शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

सलमान खानको हत्या प्रयास पटक–पटक विफल, लरेन्स ग्याङका सदस्यले यसरी खोले पोल

बिहीबार, ३० भदौ २०७९, १६ : ०६
बिहीबार, ३० भदौ २०७९

बलिउड अभिनेता सलमान खानको हत्या प्रयास पटकपटक असफल भएको तथ्य प्रकाशमा आएको छ । पञ्जाब प्रहरीले सलमानको हत्या प्रयासमा संलग्न गिरोहका सदस्यलाई पक्राउ गरेपछि यो तथ्य प्रकाशमा आएको हो ।

प्रहरीका अनुसार सलमान खान विगत ४ वर्षदेखि लरेन्स विश्नोई ग्याङको निशानामा थिए । सो समूहले सलमानको हत्या गर्न पटकपटक प्रयास गरे पनि सबै प्रयास विफल भएको प्रहरीको भनाइ छ । विगत तीन महिनामा मात्र सलमानको हत्याका लागि दुई पटक सो समूहले प्रयास गरेको तर दुवै प्रयास विफल भएको बताइएको छ । गायक सिद्धु मुसेवालाको हत्या अघि नै सो समूहले सलमानको हत्या योजना बनाएको प्रहरीको दाबी छ । ‘प्लान ए’ विफल भएपछि हत्याका लागि सो समूहले ‘प्लान बी’ बनाएको र सो योजना पनि विफल भएको प्रहरीले जनाएको छ ।

सलमानलाई उनको फार्म हाउस जाने बाटोमै हत्या गर्ने योजना बनाएर उक्त समूहका एक सदस्यले रेकी गर्नुका साथै बाटोमै पर्ने एउटा घरमा केही साता बिताएको तथ्य पनि प्रहरीले प्रकाशमा ल्याएको छ । प्रहरीका अनुसार सलमानको हत्याका लागि लरेन्स ग्याङको सार्प सुटर कपिल पण्डितलाई जिम्मा दिइएको र उनले सलमानलाई फार्म हाउस जाने बाटोमै हत्या गर्ने योजना बनाएका थिए ।

मुम्बईको पनवेलमा कपिल पण्डित, सन्तोष जाधव, दीपक मुन्डी र अन्य सुटर्स एउटा भाडाको कोठमा बस्दै आएका थिए । सोही क्षेत्रमा सलमानको फार्म हाउस पर्छ । करिब डेढ महिनासम्म उनीहरु पेस्तोल बोकेर सलमानको हत्याका लागि उचित मौकाको पर्खाइमा बस्दासमेत उनीहरुले आफ्नो योजनामा असफलता व्यहोर्नु परेको बताइएको छ । सलमानको कार तीव्र गतिमा गुडेका कारण उनीहरुले हत्या गर्ने मौका नपाएको प्रहरीको भनाइ छ ।

पञ्जाब प्रहरीले तीन दिनअघि सार्प सुटर कपिललाई गिरफ्तार गरेपछि यो तथ्य प्रकाशमा आएको हो । प्रहरीले उनीसँग सोधपुछ गरेपछि हत्याको यो प्रयासबारे जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । सन् २०१८ मा पनि लरेन्सले सलमानको हत्याका लागि सुटर सम्पत नेहरालाई मुम्बई पठाएका थिए ।

सम्पतसँग पेस्तोल रहेको र उक्त पेस्तोलको रेञ्जबाट सलमान धेरै टाढा रहेका कारण हत्या प्रयास विफल भएको थियो । त्यसपछि चार लाख रुपैयाँमा एउटा राइफल खरिद गरी सम्पतलाई दिइएको तर केही दिनमै उनी पक्राउ परेपछि सलमान जोगिन सफल भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप