बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

मालपोतले घर भाडामा लिन सम्झौता गरे पनि कार्यालय नसार्दा घरधनी अन्योलमा

बिहीबार, ३० भदौ २०७९, १७ : ११
बिहीबार, ३० भदौ २०७९

रौतहटस्थित गरुडामा मालपोत कार्यालयले कार्यालय राख्नका लागि एक वर्ष अघि सम्झौता गरे पनि अहिलेसम्म कार्यालय पनि नराखेको र घरभाडा पनि नदिएको भन्दै घरधनीले गुनासो गरेका छन् । गरुडाकै लक्ष्मीपुर निवासी रुनुबाबुु पाण्डेका अनुसार गत वर्ष असार २९ गते उनले मालपोत कार्यालयका लागि आफ्नो घर भाडामा दिएका थिए ।

ईलाका प्रशासन कार्यालय गरुडाको छेउमा रहेको कित्ता नम्बर १३४९ र १३५० मा  रहेको दुईतले घर मालपोत कार्यालयका लागि मासिक ४१ हजार ६०० भाडा प्राप्त हुने गरी लिखित सम्झौता गरेको उनको भनाइ छ ।

घरधनीका तर्फबाट रुनुबाबुु पाण्डे, रामबाबुु पाण्डे र मालपोत कार्यालयका तर्फबाट तत्कालीन मालपोत कार्यालय गरुडाका प्रमुख प्रेमचन्द्र झाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सम्झौतापछि घरको सटर हटाएर झण्डै ५ लाख रुपैयाँ खर्च गरेर कार्यालय मैत्री बनाएको तर अहिलेसम्म घरभाडा बापत रकम पनि नदिइएको र कार्यालयसमेत सो घरमा नराखिएको पाण्डेको भनाइ छ ।

तत्कालीन कार्यालय प्रमुख मिश्राले असुरक्षाको कारण देखाउँदै कार्यालय सार्न पन्छिएको पाण्डेले बताए । त्यसपछि कार्यालय सार्न शान्तिसुरक्षा प्रदान गर्न सिडियो कृष्ण बहादुर शाहीलाई भन्दा उनले स्थानीय चुनावपछि सहयोग गर्ने आश्वासन दिएको तर अहिले आफूलाई अदालत जान सुझाएको उनको भनाइ छ ।

सम्झौताको म्यादसमेत समाप्त हुन लाग्दा समेत घरभाडा रकम पनि नपाएको र कार्यालयसमेत आफ्नो घरमा नसारिएपछि न्यायका लागि जिल्ला अदालत गौरमा मालपोत कार्यालय गरुडालाई विपक्षी बनाएर मुद्दा दिएको पाण्डेले जानकारी दिए । मालपोत कार्यालय गरुडाका प्रमुख मोहन कुमार पाठकले शान्तिसुरक्षा उपलब्ध भएमा कार्यालय सार्न तयार रहेको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप