शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

उपत्यकामा मधेसवादी दलले कहाँ–कहाँ दिँदैछन् उम्मेदवारी ?

कसको शक्ति कति ?
बिहीबार, ३० भदौ २०७९, १२ : ३८
बिहीबार, ३० भदौ २०७९

मधेसलाई आधार थलो बनाएका केही दलले काठमाडौँ उपत्यकामा पनि चुनाव लड्ने तयारी गरिरहेका छन् । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी नेपाल र सीके राउत नेतृत्वको जनमत पार्टीले काठमाडौँ उपत्यकाभित्र पनि उम्मेदवारी दिने तयारी गरिरहेका छन् ।

जसपाले गठबन्धनमा काठमाडौँ क्षेत्र नम्बर ७ माथि दाबी गरेको छ । सो क्षेत्रबाट जसपाका कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठलाई उम्मेदवार बनाउने तयारी जसपाको छ ।

जसपा बागमती प्रदेशका इन्चार्ज कृष्णबहादुर घजुका अनुसार जसपाले काठमाडौँ क्षेत्र नम्बर ७ मा दाबी गर्ने टुङ्गो लागेको छ । अन्य क्षेत्रमा के गर्ने भन्ने विषयमा क्षेत्रमै छलफल चलिरहेको उनले बताए । उनले भक्तपुर र ललितपुरमा समेत उम्मेदवारी दिने तयारी रहेको बताए ।

उपत्यकामा जसपाको शक्ति

वैशाखमा सम्पन्न स्थानीय चुनावमा जसपाले उपत्यकाभित्र कुनै पदमा जित्न सकेको छैन । विभिन्न पालिकाको प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडाअध्यक्ष, सदस्य, महिला सदस्य, दलित सदस्यलगायतका पदमा जसपाले उम्मेदवारी दिएको थियो ।

उपत्यकाका तीनवटै जिल्लामा गरी स्थानीय तहको चुनावमा जसपाले सात हजार ८४७ मतमात्र ल्याएको छ । जसपाले काठमाडौंमा पाँच हजार ४०२, ललितपुरमा एक हजार ७९६ र भक्तपुरमा ६४९ मत पाएको छ ।   

२०७४ को प्रतिनिधिसभा चुनावमा जसपा (तत्कालीन संघीय समाजवादी फोरम नेपाल) ले काठमाडौंको १० वटा निर्वाचन क्षेत्रमध्ये ९ वटामा उम्मेदवारी दिएकोमा कुनै पनि क्षेत्रमा जित हासिल गर्न सकेको थिएन । नौ वटा निर्वाचन क्षेत्रमा गरी जसपाले जम्मा तीन हजार २९७ मतमात्र पाएको थियो ।

अहिले जसपाले गठबन्धनबाट दाबी गरेको काठमाडौँ क्षेत्र नम्बर ७ मा त्यतिबेला ज्ञानेन्द्र मोहन श्रेष्ठलाई उम्मेदवार बनाइएको थियो । उनले एक हजार ७८१ मतमा चित्त बुझाएका थिए । अहिले जसपाले गठबन्धनबाट सो क्षेत्रमा चुनाव जित्ने आकलन गरी आफ्नो लागि सिट दाबी गरिरहेको छ ।

अघिल्लो संसदीय निर्वाचनमा जसपा (तत्कालीन संघीय समाजवादी फोरम)ले भक्तपुरमा उम्मेदवारी दिएको थिएन भने ललितपुरको तीनवटै क्षेत्रमा उम्मेदवारी दिँदा जम्मा एक हजार ७०९ मत प्राप्त गरेको थियो ।

काठमाडौंको हरेक क्षेत्रमा लोसपाको उम्मेदवारी

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले काठमाडौंको १० वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने तयारी गरिरहेको छ । लोसपा पार्टी कार्यालयका प्रमुख सचिव प्रदीप पाठकका अनुसार काठमाडौंका सबै निर्वाचन क्षेत्रबाट नाम सिफारिस भएर आएका छन् । एकभन्दा बढी नाम आएकाले त्यसको बारेमा पार्टीभित्र छलफल भइरहेको उनले बताए ।

