शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

मैले प्रचण्डलाई अंगालो हालेँ, उनले ग्वाम्मै छुरी रोपे : केपी ओली

बिहीबार, ३० भदौ २०७९, २२ : ३५
बिहीबार, ३० भदौ २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रसँग पार्टी एकता गरेर कम्युनिस्ट आन्दोलन एकीकृत गर्न खोजेपनि प्रचण्डले आफुलाई छुरी रोपेको आरोप लगाएका छन् ।  बिहीबार पार्टी कार्यालयमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रचण्डलाई आफूले सम्मानपूर्वक आफ्नै सिट छेउमा राखेपनि उनले ग्वाम्मै छुरी रोपेको टिप्पणी गरेका हुन् । 

‘प्रचण्डको एउटा भिडियो हेर्नुभयो होला नि १ मैले त केपी ओलीलाई सदस्यबाट पनि निकालेको थिएँ भन्ने’, ओलीले भने, ‘निकालेकै हो । मैले प्रचण्डलाई आउनुस् मित्र एकीकृत पार्टी बनाऔं, बलियो वामपन्थी कम्युनिस्ट पार्टी बनाऔं, समाजवादतर्फ एकतावद्ध भएर अगाडि बढौँ भनेर अध्यक्ष बनाएर मेरो सिटको छेउमा राखेको थिएँ ।’ 

ओलीले आफुले प्रचण्डको हात समाए पनि उनले लुकाउने गरेको स्मरण गरे । भने– ‘प्रचण्डलाई मैले मान सम्मानपूर्वक मेरो छेउमा राखेको थिएँ । एकतावद्ध भएर जाऔं भनेर मैले हात मिलाएको मात्रै होइन, अंगालो हालेको थिएँ । तर प्रचण्ड हात लुकाइलुकाइ हिँड्थे, म अलिअलि होसियार त थिएँ । नभन्दै मैले अँगालो मार्ने प्रचण्डले ग्वाम्मै छुरी रोपे ।’

उनले पार्टी सदस्यबाटै निकालेको भनेर उनले गर्व गरेको पनि बताए । ‘म एकता भन्ने प्रचण्ड मलाई साधारण सदस्यबाटै निकाल्ने कस्तो विषालु दाँत पालेर बसेको रहेछु ?’, ओलीले प्रश्न गर्दै भने– ‘कस्तोसँग एकता गरेको रहेछु ? मैले दिएको बरदान मेरै टाउकोमा राखेर भष्म पार्न खोज्ने ? त्यसरी हुन्छ आन्दोलन ?’

उनले गठबन्धनले देशलाई हरेक हिसावले अधोपतनतिर लगेको भन्दै यसबाट बचाउन एमालेबाहेक अरुले नसक्ने पनि बताए । उनले एमालेलाई हराउन सजिलो नभएकाले गठबन्धन गर्नुपरेको र अदालतसमेत जानुपरेको भन्दै अभिमन्युलाई चक्रव्यूहमा पारेजस्तै एमालेलाई पार्न खोजेपनि नसक्ने बताए । 

ओलीले गठबन्धनका केही नेताहरु आफुलाई महारथी ठान्ने गरेपनि उनीहरुको कुनै हुति नभएको बताए । ‘गठबन्धनका कसैको पनि हुति हविगत छैन, एक्लै एमालेका अघि आउन सक्दैनन् । सामुन्ने आएर हेर्ने आँट गर्दैनन्’, ओलीले भने, ‘हरेक दिन बसेका छन्, गठबन्धन, गठबन्धन, नेपाली जनतालाई सुन्नै मन नलाग्ने भइसक्यो गठबन्धन । विहानै गठबन्धन, बेलुकै गठबन्धन, नातावाद परिवारवाद, स्वार्थमा कुदेको गठबन्धन ।’

उनले एमाले प्रवेशको लहर चलिरहेको भन्दै आगामी निर्वाचनमा ५० लाख मत एमालेको पक्षमा आउनुपर्ने बताए । ‘अस्ति ३८ लाख मत एमालेको आयो, अब छोड्नुस् त्यो ३८ लाख केही होइन । अब ५० लाख पुर्याउनुपर्छ’, ओलीले नेता कार्यकर्तालाई निर्देशन दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप