नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने प्रधानमन्त्री देउवाको उद्घोष
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा खेलकुद विश्वविद्यालय खोल्ने बताएका छन् । शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा औपचारिक कार्यक्रम आयोजना गरी नवौं राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री देउवाले युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नेपालमा खेलकुद विश्वविद्यालय खोल्नुपर्ने प्रस्ताव गर्नुभएको उल्लेख गर्दै आफूले पनि खेलकुद विश्वविद्यालय खोल्नका लागि सुरुवात गर्ने योजना बनाएको बताए । उनले कोरोनाका कारण नेपालको आर्थिक अवस्था राम्रो नभएको बेलामा समेत खेलकुद विश्वविद्यालय खोल्ने सोच बनाएको बताए । प्रधानमन्त्री देउवाले खेलकुद विश्वविद्यालयले आगामी दिनमा युवाहरूको खेलप्रति आकर्षण बढ्ने विश्वास लिएको बताए ।
उनले भने, ‘नेपाल खेलकुदप्रति धेरै नै अघि छ । हामीले अझै ख्याति कमाउन बाँकी नै छ । तरपनि आलेम्पिक लगायत धेरै विधाबाट भाग लिएका हाम्रा साथीहरु हुनुहुन्छ । हाम्रा युवाहरु पनि धेरै खेलकुदमा रमाउँछन् । हाम्रो मन्त्रीज्यूले त मलाई खेलकुद युनिभसिंटी खोल्नुपर्छ भन्नुभएको छ । हामी छिटै नै खेलकुद विश्वविद्यालयतिर खोल्न लाग्नेछौँ । तर अहिले कोभिड लगायतका धेरै कारणले गर्दा राष्ट्रिय आर्थिक अवस्था राम्रो छैन । तरपनि सुरुवात गर्ने हाम्रो सोचाइ छ । सुरुवात गर्नेछौँँ । त्यसले पनि भोलि हाम्रो देशमा युवाहरूको आकर्षण बढ्नेछ भन्ने विश्वास लिएको छु ।’
सरकारले पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रनिङ ट्रफीको निर्माण गरेको हो । करिब १० लाख रुपैयाँमा राष्ट्रिय खेलकुदको विजेता टिमका लागि ट्रफी बनाइएको हो । लगातार तीन संस्करणको प्रतियोगिता जित्ने टिमले स्थायी रुपमा विजेता ट्रफी आफूसँग राख्न पाउनेछ । नवौं राष्ट्रिय खेलकुदको रनिङ ट्रफीलाई प्रदर्शनीका लागि सातै प्रदेश र तीन विभागीय टोलीमा पु¥याईनेछ ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) ले ओलम्पियन एवं दक्षिण एशियाली खेलकुदका कीर्तिमानधारी दीपक बिष्टको संयोजकत्वमा ५ सदस्सीय ट्रफी टूर कार्यदल गठन गरेको छ । कार्यदलमा क्रिकेटका पूर्व कप्तान पारस खड्का, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष एवं साग पदकधारी दीपक श्रेष्ठ, महिला भलिबल कप्तान अरुणा शाही र अल्ट्रा म्याराथन धाविका मिरा राई सदस्य छन् ।
ट्रफी आज सुदूरपश्चिम पठाइने र शनिवार बिहान ८ बजे धनगढी रंगशालामा सार्वजनिक गर्ने, असोज २ गते लुम्बिनी प्रदेशको एन्फा टेक्निकल सेन्टरमा दिउँसो ३ बजे, असोज ३ गते बागमती प्रदेश हेटौंडास्थित मानसचोकमा बिहानको ८ बजे, नेपाली सेनाको मुख्यालय जंगी अड्डामा असोज ७ गते बिहान १० बजे, प्रदेश १ को विराटनगर रंगशालामा असोज ८ गते, नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालय नक्शालमा असोज ९ गते, सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोकमा असोज ९ गते, कर्णाली प्रदेशको सुर्खेत रंगशालास्थित सेमी कभर्डहलमा असोज ११ गते, मधेस प्रदेशको रामजानकी मन्दिरको परिसरमा असोज १३ गते र गण्डकी प्रदेशमा असोज २३ गते सार्वजनिक गर्ने कार्यक्रम छ । गण्डकी प्रदेशमा भने पोखरा विमानस्थलबाट बाजागाजा र झाँकीसहित ट्रफी पोखरा पु¥याइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगलागीमा परी १० लाख बढीको क्षति
-
महिला यु–१९ एसिया कप : वर्षाले खेल अवरुद्ध
-
गाजामा युद्धविराम हुनेमा अमेरिकी विदेशमन्त्री ब्लिन्केन ‘आशावादी’
-
युक्रेनी युद्धमा कम्तीमा सय जना उत्तर कोरियाली सेनाको मृत्यु
-
आइएमएफबाट कर्जा लिन बिट्क्वाइनमा नीतिमा कटौती गर्दै एल सल्भाडोर
-
अमेरिकामा भेटियो गोप्य चिनियाँ प्रहरी थाना