भक्तपुरको निर्वाचन क्षेत्र नम्बर २ र ललितपुरको निर्वाचन क्षेत्र नम्बर २ बाट पनि लोसपाले उम्मेदवारी दिने तयारी गरिरहेको उनले बताए । उनले यी दुवै क्षेत्रबाट सिफारिस नामका बारेमा पनि छलफल भइरहेको उनको भनाइ छ ।

विभिन्न दलसँग लोसपाले गठबन्धनको विषयमा पनि छलफल गरिरहेको छ । कुनै दलसँग गठबन्धन हुने अवस्थामा क्षेत्रको बाँडफाँट हुन सक्ने तर तत्कालका लागि लोसपाले काठमाडौंका सबै क्षेत्रमा उम्मेदवारी दिने तयारी गरिरहेको उनले प्रस्ट पारे ।

उपत्यकामा लोसपाको शक्ति

लोसपाले गत वैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा काठमाडौँ उपत्यकाबाट जम्मा २०४ मतमात्र ल्याएको थियो । त्यसमध्ये ललितपुरमा शून्य मत थियो भने भक्तपुरबाट ५२ मत र काठमाडौंको विभिन्न स्थानीय तहबाट १५२ मत प्राप्त गरेको थियो ।

लोसपा अर्थात तत्कालीन राजपाले २०७४ को प्रतिनिधिसभा चुनावमा काठमाडौंका ६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको थियो । ती ६ वटै निर्वाचन क्षेत्रमा गरी राजपाले जम्मा ६५४ मतमात्र पाएको थियो । उक्त निर्वाचनमा भक्तपुरमा राजपाले उम्मेदवारी नै दिएको थिएन । यसपटक भक्तपुरको क्षेत्र नम्बर २ मा उम्मेदवारी दिने लोसपाको तयारी छ ।

२०७४ को संसदीय निर्वाचनमा ललितपुरको दुई वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको तत्कालीन राजपाले जम्मा ३३६ मतमात्र पाएको थियो । यस पटक त्यहाँको दुई नम्बर निर्वाचन क्षेत्रमा मात्र उम्मेदवारी दिने तयारी रहेको लोसपाका एक नेताले जनाए ।

उम्मेदवार खोज्दै जनमत पार्टी

सीके राउत नेतृत्वको जनमत पार्टीले काठमाडौँ उपत्यकाको सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने तयारी गरिरहेको छ । जसपाका महासचिव चन्दन सिंहका अनुसार जसपाबाट उम्मेदवारको खोजी भइरहेको छ । काठमाडौँ, भक्तपुर र ललितपुर गरी तीनवटै जिल्लाका स्थानीय व्यक्तिलाई नै उम्मेदवार बनाउने पहल भइरहेको जनमत पार्टीको भनाइ छ ।

हालसम्म काठमाडौंको निर्वाचन क्षेत्र नम्बर १, ९ र ३, ललितपुरको निर्वाचन क्षेत्र नम्बर ३ बाट नाम सिफारिस भएको सो पार्टीका एक नेताले बताए । तर ती क्षेत्रमा कसलाई उम्मेदवार बनाउने भन्नेबारे छलफल भइरहेको उनको भनाइ छ । अन्य क्षेत्रका लागि भने उम्मेदवारको खोजी भइरहेको जनाइएको छ ।

उपत्यकामा जनमतको शक्ति

जनमत पार्टीले २०७४ को प्रतिनिधिसभा निर्वाचनमा भाग लिएको थिएन । जनमत पार्टीले स्थानीय तहको चुनावमा भाग लिएको थियो । गत वैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा उपत्यकाको काठमाडौँ र भक्तपुरमा जनमत पार्टीले उम्मेदवारी नै दिएको थिएन । ललितपुर महानगरपालिको प्रमुखमा वासुदेव अमात्य र उपप्रमुखमा कुसुम बज्रचार्यलाई जनमत पार्टीले उम्मेदवार बनाएको थियो । महानगरपालिका प्रमुख पदका उम्मेदवार बासुदेवले १५ र उपप्रमुखमा कुसुमले ३८ मत ल्याएका थिए ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप