कसरी रोक्न सकिन्छ अफ्रिकन स्वाइन फिवर ?

person explore access_timeभदौ ३१, २०७९ chat_bubble_outline0

गत चैत्र अन्तिम साता नेपालमा पहिलो पटक बंगुरको महामारी रोग अफ्रिकन स्वाइन फिवर  देखा पर्यो । काठमाडौँको मनोहरा क्षेत्रमा पालिएका बंगुरहरु एक्कासी मर्न  थालेपछि केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला,त्रिपुरेश्वरमा नमूना परीक्षण गर्दा यो रोग पुष्टि  भएको हो ।


अफ्रिकन मुलुक केन्या उद्गम स्थल भएको यो रोग सन् २०१८ अगस्टमा चीनमा पनि देखिएको थियो । त्यसयता एसियाका विभिन्न मुलुकहरु भियतनाम,लाओस,म्यानमार,भुटान हँुदै २०७७ बैशाखमा  भारतमा देखा पर्यो । विगत ५ महिनादेखि अफ्रिकन स्वाइन फिवर नेपालका काभ्रे,कास्कीझापालगायत विभिन्न स्थानमा फैलिदा हजारौ बंगुर मरेर ठूलो धनराशिको क्षति भएको थियो ।



अफ्रिकन स्वाइन फिवर घरपालुवा सुंगुर,बंगुर र जंगली बँदेलमा भाइरसले लगाउने उच्च मृत्युदर भएको महामारी सरुवा रोग हो । एसफरभाईरिडी परिवारको भाईरसले लगाउने यो रोग जीवित तथा मरेको बंगुरको सिधा सम्पर्कबाट सर्दछ ।



कपडा,जुत्ता,बंगुरको दाना र फोहोर खानेकुरा,सवारी साधन तथा उपकरणहरुको प्रत्यक्ष सम्पर्क र अरनिथोडिरस प्रजातिको किर्नाको टोकाईबाट समेत यो रोग  बंगुरमा सर्दछ । सिमाबिहीन रोग  भएकाले एक देशबाट अर्को देशमा सहजै सर्ने यो रोग मानिसमा भने लाग्दैन ।

यो रोग लागेमा उच्च ज्वरो आउने,दानापानी खान छोड्ने,वान्ता गर्ने,छेर्ने,छ्टपटाउने,कान,पुच्छर,पेटको तल्लो भागको बाहिरी छाला रातो हुने,शरीरमा निलो धब्बा देखिने,गर्भवती बंगुर तुहिने जस्ता लक्षण देखा परी सतप्रतिशतसम्म बंगुरको मृत्यू  हुने गर्दछ ।

यो रोगविरुद्ध हालसम्म कुनै खोप उपलब्ध छैन । त्यसैले,अफ्रिकन स्वाइन फिवर रोगको प्रकोप भएका देशहरुबाट जीवित बंगुर,बंगुरको वीर्य,बंगुरको मासु वा अन्य बंगुरजन्य पदार्थहरु आयातमा रोक लगाउनु पर्दछ । सीमा नाकाहरुमा रहेका क्वारेनटाईन कार्यालयहरुलाई चुस्तदुरुस्त राख्नुपर्दछ ।

यो रोग फैलन नदिन यो रोग कहाँबाट कसरी फैलिरहेको छ भनेर जोखिम विश्लेषण र ईपिडिमियोलोजीकल अध्ययन गर्नुपर्छ । यो रोग नियन्त्रणमा बंगुरपालक किसानहरुको भूमिका महत्वपूर्ण हुन्छ । सकेसम्म यो रोग आफ्नो खोर वातावरणमा आउन नादिन बंगुर फर्ममा  अधिकतम जैविक सुरक्षाको विधिहरु अबलम्बन गर्नुपर्दछ ।

समयमै रोगको निदान गर्न रोगको लक्षण देखिएका र शंका लागेका बंगुरहरुलाई बथानबाट छुट्टाएर राखी परीक्षणको लागि नजिकको पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा नमूना पठाउन पर्दछ । बंगुर पालिएको खोर वरपर नियमित सरसफाई गरी चुना,ब्लिचिङ पाउडर,फर्मालिन तथा बजारमा उपलब्ध निष्क्रमण रसायनको प्रयोग गर्नु पर्दछ ।

साथै,रोग फैलिन नदिन मरेको बंगुरलाई पशु चिकित्सकको सल्लाहमा उपयुक्त विधिद्वारा नष्ट गर्नुपर्दछ । जंगली बँदेल घरपालुवा बंगुरको सम्पर्कमा आएमा यो रोग सर्ने संभावना हुने भएकाले बंगुरको खोरलाई चारैतिरबाट तारबार गर्नुपर्दछ ।

नेपालको धेरै बंगुरपालक किसानहरुले अझै पनि  होटल रेस्टुरेन्ट,बधशाला र मासु पसलबाट निस्कने फोहोर खानेकुराहरु खुवाएर बंगुरपालन गर्ने गरेका छन् । यस्ता फोहोर खानेकुराहरुमा अफ्रिकन स्वाइन फिवरको बिषाणु मिसिन सक्ने संभावना भएको हँुदा यस्ता सडेगलेका खानेकुराहरु बंगुरलाई खुवाउनु हँुदैन । 

अफ्रिकन स्वाइन फिवर कुनै फर्ममा देखा परेमा बर्डफ्लू जस्तै यथाशीघ्र फर्मलाई शिल गरी सम्पूर्ण  बंगुर नस्ट गरी वातावरणलाई निसंक्रमण गर्न सके रोग फैलन सक्दैन ।

अन्तररास्ट्रिय चलनअनुरूप  पशुपंक्षी  रोग अन्बेषण प्रयोगशालामा परीक्षण गर्दा यो रोग प्रमाणित भएमा  नमूना लिएको स्थानलाई केन्द्रबिन्दु मानी त्यस वरपरको एक किलोमिटरको परिधि भित्रको क्षेत्रलाई संभावित संकटग्रस्त क्षेत्र र दश किलोमिटरको परिधि भित्रको क्षेत्रलाई सघन निगरानी क्षेत्र घोषणा गरी रोग नियन्त्रणका क्रियाकलाप सञ्चालन गर्नुपर्दछ ।

नेपालको विभिन्न स्थानमा यो रोग फैलिरहेको र किसानहरुले ठूलो धनराशीको नोक्सानी ब्यहोरीरहेको परिपे्रक्ष्यमा पशु सेवा विभागको नेतृत्व र अन्य सम्बन्धित  निकायहरुको सहकार्यमा यथाशिघ्र क्षतिपूर्ति सहितको  अफ्रिकन स्वाइन फिवर रोग नियन्त्रण आदेश वा कार्यविधि निर्माण गरी लागू गर्नुपर्ने देखिन्छ  ।

लेखक कृषि तथा पशुपंक्षी मन्त्रालयमा कार्यरत पशुचिकित्सक हुन् ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।