बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

प्रदीप गिरिको ‘लिगेसी’ का लागि परिवारमै खिचातानी

बिहीबार, ३० भदौ २०७९, २२ : ३६
बिहीबार, ३० भदौ २०७९

 नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनपछि उनको परिवारमा राजनीतिक उत्तराधिकारीका लागि होडबाजी चलिरहेको छ । उनका परिवारका दुई जना सदस्य सरिता गिरी र शेखर गिरी राजनीतिक उत्तराधिकारको होडमा छन् । तर प्रदीप गिरीकी पत्नी र छोरा सन्तोष गिरीलाई भने राजनीतिक उत्तराधिकारको होडसँग कुनै मतलब छैन ।

बरु प्रदीप गिरी निकट व्यक्तिहरुले आगामी चुनावमा उनका पत्नी र छोरा सन्तोषलाई उम्मेदवारीका लागि आग्रह गरेका छन् । तर उनीहरु राजनीतिमा आउन इच्छुक नदेखिएको बताइएको छ । प्रदीपका छोरा सन्तोष भन्छन्, ‘हामी राजनीतिमा आउँदैनौं तर बुबाका सपना पूरा गराउनेतिर हामी लाग्छौं ।’

आफूहरुलाई राजनीतिमा कुनै रुची नभएको उनले बताए । बरु बुबाको विचारलाई स्थापित गर्ने, जनतालाई गरेको बाचाहरु पूरा गर्ने काम आफूहरुले गर्ने उनले बताए । प्रदीप गिरीको ‘लिगेसी’ मा सरिता गिरी र शेखर गिरी नेपाली राजनीतिमा स्थापित हुन खोजेको कतिपयको भनाइ छ । तर सन्तोष गिरीले सरिता गिरी र शेखर गिरीको बारेमा आफूले कुनै प्रतिकृया नदिने बताए । उनले भने, ‘उहाँहरु आफ्नो तरिकाले राजनीति गरिरहनु भएको छ, अब राजनीतिक उत्तराधिकारी को हुने या नहुने भनेर अहिले भन्नु उचित हुँदैन । यसबारे एक हप्तापछि मात्र केही प्रतिकृया दिन सकिएला ।’

सरिता गिरी प्रदीप गिरीकी भाइबुहारी हुन् भने शेखर गिरी प्रदीपका भाइ हुन् । सरिता गिरीले अगामी चुनावमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरिसकेकी छन् । उनले चुनावी अभियानसमेत सञ्चालन गरिसकेकी छन् । प्रदीप गिरीकै निर्वाचन क्षेत्र सिरहा क्षेत्र नम्बर १ मा सरिताले उम्मेदवारी दिने योजना बनाएकी छन् । प्रदीप गिरी अस्पतालमा उपचाररत रहेकै समयमा आफूलाई शुभकामना दिएर पठाएको सरिता गिरीको दाबी छ ।

कतिपयले उनको यो भनाइलाई उत्तराधिकारीमा दाबीका रुपमा लिएका छन् । यद्यपि सरिता गिरी भने आफूले उत्तराधिकारी र लिगेसीमा दाबी नगरेको बताउँछिन् । ‘म प्रदीप गिरीको उत्तराधिकारी होइन, न उहाँको लिगेसी लिएको छु, उहाँले देख्नु भएको सपना पूरा गर्छु,’ उनले भनिन् । लिगेसी वा उत्तराधिकारी बन्न चाहेको भए आफू कांग्रेसमै प्रवेश गरिसकेको हुने उनको भनाइ छ । तर आफू कुनै पार्टीमा प्रवेश नगरी स्वतन्त्र रुपमा उम्मेदवार बन्ने उनले बताइन् ।

यता, प्रदीप गिरीका भाइ शेखर गिरी पनि सिरहा क्षेत्र नम्बर १ बाट चुनाव लड्न दौडधुपमा लागेको स्रोतले जनाएको छ । उनको नाम क्षेत्रबाट समानुपातिकमा सिफारिस भएको थियो तर प्रदेशबाट उनको नाम सिफारिस भएन ।

हाल उनी प्रत्यक्षमा चुनाव लड्न उम्मेदवारीका लागि प्रयास गरिरहेका छन् । प्रदीप गिरीको निधनपछि आफू नै सो क्षेत्रमा चुनाव लड्ने भनि केन्द्रमा उनले पहल गरिरहेका छन् । तर पार्टीले उनलाई टिकट दिने पक्षमा देखिएको छैन । स्रोतका अनुसार कांग्रेसले सो क्षेत्रबाट पदमनारायण चौधरी वा चित्रलेखा यादवमध्ये एकजनालाई टिकट दिने भएको छ ।

तर शेखर गिरीले प्रदीप गिरीको ‘लिगेसी’ आफूसँग रहेको भन्दै टिकटको प्रयासमा लागेको स्रोतले दावी गरेको छ । शेखर गिरी पञ्चायतकालमा बस्तीपुर गाउँको प्रधानपञ्च भएका थिए ।

हुन त प्रदीप गिरीका भाइ प्रकाश गिरी र सुरेश गिरी (काकाको छोरा) पनि गाउँ पञ्चायतको चुनाव जितेका थिए । तर उनीहरु पनि हाल सक्रिय राजनीतिमा छैनन् ।

सुरेश गिरी प्रदीप गिरीले स्थापना गरेको आश्रममै बसिरहेका छन् । उनी कांग्रेसका क्षेत्रीय प्रतिनिधि हुन् । प्रकाश गिरी काठमाडौंमै बस्छन् ।

सिरहा–सप्तरी एउटै जिल्ला भएको बेला प्रदीप गिरीका बुबा मित्रलाल गिरी सो जिल्लाको कांग्रेस सभापति थिए । उनी लामो समय कांग्रेसमा रहेर राजनीति गरेका थिए । प्रदीप गिरीका काका रुद्रप्रसाद गिरी कांग्रेस पार्टीका संस्थापकमध्येका एक हुन् ।

प्रदीप गिरीका अर्का काका तुलसी गिरी पूर्वप्रधानमन्त्री थिए । राजावादी उनको निधन भइसकेको छ । 

 यसरी गिरी परिवारका पुराना पुस्ता राजनीतिमा सक्रिय भए पनि पछिल्लो समय प्रदीप गिरी र सरिता गिरीमात्र नेपालको लोकतान्त्रिक राजनीतिमा सक्रिय छन् । प्रदीप गिरीको निधनपछि अब राजनीतिक विरासतका लागि परिवारभित्रै खिचातनी भइरहेको छ । 

यसअघि समाचारमा तुलसी गिरिको सन्दर्भ अन्यथा भएकाले सच्याइएको छ-सम्पादक

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप