बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

बागवानी बालीका चुनौती र अवसरबारेमा कृषि वैज्ञानिक छलफलमा

बिहीबार, ३० भदौ २०७९, १४ : ५३
बिहीबार, ३० भदौ २०७९

दक्षिण/दक्षिणपूर्वी एशिया क्षेत्रमा तरकारी र फलफूलका विधागत चुनौती तथा सम्भावित अवसरका बारेमा कृषि वैज्ञानिक एवं अनुसन्धानकर्ताले छलफल गरेका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालय र फरवार्ड नेपालको संयुक्त आयोजनामा ललितपुरमा तीनदिन चलेको गोष्ठीमा बागवानी बाली विशेषतः तरकारी र फलफूलको अनुसन्धानका लागि प्राथमिकतामा राख्नुपर्ने क्षेत्र पहिचान गरिएको थियो । 

सहभागीले दक्षिण एसियाली मुलुकमा बागवानी क्षेत्रका प्रमुख अवसर औँल्याउँदै ती अवसरलाई मूर्त बनाउन र नेपालमा बागवानी क्षेत्रको विकास गर्न नेपाल सरकारका सबै क्षेत्र, अनुसन्धान लक्षित संस्था, विश्वविद्यालय एवं अन्य शैक्षिक संस्था र निजी क्षेत्रका उद्यमी व्यवसायीको छलफल तथा समन्वय आवश्यक रहेको सुझाव दिएका थिए । कार्यशालामा गण्डकी विश्वविद्यालयका उपकूलपति प्राडा नवराज देवकोटाले बागवानी क्षेत्रको विकासका लागि अनुसन्धान कोष जुटाउने अवसरका रुपमा कार्यक्रम सम्पन्न भएको बताएका थिए । कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकूलपति प्राडा पुण्यप्रसाद रेग्मीले कृषि अनुसन्धान र प्रसारका लागि अन्तर्राष्ट्रिय साझेदार संस्था एवं स्थानीय सहकारी संस्था, कृषक समूह र समन्वयकारी निजी संस्थासँग सहकार्य गर्न सधैँ तयार रहेको बताएका थिए । 

गोष्ठीमा बङ्गलादेश कृषि अनुसन्धान संस्थान, बङ्गलादेश कृषि विश्वविद्यालय, सार्क कृषि केन्द्रलगायत नेपाल एवं बंगलादेशका विभिन्न निजी क्षेत्रका प्रतिनिधिको सहकार्य रहेको थियो । कार्यशालामा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रतिनिधि, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का वैज्ञानिक, व्यवसायी किसान र कृषि व्यवसायीको सहभागिता थियो । कार्यक्रममा बागवानी क्षेत्रका दक्षिण/दक्षिणपूर्वी एसिया लक्षित अनुसन्धानका कुल १८ विभिन्न विषयगत कार्यपत्र प्रस्तुत गरिएको थियो । गोष्ठीमा सहभागीलाई समूह विभाजन गरी सामुहिक छलफलका माध्यमबाट विषयगत अवसर, चुनौती र सम्भावना सङ्कलन गरिएको थियो ।

कृषक प्रतिनिधि रीता बस्ताकोटीले यस कार्यशालामा आफूले सिक्ने मौका पाएको बताए । उनले कूल गार्हस्थ उत्पादनमा उल्लेख्य योगदान पु¥याउने अधिकांश कृषक साना किसान भएकाले साना र महिला कृषकलाई लक्षित गरी कार्यक्रम बनाउनुपर्ने सुझाव दिए ।  नेपाल बागवानी समाजका कोषाध्यक्ष सञ्जय धिमालले छलफलपछि तयार गरिने प्रतिवेदनको गुणस्तरमा विशेष ध्यान पु¥याउन सके नेपालमा बागवानी विकास कार्यक्रमको योजना तयार गर्नमा मद्दत हुने बताए । 

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव वासुदेव काफ्लेले यो पारियोजनामा मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । कृषि तथा वन विज्ञान विश्वविद्यालयका चार्टर्ड उपकुलपति प्राध्यापक डा कैलाशनाथ प्याकु¥यालले आफ्ना सिकाइ अनुभव आदानप्रदान गर्दै अनुसन्धानका परिणाममा आधारित प्रस्ताव विकास गर्न सुझाव दिए ।  गोष्ठीमा प्राडा दुर्गा देवकोटाले संयुक्त राज्य अमेरिका, बङ्गलादेश र नेपालका सहभागीलाई स्वागत गरेका थिए । हर्टिकल्चर इनोभेसन ल्याबकी निर्देशक प्राडा एलिजाबेथ मिचमले कार्यक्रमको उद्देश्य एवं विश्वव्यापी सम्भावनाबारे जानकारी गराएका थिए । 

प्राडा अर्जुनकुमार श्रेष्ठले दक्षिण÷दक्षिणपूर्वी एसियामा बागवानीको वर्तमान अवस्थाबारे प्रस्तुतीकरण दिएका थिए । बङ्गलादेश कृषि विश्वविद्यालयका प्राडा मोहम्मद रेजाउल करिम र बङ्गलादेश कृषि अनुसन्धान संस्थानकी डा फिरदौस इस्लामले बंगलादेशको बागवानीको अवस्थाका बारेमा जानकारी गराएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप