शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

लगानी बोर्डको ‘सस्टेनेबल इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट फोरम’ सम्पन्न

बिहीबार, ३० भदौ २०७९, १७ : २५
बिहीबार, ३० भदौ २०७९

लगानी बोर्डको आयोजनामा भएको ‘सस्टेनेबल इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट फोरम’ सम्पन्न भएको छ । प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाले उद्घाटन गरेको फोरममा देशमा लगानीका विषयमा छलफल भएर सम्पन्न भएको हो ।

कार्यक्रममा लगानी बोर्डले तयार पारेको परियोजना बैंक निर्देशिका र रासायनिक मल कारखाना स्थापनाका लागि तयार पारिएको प्रतिवेदन सार्वजनिक गरिएको थियो । बोर्डले यही कार्यक्रममार्फत लगानीकर्तालाई एकल बिन्दुबाट सेवा दिने उद्देश्यले तयार पारिएको वेभमा आधारित एकल विन्दु सेवाको पनि सुरुवात गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले दिगो विकास लक्ष्य हासिल गर्न नेपाललाई ठूलो लगानी आवश्यक पर्ने बताए । उनले लगानीकर्ताको लगानी र सुरक्षाको व्यवस्था सरकारले गर्ने भएकाले लगानीका लागि आह्वान समेत गरे ।

यस्तै, कार्यक्रममा नेपालका लागि संयुक्त अधिराज्य बेलायतकी राजदूत निकोला पोलिट र विश्व बैंकका प्रबन्ध निर्देशक मारी पंगेस्टुले समेत सम्बोधन गरेका थिए । यस्तै, कार्यक्रमको समापन समारोहलाई नेपाल सरकारका मुख्य सचिव शंकरदास वैरागीले नेपाल लगानीको लागि उपयुक्त गन्तव्य भएको बताए । सोहीकारण, नेपालको पूर्वाधार संरचनामा लगानी गर्न विदेशी लगानीकर्तालाई आह्वान समेत गरे ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले लगानी बोर्डले परियोजना विकासलाई परिणाममुखी ढाँचामा अघि बढाएको बताउँदै लगानीको सम्पूर्ण चक्रमा लगानीकर्तालाई आवश्यक सहजीकरण गरिरहेको बताए । प्रमुख कार्यकारी अधिकृतले कार्यक्रममा उपस्थित विभिन्न विशिष्ट व्यक्तित्वहरुको गरिमामय उपस्थितिले कार्यक्रमको अपेक्षित लक्ष्य हासिल गर्न सहयोग गरेको उल्लेख गर्दै आयोजकका तर्फबाट सम्पूर्ण अतिथिहरूप्रति कृतज्ञता व्यक्त गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप