत्रने प्रयासमा रहेका देखिन्छन् । यस्ता छद्मभेषी, प्रतिकृयावादीका पृष्ठपोषक तथा पूर्वाग्रही कथित स्वतन्त्र उम्मेदवारहरुलाई जनताले यसपालिको निर्वाचनमा नराम्ररी नंग्याइदिने छन् भन्ने कुरामा धेरै शंका गर्नुपर्ने देखिंदैन ।

यदि स्वतन्त्र उम्मेदवारलाई हतोत्साही गर्ने नै हो भने राजनैतिक पार्टीहरुले पनि नाम चलेका गुण्डा, डन, काला व्यापारी, व्यक्ति हत्यामा संलग्न, बलात्कारी जस्ता असामाजिक व्यक्तिहरुलाई चुनावमा टिकट दिने परिपाटीलाई पूर्णतया त्याग्न सक्नुपरेको छ ।

चुनावमा प्रशस्त पैसा खर्च गरेर भोट किन्ने र पछि विजयी भएर सत्तामा गएर त्यो पैसा व्याजसमेत असुल्ने र पुनः त्यही पैसा प्रयोग गरेर चुनाव जित्छु भन्ने मनस्थिति बनाएका केही नेताहरुले पनि आफ्नो यो परम्परागत शैलीलाई त्यागेर जनताको मन जित्न काम गरेर देखाउन पर्दो रहेछ, अनि भोट त्यसै आउँछ भन्ने कुरालाई राम्ररी मनन गर्नु परेको छ । चुनाव जित्ने आधार र शैलीलाई बदल्न पार्टीहरुले निकै होमवर्क गर्नु जरुरी देखिन्छ ।

पद, पैसाको दुरुपयोग, बल प्रयोग, बुथ क्याप्चर जस्ता गलत तरिका अपनाएर हैन, राम्रो कार्यक्रम दिएर, राम्रा एजेण्डा र भिजन बनाएर चुनावमा जाने प्रवृत्तिको विकास गर्न सबैले त्यतातर्फ ध्यान दिन आवश्यक देखिन्छ ।

धेरै नेताहरुले आर्थिक क्रान्ति, सुखी नेपाली र समृद्ध नेपाल, नयाँ नेपालको निर्माण, सिंगापुर बनाइदिने जस्ता आकर्षक नारा चुनावताका दिने गरेतापनि चुनावपछि ती सबै वाचा कवुलहरु विर्सिने गरेको देखियो । अब जनता केवल खोक्रा आश्वासन र नारा मात्र हैन, ठोस परिवर्तन हेर्न चाहन्छन् । पाँच वर्षअघि चुनावताका देशको स्थिति कस्तो थियो, अहिले अमुक पार्टीको सरकार आएपछि कस्तो भएको छ ? चुनावताका सार्वजनिक गरिएका मेनिफेस्टोका कति प्रतिशत काम पूरा भए भन्ने कुरा अब जनताले अवश्य खोज्ने छ ।

गत स्थानीय निर्वाचनमा मतदाताले निकै परिपक्वता देखाएका छन् मतपत्रमार्फत् । काठमाडौं महानगर जस्तो ठाउँबाट मधेसी मुलका व्यक्तिलाई अत्यधिक मतद्वारा विजयी गराइदिएका छन् भने तराईका केही नगरपालिकामा गैरमधेसीलाई विजयको माला पहिर्याइदिएका छन् उनीहरुले । यसबाट उनीहरुले के सन्देश दिन खोजेका छन् भने आम नेपाली मतदातामा राजनैतिक सुझबुझ र परिपक्वता पर्याप्त मात्रामा छ र उनीहरु कुनै प्रकारको साम्प्रदायिक गतिविधि वा नाराबाट प्रभावित हुने छैनन् अब । 

साथै राजनैतिक पार्टीका जिम्मेवार व्यक्तिहरुले समावेशी, लोकतान्त्रिक, गणतन्त्रको सिद्धान्तलाई कसरी लागू गर्ने र कसरी उम्मेदवार बनाउँदा जातीय, वर्गीय एवं सामूदायिक सन्तुलन कायम गर्ने भन्नेतिर पनि सोच्न जरुरी छ ।

अर्को महत्वपूर्ण कुरा चुनावलाई कसरी कम खर्चिलो बनाउने, कसरी अत्याधुनिक प्रविधिको प्रयोग गर्ने मतदातालाई आकर्षित गर्न भन्नेतर्फ पनि राजनैतिक पार्टीहरुको ध्यान पुग्नु जरुरी छ । काठमाडौंमा बालेनले र धरानमा हर्कले जसरी सामाजिक सञ्जालको प्रयोग सफलतापूर्वक गरे, त्यसबाट राजनैतिक पार्टीहरुले कसरी कम खर्चमा बढी भन्दा बढी जनताको पहुँचमा पुग्न सकिन्छ भन्ने शिक्षा लिनु जरुरी छ ।

सामाजिक सञ्जालको नकारात्मक प्रयोग गरेर अरुको खोइरो खन्न वा कसैको वदनाम गर्नमा हैन कि त्यसको सकारात्मक प्रयोग गरे नवीनतम प्रविधिको कसरी लाभ लिने भन्नेतर्फ सबैको ध्यान पुग्नु जरुरी छ ।

अन्त्यमा, जिम्मेवार पार्टीको नेतृत्व तहमा बस्ने तथा निर्णायक ठाउँमा बस्नेहरुले यो सोच्न परेको छ कि यसपालि स्वतन्त्र चुनाव लड्नेहरुको जुन रहर जागेको छ, त्यो कतै स्वतन्त्र उम्मेदवारप्रति जनलहर नबनोस् र स्थापित नेता तथा पार्टीको हारको कारण नबनोस् । स्वतन्त्र उम्मेदवार बन्नेहरुले पनि यो सोच्नुपरेको छ कि उनीहरु केवल रहरका निम्ति स्वतन्त्र बनेका हुन् कि साँच्चिकै उनीहरुसंग चुनावी एजेण्डा र कार्यक्रम पनि छ, अनि आफ्ना पक्षमा जनलहर ल्याउने क्षमता पनि छ ?

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।