कसरी रोक्न सकिन्छ अफ्रिकन स्वाइन फिवर ?

गत चैत्र अन्तिम साता नेपालमा पहिलो पटक बंगुरको महामारी रोग अफ्रिकन स्वाइन फिवर देखा पर्यो । काठमाडौँको मनोहरा क्षेत्रमा पालिएका बंगुरहरु एक्कासी मर्न थालेपछि केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा नमूना परीक्षण गर्दा यो रोग पुष्टि भएको हो ।
अफ्रिकन मुलुक केन्या उद्गम स्थल भएको यो रोग सन् २०१८ अगस्टमा चीनमा पनि देखिएको थियो । त्यसयता एसियाका विभिन्न मुलुकहरु भियतनाम, लाओस, म्यानमार, भुटान हँुदै २०७७ बैशाखमा भारतमा देखा पर्यो । विगत ५ महिनादेखि अफ्रिकन स्वाइन फिवर नेपालका काभ्रे, कास्की, झापालगायत विभिन्न स्थानमा फैलिदा हजारौ बंगुर मरेर ठूलो धनराशिको क्षति भएको थियो ।
अफ्रिकन स्वाइन फिवर घरपालुवा सुंगुर, बंगुर र जंगली बँदेलमा भाइरसले लगाउने उच्च मृत्युदर भएको महामारी सरुवा रोग हो । एसफरभाईरिडी परिवारको भाईरसले लगाउने यो रोग जीवित तथा मरेको बंगुरको सिधा सम्पर्कबाट सर्दछ ।
कपडा, जुत्ता, बंगुरको दाना र फोहोर खानेकुरा, सवारी साधन तथा उपकरणहरुको प्रत्यक्ष सम्पर्क र अरनिथोडिरस प्रजातिको किर्नाको टोकाईबाट समेत यो रोग बंगुरमा सर्दछ । सिमाबिहीन रोग भएकाले एक देशबाट अर्को देशमा सहजै सर्ने यो रोग मानिसमा भने लाग्दैन ।
यो रोग लागेमा उच्च ज्वरो आउने, दानापानी खान छोड्ने, वान्ता गर्ने, छेर्ने, छ्टपटाउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, गर्भवती बंगुर तुहिने जस्ता लक्षण देखा परी सतप्रतिशतसम्म बंगुरको मृत्यू हुने गर्दछ ।
यो रोगविरुद्ध हालसम्म कुनै खोप उपलब्ध छैन । त्यसैले, अफ्रिकन स्वाइन फिवर रोगको प्रकोप भएका देशहरुबाट जीवित बंगुर, बंगुरको वीर्य, बंगुरको मासु वा अन्य बंगुरजन्य पदार्थहरु आयातमा रोक लगाउनु पर्दछ । सीमा नाकाहरुमा रहेका क्वारेनटाईन कार्यालयहरुलाई चुस्तदुरुस्त राख्नुपर्दछ ।
यो रोग फैलन नदिन यो रोग कहाँबाट कसरी फैलिरहेको छ भनेर जोखिम विश्लेषण र ईपिडिमियोलोजीकल अध्ययन गर्नुपर्छ । यो रोग नियन्त्रणमा बंगुरपालक किसानहरुको भूमिका महत्वपूर्ण हुन्छ । सकेसम्म यो रोग आफ्नो खोर वातावरणमा आउन नादिन बंगुर फर्ममा अधिकतम जैविक सुरक्षाको विधिहरु अबलम्बन गर्नुपर्दछ ।
समयमै रोगको निदान गर्न रोगको लक्षण देखिएका र शंका लागेका बंगुरहरुलाई बथानबाट छुट्टाएर राखी परीक्षणको लागि नजिकको पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा नमूना पठाउन पर्दछ । बंगुर पालिएको खोर वरपर नियमित सरसफाई गरी चुना, ब्लिचिङ पाउडर, फर्मालिन तथा बजारमा उपलब्ध निष्क्रमण रसायनको प्रयोग गर्नु पर्दछ ।
साथै, रोग फैलिन नदिन मरेको बंगुरलाई पशु चिकित्सकको सल्लाहमा उपयुक्त विधिद्वारा नष्ट गर्नुपर्दछ । जंगली बँदेल घरपालुवा बंगुरको सम्पर्कमा आएमा यो रोग सर्ने संभावना हुने भएकाले बंगुरको खोरलाई चारैतिरबाट तारबार गर्नुपर्दछ ।
नेपालको धेरै बंगुरपालक किसानहरुले अझै पनि होटल रेस्टुरेन्ट, बधशाला र मासु पसलबाट निस्कने फोहोर खानेकुराहरु खुवाएर बंगुरपालन गर्ने गरेका छन् । यस्ता फोहोर खानेकुराहरुमा अफ्रिकन स्वाइन फिवरको बिषाणु मिसिन सक्ने संभावना भएको हँुदा यस्ता सडेगलेका खानेकुराहरु बंगुरलाई खुवाउनु हँुदैन ।
अफ्रिकन स्वाइन फिवर कुनै फर्ममा देखा परेमा बर्डफ्लू जस्तै यथाशीघ्र फर्मलाई शिल गरी सम्पूर्ण बंगुर नस्ट गरी वातावरणलाई निसंक्रमण गर्न सके रोग फैलन सक्दैन ।
अन्तररास्ट्रिय चलनअनुरूप पशुपंक्षी रोग अन्बेषण प्रयोगशालामा परीक्षण गर्दा यो रोग प्रमाणित भएमा नमूना लिएको स्थानलाई केन्द्रबिन्दु मानी त्यस वरपरको एक किलोमिटरको परिधि भित्रको क्षेत्रलाई संभावित संकटग्रस्त क्षेत्र र दश किलोमिटरको परिधि भित्रको क्षेत्रलाई सघन निगरानी क्षेत्र घोषणा गरी रोग नियन्त्रणका क्रियाकलाप सञ्चालन गर्नुपर्दछ ।
नेपालको विभिन्न स्थानमा यो रोग फैलिरहेको र किसानहरुले ठूलो धनराशीको नोक्सानी ब्यहोरीरहेको परिपे्रक्ष्यमा पशु सेवा विभागको नेतृत्व र अन्य सम्बन्धित निकायहरुको सहकार्यमा यथाशिघ्र क्षतिपूर्ति सहितको अफ्रिकन स्वाइन फिवर रोग नियन्त्रण आदेश वा कार्यविधि निर्माण गरी लागू गर्नुपर्ने देखिन्छ ।
लेखक कृषि तथा पशुपंक्षी मन्त्रालयमा कार्यरत पशुचिकित्सक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली मन्त्रिपरिषद् बैठक : के–के भए निर्णय ?
-
पक्लिहवा कृषि क्याम्पसमा निर्वाचन अधिकृतको राजीनामा माग्दै तालाबन्दी
-
लोकतन्त्रमा पूर्वराजाले पनि आफ्नो पक्षमा जनमत निर्माण गर्न पाउँछन् : अध्यक्ष राई
-
न्यून भिजिविलिटीका कारण विमान आकाशमै ‘होल्ड’
-
महेन्द्र मोरङ क्याम्पसमा नेविसंघको गुण्डागर्दी : निर्वाचन प्रमुखलाई कोठामा थुनेर आगो लगाइयो, प्रहरीद्वारा उद्धार
-
राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति समाधान होइन: उपमहासचिव ज्ञवाली