बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

टुकुचाको खोजीमा बालेन : भत्केलान् त हात्तीसार क्षेत्रमा बडेमानका संरचना ?

शुक्रबार, ३१ भदौ २०७९, १३ : १३
शुक्रबार, ३१ भदौ २०७९

२०७९ भदौ ३० गते दिउँसो एकाएक काठमाडौं महानगरपालिकाको डोजर टुकुचा खोलाको उत्खनन् गर्न हात्तीसारमा रहेको जय नेपाल हलमा पुग्यो । जय नेपाल फिल्म हलको कम्पाउन्डमा महानगरको डोजर चलेपछि करिब १५ फिट तल टुकुचा खोला बगेको पाइयो । बुढानीलकण्ठदेखि बगेको टुकुचा खोला विभिन्न स्थानमा पुरिएको पाइएपछि काठमाडौं महानगरपालिकाले खोलाको खोजी गरेको हो ।

कुनै बेला इच्छुमतिको नामले चिनिन्थ्यो, टुकुचा खोला । बुढानिलकण्ठबाट सुरु भएको टुकुचा थापाथली नजिक बागमतीमा गएर मिसिएको छ । कुनै समय मानिसहरु पौडी खेल्ने, माछा मार्ने खोलाको रुपमा रहेको टुकुचाको चौडाई यतिबेला दुई तिहाईभन्दा बढी दुब्लाएको छ भने कतिपय स्थानमा  खोला नै गायब पारिएको छ ।

टुकुचा खोलालाई पछ्याउँदै जाने हो भने गैह्रीधारा, हात्तीसार, लाजिम्पाटलगायतका क्षेत्रमा ठाउँ ठाउँमा बेपत्ता छ । हात्तीसार क्षेत्रमा त टुकुचा खोलामाथि ठूला व्यापारिक भवनसमेत बनेका छन् । बालुवाटारदेखि प्रदर्शनीमार्गसम्म हेर्दै जाँदा टुकुचा खोला कतै हराउँदै कतै उदाउँदै गरेको देखिन्छ । मुख्यतः हात्तीसारदेखि कमलादीसम्म टुकुचा खोलाको अस्तित्व पूरै समाप्त पारिएको छ ।

भूमिसम्बन्धी ऐन २०२१, मालपोत ऐन २०३४ र मालपोत नियमावली २०३६ ले ‘खोलो कसैले छोप्न पाउँदैन’ भन्ने स्पष्ट किटान गरेको छ । यदि कसैले खोला हडपेको, छोपेको वा मिचेको भए खोलो पूर्ववत् अवस्थामै फर्काउनुपर्छ । काठमाडौं उपत्यकाको हकमा सरकारले निर्णय नै गरेर नाम खुलेका सबै साना खोला र टुकुचा खोलाको हकमा दायाँबायाँ चारचार मिटर छाड्नुपर्ने निर्णय गरेको थियो ।

सरकारले २०६४ जेठ १ गतेदेखि पूर्णरुपमा कार्यान्वयन हुनेगरी काठमाडौंभित्रका नाम खुलेका साना खोलाहरूको सन्दर्भमा पनि दायाँबायाँ ४/४ मिटर छाड्नुपर्ने र त्यहाँ कुनै पनि स्थायी वा अस्थायी संरचना बनाउन नपाउने निर्णय गरेको थियो । यद्यपि टुकुचा खोलाको सम्बन्धमा अधिकांश स्थानमा दायाँबायाँ चारचार मिटर छाड्नुपर्ने नीतिको कार्यान्वयन गरिएको छैन भने हात्तीसार क्षेत्रमा त २०६४ सालपछि पनि खोलामाथि संरचना बनाइएका छन् ।

सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने दायित्व र अधिकार स्थानीय स्वायत्त शासन ऐनले स्थानीय निकायलाई नै दिएको थियो । खोला सार्वजनिक सम्पत्ति भएको कारण काठमाडौं महानगर क्षेत्रका खोला उत्खनन् वा खोजी र संरक्षण गर्ने दायित्व पनि स्थानीय निकाय अर्थात् काठमाडौं महानगरपालिका कै हो । सार्वजनिक जग्गा ओगटेर व्यक्ति वा संस्थाले संरचना बनाउन पाउँदैन । खोला खुला क्षेत्र भएको कारण खुला क्षेत्रकै रुपमा छाड्नुपर्छ ।

यदि कसैले खोलामाथि संरचना बनाएको स्व–अनगुमनका क्रममा देखिएमा वा उजुरी आएमा तत्काल निर्माण रोक्का राख्ने, जाँचबुझ गर्ने र भत्काउने अधिकार र कर्तव्य दुवै काठमाडौं नगरपालिकामै निहित थियो र छ । तर पनि हात्तीसार क्षेत्रमा टुकुचा खोलामाथि संरचना बनाइएको छ, त्यो पनि सरकारको स्पष्ट नीति नै आएपछि ।

कतिपय ठाउँमा टुकुचा कहाँबाट बगिरहेको छ भन्ने देख्नै सकिँदैन । गैह्रीधाराबाट टुकुचा खोला नारायणहिटी दरबार परिसरभित्र छिरेको छ । र, राजदरबारभित्र पनि टुकुचा खोला खुला रुपमा छाडिएको छ । तर गैह्रीधारापछि एकैचोटी कमलादीमा मात्रै टुकुचा खोला पाउन सकिन्छ । हात्तीसारदेखि कमलादीसम्मको करिब ५ सय मिटर क्षेत्रमा टुकुचामाथि धेरैले महल ठड्याएका छन् ।

२०३३ सालमा भएको थियो हात्तीसार क्षेत्रको नापी

काठमाडौंको हात्तीसार क्षेत्रको नापी २०३३ सालमा भएको थियो । २०३३ सालमा गैह्रीधारा क्षेत्र, नारायणहिटी दरबार र हात्तीसारको नापी गर्ने प्रमुख नापी अधिकृत थिए, राजेन्द्रप्रसाद मराठा । मराठाले गैह्रीधारा क्षेत्रमा टुकुचा खोलाको नापी गरेका छन्, नारायणहिटी दरबारभित्र पनि टुकुचा खोला देखाएका छन्, तर हात्तीसार क्षेत्रमा टुकुचा गायब पारिदिए । मराठाले नै गरेको नापीमा टुकुचा कमलादीमा पनि देखिएको छ, तर हात्तीसार क्षेत्रमा चाहिँ किन

टुकुचा गायब पारे त तत्कालीन नापी अधिकृत मराठाले ?

यही विषयमा केही समय अगाडिको कुराकानीमा मराठाले भनेका थिए– २००१ सालको नापीमै हात्तीसारमा टुकुचा देखाइएको थिएन । नापी अधिकृतले कहीँ खोला देख्ने कहीँ नदेख्ने कसरी हुनसक्छ भन्ने हाम्रो प्रश्नमा मराठाले भनेका थिए, ‘टुकुचा खोला भूमिगत मार्ग भएर बगिरहेको छ । हामीले नाप्ने भनेको सतहमा देखिएको मात्रै हो, सतह मुनि खोलाको दिशा कता छ भनेर नाप्न सक्ने कुरा भएन ।’

यतिबेला काठमाडौं महानगरपालिकाको प्रमुखको रुपमा बालेन शाह आएपछि टुकुचा खोला उत्खननको सुरुवात गरेका छन् । बिहीबार जय नेपाल हलभित्रको कम्पाउन्ड खोतलेर उत्खननको सुरुवात गरेका बालेनलाई हात्तीसार क्षेत्रमा पूरै उत्खनन् गर्न भने कठिन छ । किनभने यी क्षेत्रमा टुकुचामाथि ठूला ठूला व्यापारिक संरचना बनाइएका छन् । यद्यपि खोला थुन्न वा छोप्न नपाउने कानुनको कार्यान्वयन गर्ने भन्दै बालेनले बिहीबारबाट उत्खनन् सुरु गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप