शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

गठबन्धनमा सिट बाँडफाँडको निर्णय छिटो हुनुपर्छ : जनमोर्चा

दुई क्षेत्रबाट चित्रबहादुर र दुर्गालाई उम्मेदवार बनाउने निर्णय
बिहीबार, ३० भदौ २०७९, १७ : ४४
बिहीबार, ३० भदौ २०७९

राष्ट्रिय जनमोर्चाले सत्ता गठबन्धनभित्र  सिट बाँडफाँडको निर्णय छिटो हुनुपर्नेमा जोड दिएको छ ।  पाँच दलका बीच सिटहरुबारे नै अन्योलको स्थिति हुँदा जनताका बीचमा जाने र चुनावको प्रचार प्रसार गर्ने काममा बाधा पुगिरहेको जनमोर्चाको भनाइ छ । 
जनमोर्चाका महासचिव मनोज भट्टले बिहीबार जारी गरेको विज्ञप्तिमा पाँचदलका बीचमा संघको सिटहरु बाहेक प्रदेशका सिटहरुबारे अहिलेसम्म छलफलले प्रवेश नै पाएको नपाएको उल्लेख गरिएको छ । सिट बाँडफाँटको निर्णय छिटै हुनुपर्दछ भन्ने कुरामा पार्टीको जोड रहेको उनको विज्ञप्तिमा उल्लेख छ । 

आगामी मंसिर ४ गते सम्पन्न हुने आम चुनावले देश प्रतिगमनको दिशामा जानेछ वा त्यसलाई रोक्न सकिने छ भन्ने निर्क्योल गर्ने भएकाले परिवर्तनलाई जोगाउन गठबन्धनले जित्न आवश्यक रहेको जनमोर्चाको जिकिर छ ।  त्यसैले पाँचदलीय चुनावी तालमेललाई सफलतापूर्वक अगाडि बढाउनु अहिलेको राष्ट्रिय आवश्यकता भएको विज्ञप्तिमा उल्लेख छ ।  

जनमोर्चाले पाँचदलका बीचमा  पहिले जसले जुन सिटहरु जितेको छ, त्यहाँ त्यसलाई नै दिने र एमालेले जितेका स्थानहरुमा आपसमा समझदारी गरेर सिटहरु बाँडेर चुनाव लड्ने सहमति भएको छ ।  त्यस अनुसार नै प्यूठानमा पहिले पार्टीले जितेको र बागलुङमा पहिले एमालेले जितेको क्षेत्र नम्बर १ मा आफूहरुको दाबी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यसका लागि राजमोले बागलुङको क्षेत्र नम्बर १ मा अध्यक्ष चित्रबहादुर केसी तथा प्यूठानमा  उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको भट्टले जानकारी दिए । 

पाँचदलको बैठकमा पार्टीको दुवै दावीलाई सामान्यतः स्वीकार  गरिएको उनको भनाइ छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप