आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

रानी एलिजाबेथ द्वितीय : जब तेन्जिङ र हिलारीको सगरमाथा आरोहण रानीका लागि राखियो गोप्य

बिहीबार, ३० भदौ २०७९, ०५ : ००
बिहीबार, ३० भदौ २०७९

सगरमाथा आरोहणका लागि सुनियोजित र व्यावसायिक अभियानको सुरुवात सन् १९२२ मा भएको थियो । अर्थात् आजभन्दा ठ्याक्कै एक सय वर्ष अगाडि । तर विश्वको यो सर्वोच्च शिखर आरोहणको पहिलो सफल अभियान पूरा हुन थप ३१ वर्ष लाग्यो ।

तर, सन् १९५३ मे २९ मा नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका नागरिक एडमन्ड हिलारीले सगरमाथा आरोहण बारे विश्वलाई जसरी थाहा भयो त्यो  कम रोमाञ्चक इतिहास होइन । सबैभन्दा अचम्मको कुरा के छ भने यति ठूलो खबरलाई पाँच दिनसम्म चरम गोप्य राखेर सारा विश्वबाट लुकाएर राखिएको थियो । लण्डनमा महारानी एलिजाबेथ द्वितीयको राज्याभिषेकको दिन बिहानै यसबारे घोषणा गरेर राख्ने योजनासहित यसलाई गोप्य राखिएको थियो ।

आजको युगमा सायद यो कुरा कल्पना पनि गर्न सकिँदैन । तर त्यतिबेला यो काम सहज थिएन । तत्कालीन द टाइम्सका संवाददाता जेम्स मोरिसले यसका लागि धेरै नै मेहेनत गर्नुपरेको थियो ।

२ जुन सन् १९५३ मा महारानीको राज्याभिषेक भएको थियो 

महारानीका लागि विशेष उपहार

मोरिस सगरमाथा आरोहणबारे समाचार लेख्ने ‘आधिकारिक संवाददाता’ थिए । ब्रिटिश सरकारको आर्थिक सहयोगका कारण यो पूर्णतया ब्रिटिश सगरमाथा आरोहण थियो । यस अभियानको उद्देश्यमध्ये एक थियो – रानीलाई उनको राज्याभिषेकको अवसरमा विशेष उपहार दिनु । र त्यो विशेष उपहार थियो – सगरमाथा विजयको खबर ।

जेम्स मोरिसले पछि यस अभियानबारे ‘कोरोनेसन एभरेस्ट’ नामक पुस्तक लेखे । उनले यो अद्भूत घटना बारे विस्तृत रूपमा उल्लेख गरे । ‘द टाइम्स’ म्यागजिनले पछि लेखेको थियो, ‘सांकेतिक शब्द वा कोड प्रयोग गरेर तयार पारिएको उक्त ‘स्कूप’ ले रानीको राज्याभिषेकको आनन्दलाई थुप्रै गुणा बढाइदिएको थियो ।’

तेन्जिङ नोर्गेका छोरा जमलिङ तेन्जिङ आफै पनि पर्वतारोही हुन् र उनले सगरमाथा आरोहण गरिसकेका छन् । उनले बीबीसी बांग्लालाई भने, ‘ पूरा घटनालाई निकै गोप्य राखिएको थियो । बेलायतले रानीको राज्याभिषेकअघि युनियन ज्याक सगरमाथामा फहराइदिने चाहना राखेको थियो । यो खबर राज्याभिषेकका दिन साम्राज्यको तर्फबाट रानीका लागि एक शानदार उपहार थियो पनि भन्न सकिन्छ ।’

यद्यपि उनका बुबाले सगरमाथामा बेलायतको राष्ट्रिय झण्डा मात्र नभई संयुक्त राष्ट्रसंघ, नेपाल र भारतको झण्डा फहराएर आएका थिए ।

एडमण्ड हिलारी (बायाँ) तेन्जिङ नोर्गे शेर्पा (दायाँ)

समाचार पठाउने होडबाजी

सगरमाथा आरोहणको खबर पठाउनका लागि जेम्स मोरिस मात्र नभई अन्य दुई वरिष्ठ पत्रकार पनि त्यसबेला नेपालको खुम्बु क्षेत्रमा घुमिरहेका थिए ।

पर्वतारोहण इतिहासकार मार्क होरेल भन्छन्, ‘जेम्स मोरिसलाई त्यो अभियान कभर गर्नको लागि सम्झौता प्रदान गरिएता पनि उनीबाहेक द डेली मेलका राल्फ इजार्ड र रोयटर्सका पिटर ज्याकसन पनि त्यतिबेला त्यहाँ नै शिविर बनाएर बसेका थिए ।’

‘उनीहरु पनि गाइड र भरिया राखेर अभियान अभियान कत्तिको अघि बढ्यो, कतै निराश भएर पो फर्किए कि भनेर जान्न दैनिक यता–उता घुमिरहेका थिए ।’

कुनै पनि अभियानको थोरै पनि सफलता वा असफलताको खबर सगरमाथा आधार शिविरबाट नै त्यतिबेलाका ‘धावक’ मार्फत् तलको नाम्चे बजामा पठाइन्थ्यो । नजिकै टेलिग्राफ अफिस थियो ।

प्रहरीको सेवामा रहेका तिवारी नामका एकजना व्यक्ति त्यही टेलिग्राफ अफिसमा सञ्चालकको रूपमा कार्यरत थिए । तर कुनै गोप्य खबर पठाएमा ती धावक वा तिवारीलाई सोधपुछ गर्दा खुलासा हुने खतरा थियो । यसबाहेक टेलिग्राफमार्फत् पठाइने सूचनालाई पनि कान लगाएर जोसुकैले पनि सुन्न सक्थ्यो ।

यसै कारण जेम्स मोरिसले निश्चित गरे कि उनी अभियानको खबर एक सांकेतिक वा गोपनिय कोडमार्फत् काठमाडौँमार्फत् लण्डन पठाउनेछन् । यो गोप्य कोडको जानकारी जेम्स मोरिसबाहेक काठमाडौँस्थित ‘द टाइम्स’ का अन्य पत्रकार आर्थर हचिंसनलाई मात्रै थियो । लण्डनमा समाचार पठाउने जिम्मेवारी हचिंसनलाई नै दिइएको थियो । तर, पछि मन नलाग्दा पनि तिवारीलाई यसबारे बताउनु परेको थियो ।

सगरमाथा आरोहणपछि लण्डन पुगेको पर्वतारोहीको समूह

‘एडभान्स्ड बेस एबन्डन्ड’

सांकेतिक शब्दका जुन सुची बनाइएको थियो त्यो एक पहेलीजस्तै थियो । त्यसमा निश्चित गरिएको थियो कि एडमन्ड हिलेरीको साटो ‘एडभान्स्ड बेस्ड एबन्डन्ड’ र तेन्जिङ नोर्गेको साटो ‘अवेटिङ इम्प्रेभमेन्ट’ भनिनेछ । सरसर्ती हेर्दा यस्तो लाग्थ्यो कि मौसम सुधारको प्रतीक्षा गरिँदैछ । यस्ता अनेक शब्द थिए ।

अर्कोतर्फ, लन्डनस्थित टाइम्सको सम्पादकीय टोलीलाई पनि सगरमाथा आरोहण गरेको अवस्थामा मात्रै यो कोड प्रयोग गरिने बताइएको थियो । बाँकी खबरलाई जेम्सले सामान्य शब्दमा नै पठाउने बताइएको थियो ।

हिलारी र तेन्जिङको सगरमाथा आरोहण सफल भएको भोलिपल्ट बेस क्याम्पमा बसेका जेम्स मोरिसले आफ्नो टाइपराइटरमा यस्तो सन्देश टाइप गरेका थिए ...

‘स्नो कन्डिसन्स ब्याड स्टप एडभान्स्ड बेस एबन्डन्ड यस्टरडे स्टप अवेटिङ इम्प्रेभमेन्ट अल वेल’

यो वाक्यलाई सरसर्ती पढ्दा यस्तो लाग्नु स्वाभाविक छ कि अभियान रद्द पारिएको छ । तर यसको वास्तविक अर्थ थियो .... अघिल्लो दिन (२९ मे) मा एडमन्ड हिलेरी र तेन्जिङ नोर्गेले सगरमाथाको चुचुरोमा जीत हासिल गरेका छन् । सबै राम्रो चलिरहेको छ ।’

‘स्नो कन्डिशन्स ब्याड’ को अर्थ थियो सगरमाथाको अभियान पूरा भइसकेको छ ।

यो सन्देश लिएर एक धावक नाम्चे बजारतिर दौडिए । त्यहाँ तिवारीले आफ्नो रेडियोबाट काठमाडौंमास्थित आर्थर हचिन्सनलाई सन्देश पठाए । यो जानकारी हचिन्सनमार्फत् सोही दिन दिउँसो लन्डनस्थित टाइम्सको कार्यालयमा पुर्याइयो ।

भोलिपल्ट रोयटर्सका पिटर ज्याक्सनले जेम्स मोरिसलाई अचानक नाम्चे बजारमा भेटे । त्यसपछि मोरिसले बेलायती अभियान असफल भएको जस्तो नाटक गरे । अर्को वर्ष सगरमाथा आरोहणको अनुमति फ्रान्सले किनेको थियो । उनीहरूलाई संकेत गर्दै मोरिसले भने, ‘तपाईंलाई थाहा छ कि फ्रान्सेलीहरूले यो गर्नेछन् ।’

पिटर ज्याक्सनको मनमा अलिकति शंका थियो तर उनले आफ्ना साथीलाई केही भनेनन् ।

यसरी गरियो घोषणा

जुन २ को बिहान, ‘द टाइम्स’ को शीर्षक थियो – एभरेष्ट कंकर्ड : हिलेरी एन्ड तेन्जिङ रिच द समिट । अर्थात् सगरमाथा विजय: हिलेरी र तेन्जिङ शिखरमा पुगे ।

त्यसको ठीक छेउमा त्यो दिन रानीको राज्याभिषेक हुने खबर पनि थियो । जसमा राज्याभिषेकका लागि तोकिएको रुटमा हजारौं मानिसले लण्डनका सडकमा कसरी रात बिताएका छन् भन्ने जानकारी दिइएको थियो ।

राज्याभिषेकका लागि निर्धारित मार्गमा हज्जारौँ मानिसले लण्डनको सडकमा रात बिताएका थिए

जेम्स मोरिस त्यो दिन नाम्चे बजारबाट करिब ६ माइल तल ओर्लिएका थिए । दुधकोशी नदीको किनारामा आफ्नो पालमा रेडियोमा बीबीसी लगाउँदै उनले सुने कि अन्ततः सगरमाथामा मानिसले पाइला टेके र राज्याभिषेकको ठिक अघि रानी एलिजाबेथलाई यो सुखद समाचार दिइएको छ ।

त्यस दिन संवाददाताले पनि सगरमाथा विजयको खबर पहिलो पटक द टाइम्सबाट प्राप्त भएको बताएका थिए । यो खबर सुनेपछि जेम्सको अनुहार र आँखामा सन्तुष्टिको आनन्द फैलियो । उनले यो कुरा पछि ‘कोरोनेसन एभरेस्ट’ नामक पुस्तकमा लेखेका थिए ।

यो समाचारले रानीको राज्याभिषेकको ऐतिहासिक क्षणलाई नयाँ उचाइ दिएको बेलायती सञ्चारमाध्यममा पनि सामान्य धारणा छ । यो खबर चार–पाँच दिन लुकाएर राख्दा सार्थक भएको उनको भनाइ थियो ।

के रानी एलिजाबेथ द्वितीय आफैँ यो खबरसँग खुसी थिइनन् ?

पत्रकार जेम्स मोरिस पछि आफ्नो लिङ्ग परिवर्तन गरेर जेन मोरिस बनेका थिए

आज कहाँ छन् यो उत्कृष्ट कथाका पात्रहरू ?

सास नै रोकिदिने यो कहानीका लभगभ सबै पात्र अब यो दुनियाँमा छैनन् । पत्रकार जेम्स मोरिस एक समलिङ्गी थिए । उनले पछि आफ्नो लिंग परिवर्तन गरी महिला बनिन् र जेन मोरिस नाम राखिन् । उनी ट्राभल लेखकका रूपमा पनि निकै चर्चित थिए । उनको नोभेम्बर २०२० मा ९४ वर्षको उमेरमा वेल्समा निधन भयो ।

एडमन्ड हिलारीलाई सन् १९५३ मा सगरमाथा विजयको वर्षमा नाइटहुडद्वारा सम्मानित गरिएको थियो । उनको ८८ वर्षको उमेरमा न्युजिल्याण्डको अकल्याण्डमा निधन भएको हो ।

उनका आजीवन साथी तेन्जिङ नोर्गे पछि भारतको दार्जिलिङमा बस्न थाले । उनको ७२ वर्षको उमेरमा ९ मे १९६८ मा निधन भयो ।

तेन्जिङका छोरा जमलिङ तेन्जिङ आफैँ पनि एक दक्ष पर्वतारोही हुन् र सगरमाथा आरोहण गरेका छन् ।

तेन्जिङ नोर्गेका छोरा र महारानीको भेट

जामलिङले विश्व सगरमाथा दिवसको अवसरमा मे २९, २०१३ मा एलिजाबेथ द्वितीयलाई भेटेका थिए ।

बेलायतको रोयल जियोग्राफिकल सोसाइटीले सगरमाथा आरोहणको ६०औँ वर्षगाँठको उपलक्ष्यमा त्यस वर्ष मे २९ मा लण्डनमा भव्य समारोहको आयोजना गरेको थियो । जसमा विश्वभरका चर्चित पर्वतारोहीहरुको सहभागिता थियो ।

एलिजाबेथ द्वितीय समारोहको प्रमुख अतिथि थिइन् । उक्त समारोहमा तेन्जिङ नोर्गेका छोरालाई पनि आमन्त्रण गरिएको थियो ।

एलिजाबेथको सन्दर्भमा जामलिंग नोर्गेले बीबीसी बंगलालाई बताए ‘ उहाँ निकै विनम्र र मर्यादित महिला थिइन् । निजी कुराकानीको क्रममा उहाँले मेरो बुबाबारे कुरा गर्नुभयो र राज्याभिषेकको दिनका स्मृति साझा गर्नुभयो ।’

र जसको राज्याभिषेकको पललाई अझ अविस्मरणीय र रमाइलो बनाउन यत्तिका कुरा गरियो, तिनै रानीले पनि सेप्टेम्बर ८ मा स्कटल्याण्डको बालमोरल प्यालेसमा ९६ वर्षको उमेरमा यस संसारबाट सदाका लागि बिदा भइन् ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप