पोषणको महत्त्व (भाग–४)

पोषणयुक्त खाना औषधि उपचारभन्दा बढी प्रभावकारी हुन्छ

person explore access_timeभदौ ३०, २०७९ chat_bubble_outline0

संसारमा हृदयाघात र स्ट्रोकबाट ज्यान गुमाउने तथा पीडित हुने क्रम जारी छ । ९० प्रतिशतभन्दा बढीलाई हुने यस्ता मुटु तथा रक्तसञ्चारसम्बन्धी (कार्डियोभास्कुलर) रोग गलत जीवनशैलीको उपज हो । 


पोषणयुक्त खाना धेरै रोगका लागि मेडिकल औषधिको उपचारभन्दा बढी प्रभावकारी छ । वास्ताविकता के हो भने धेरै मानिस सागसब्जी तथा तरकारी चाहिनेभन्दा कम खान्छन्, प्रशोधित र जनावरबाट पाइने खाना मासु, दूध र परिकार, मदिरा चाहिनेभन्दा बढी खान्छन् । 





हृदयाघात के हो ?

कोरोनरी आर्टरीहरूको काम रगत र अक्सिजन मुटुको मांसपेशीलाई आपूर्ति गर्नु हो । कोरोनरी मुटुरोग तब हुन्छ जब कोरोनरी आर्टरीहरूका भित्ताहरूमा विस्तारै विस्तारै चिल्लो जम्मा भई साँघुरो बनाइन्छ । एक समय आर्टरी यति साँघुरो बन्छ कि यसले चाहिएको बेलामा मुटुको मांसपेसीमा अक्सिजनयुक्त रगत पठाउन सक्दैन । यस्तो अवस्थामा मुटुमा पीडा हुन्छ । यही दुखाइ या असजिलो हुनुलाई एन्जाइना भनिन्छ । यो अवस्थालाई आर्थलोसोर्लोसिस भनिन्छ र चिल्लो जम्मा भएकोलाई आर्थाेरोमा भनिन्छ ।

आर्थोरोमा जब अस्थिर हुन्छ अनि यो टुट्न सक्छ र रगत जम्ने (ब्लड क्लट) हुनसक्ने बनाउन सक्छ । यदि ब्लड क्लटले कोटोनरी आर्टरी बन्द गर्छ भने मुटुको मांसपेशी अक्सिजन र रगत नपाएर त्यसै  रहन्छ र सधैँका लागि नोक्सान हुन सक्छ । यसलाई हृदयाघात भनिन्छ । हृदयाघातको अवधिमा जीवन नै जोखिम हुने मुटुका रिदमहरूको विकास हुन सक्छ । त्यसैकारणले हृदयाघातलाई मेडिकल इमर्जेन्सीका रूपमा उपचार गरिन्छ ।

हृदयाघातको लक्षणहरू 

हृदयाघातको लक्षण छातीको बीच भागमा एकदम दुख्ने र छातीमा साधारण असुविधा हुन्छ, जसले बिरामी जस्तो अनुभव गर्दछ । दुखाइ एकदम गह्रुँगो र कसिएको हुन्छ । यो दुखाइ पाखुरा, घाँटी, गर्धन, पछाडि या भुँडीमा पनि सर्न सक्छ । घाँटी, बङ्गारा, पाखुरा या भँुडीमा मात्रै असर गर्न सक्छ । 

हृदयाघात भइरहेको मान्छेलाई पसिना आउने, टाउको गह्रुँगो हुने, वान्ता आउने या श्वास फेर्न गाह्रो हुने पनि हुन्छ । केही मान्छेहरू हृदयाघात हुँदा खाना अपच जस्तो ठानेर झुक्किन्छन् ।

 कहिलेकाहीँ हृदयाघात ‘शान्त’  हुन्छ र यसले कम असुविधा महसुस हुन्छ । जस्तै कोही मान्छेहरूलाई छाती दुख्न यति कम हुन्छ कि डाक्टरकहाँ जाँदैनन् । अरू मेडिकल टेस्ट गर्दामा धेरै समयपछि थाह हुन सक्छ अथवा नियमित स्वास्थ्य परीक्षण गर्दा मात्र हृदयाघात भएको पत्ता लाग्दछ ।

कसैलाई हृदयाघात भइरहेको छ भने तुरुन्त एम्बुलेन्स बोलाउनु  या अस्पताल पुग्नुपर्छ । धेरै मान्छे एम्बुलेन्स बोलाउन कुर्दा या अस्पताल जान ढिलो गरेर जीवनलाई जोखिममा राख्छन् । यसर्थ सकेसम्म चाँडै अस्पताल पुग्नुपर्दछ अनि मात्र जीवन बचाउन सकिन्छ ।

कार्डियोभास्कुलर रोग लाग्नुको कारण 

अमेरिकी वैज्ञानिकहरू रोबर्ट फुर्चगोट, लुइस इग्नारो र फेरिद मुरिडले नाइट्रिक अक्साइडले कार्डियोभास्कुलर प्रणालीमा सूचना दिने मोलुक्युल पत्ता लगाएपछि सन् १९९८ मा नोबल पुरस्कार पाएका थिए । यसले कार्डियोभास्कुलर रोगको बुझाइमा आमूल परिवर्तन गरायो ।  

रक्तवाहिनी (ब्लड भेसल) को जीवन रक्षक रहेको एन्डिओथिलियमलाई बारम्बार नोक्सान भएपछि रक्तनलीमा बोसो जम्ने प्रक्रिया सुरु हुन्छ । रक्तबाहिनी भित्रपट्टि रहेको कमलो एन्डिओथिलियमले उल्लेखनीय मलेक्युल ग्यास नाइट्रिक अक्साइडको उत्पादन गर्छ । नाइट्रिक अक्साइडले हाम्रो रक्तवाहिनीको रक्षा र उद्धार गर्छ । यसले रक्तनली सफा गरी रगत प्रवाह सही तबरले गराउँछ । रगत टाँसिन कम गर्नुको साथै रक्त नलीलाई फराकिलो बनाउँछ । जब उकालो या भर्याङ चढेको बेलामा खुट्टामा भएको आर्टरी फराकिलो हुनपुग्छ । यो नाइट्रिक अक्साइडको कारणले हुन्छ । नाइट्रिक अक्साइडले रक्तवाहिनीको भित्ता बाक्लो, कडा, फुलिने समस्या हुनबाट रक्षा गर्छ । यसले उच्च रक्तचाप या हाइपरटेन्सन हुनबाट रोक्छ । अर्काे महत्त्वपूर्ण काम सुरक्षित तथा ठीक मात्राको नाइट्रिक अक्साइडले आर्टरी ब्लक हुन र बोसो टासिने क्रमबाट जोगाउँछ । संसारमा  जुन व्यक्तिलाई कार्डियोभास्कुलर रोग लागेको हुन्छ त्यसको मुख्य कारण निजले आफ्नो एन्डिओथिलियम कोषहरूको नाइट्रिक अक्साइड बनाउने क्षमतालाई घाइते बनाएको हुन्छ । यसको कारणले आर्टरीमा ब्लकेज हुने तथा बोसो जम्मा हुने  कार्यलाई रोक्न सक्दैन । 

त्यसैले कोरोनरी मुटुरोग भनेको जीवन शैली तथा पोषणसँग सम्बन्धित रोग हो । त्यसैले सही पोषण अवलम्बन नगरी एन्डिओथिलियमलाई नोक्सान गरी पर्याप्त मात्रामा नाइट्रिक अक्साइड उत्पादन नभएर नै कार्डियोभास्कुलर रोग लाग्छ । अनुसन्धानले के प्रमाणित गरेको छ भने सही जीवनयापन गर्ने हो भने नाइट्रिक अक्साइडको समस्यालाई समाधान गर्न सकिन्छ । त्यसैले खाना खाँदा कहिल्यै पनि एन्डिओथिलियमलाई असर पर्ने खाना खान नहुने कुराको ज्ञान हुन जरुरी छ । कार्डियोभास्कुलर रोग लाग्नुको कारण वंशाणु, चिन्ता या अरू कारण नभई  व्यक्ति स्वयंले अवलम्बन गरेको जीवनशैलीको कारणले हो भन्ने कुरा बुझेपछि मात्र यस्तो रोगबाट पार पाउन सकिन्छ । 

नाइट्रिक अक्साइड शरीरका प्रायः सबै कोषहरूले बनाउँछन् । यो रक्त बाहिनीको स्वास्थ्यका लागि सबैभन्दा महत्त्वपूर्ण कार्यमध्ये एक हो । यसलाई भासिडिलेटर पनि भनिन्छ, जसको अर्थ रक्त बाहिनी (ब्लड भेसल) भित्रको मांसपेशीलाई आराम बनाउनुको साथै रक्तवाहिनीलाई फराकिलो बनाउँछ । यस तरिकाले नाइट्रिक अक्साइडले रगत सञ्चार बढाउनुको साथै रक्तचापलाई कम पार्छ । समग्र स्वास्थ्यका लागि नाइट्रिक अक्साइडको उत्पादन हुनु अति जरुरी हुन्छ किनभने यसले रगत, पोषण तथा अक्सिजन शरीरको हरेक भागमा प्रभावकारी एवम् निपुणता साथ पुर्याउँछ । नाइट्रिक अक्साइड कम उत्पादन हुँदा मुटुरोग, मधुमेह, नपुंसकता हुने सम्भावना हुन्छ । 

कस्तो खानाले एन्डिओथिलियमलाई हानि गर्छ ?

कुनै किसिमको तेल, (चाहे त्यो तरकारी, पाउरोटीमा या तयारी खानामा), माछा, मासु, दूध तथा दूधजन्य खाना (दही, चीज, आइसक्रिम), चिनी तथा प्रशोधित खाना, सफ्ट ड्रिङ्क्स, क्याफिन आदिले एन्डिओथिलियमलाई नोक्सान पार्छ । जनावर तथा माछाबाट पाइने खानामा लेक्टिन र क्याराटिन भन्ने मोलिक्युल पाइन्छ । जब दूध, माछा, मासु खाइन्छ, पाचन प्रक्रियामा हुने माइक्रोबायम ब्याक्टेरियामार्फत लेक्टिन र क्याराटिनले ट्राइमेथोलेमाइन (टीएमएओ) बनाउँछ । यो चाँडै अक्सिडाइज भई कलेजोद्वारा ट्राइमेथोलेमाइन अक्साइड गराउँछ । यसले रक्तकोषिकालाई घाइते बनाउँछ । जसले गर्दा रक्तकोषिकाको रोग (भास्कुलर) लाग्छ ।  अक्टोबर १९१५ मा विश्व स्वास्थ सङ्गठनले रातो मासु तथा प्रोसेस मासुको सेवन क्यान्सरको जोखिम धूमपान जतिको  रहेको बताएको थियो ।   

कस्तो खाना खाने ?

नाइट्रिक अक्साइड उत्पादन बढाउन हाई नाइट्राइट खानाहरू जस्तै साग, चुकन्दर, सेलरी, बन्दा जस्ता सागसब्जी खाने, एन्टिअक्सिडेन्ट बढाउने खाना जस्तै ब्रोकाउली, कुरिलो, ब्लुबेरी, फर्सी आदि पर्छ । यसको साथै शारीरिक व्यायामलाई निरन्तर चालू राख्नुपर्छ ।  मुख्य खाने भनेको होलग्रेन अन्न, १०१ किसिमको गेडागुडी, सागसब्जी, हरियो तरकारी, सखरखण्ड, केही फलफूल जस्ता उदारहण हो । रक्तनलीमा जम्मा भएको बोसोमा अक्सिडेटिभ इन्फलामेसन हुन्छ । त्यसैले यसलाई कम गर्नका लागि एन्टिअक्सिडेन्टको जरूरी पर्छ । यस्तो एन्टिअक्सिडेन्टको ट्याब्लेटमा खाएर कुनै लाभ हुँदैन । एन्टिअक्सिडेन्ट खानाबाट आउनुपर्छ । ओरेक भ्यालु भनिने अक्सिसन र्याडिकल एब्जोर्सन क्यापासिटी (ओआरएसी) हुने खानामा एन्टिअक्सिडेन्ट प्राप्त हुन्छ ।  यसको प्रमुख स्रोत भनेको सलाद, सागसब्जी तथा हरियो तरकारी, बेरीहरू जस्तै ऐँसेलु, स्ट्राबेरी, ब्लुबेरी, जामुनो आदि हुन् । यसरी खाँदा हर पल्ट अक्सिडेटिभ इन्फलामेसनविरुद्ध प्रकृतिले दिएको सबैभन्दा शक्तिशाली एन्टिअक्सिडेन्टले काम गर्छ । 

सन् १९७२ सम्म  फिनल्यान्डको उत्तरी भेगको करेलिया भन्ने ठाउँ संसारकै बढी हृदयाघात हुने राजधानीका रूपमा परिचित थियो । त्यहाँ पेक्का पुस्का भन्ने डाक्टर राजनीतिमा आएपछि धूमपानविरुद्ध ठूलो आवाज उठाए । त्यति मात्र होइन दूध तथा मासु उत्पादन गर्ने कृषकहरूसँग समन्वय गरी दूध, मासु तथा प्रशोधित खानाको खपत निकै कम गर्न सफल भए । तीस वर्षको समयमा यस ठाउँमा हृदयाघात हुनेको सङ्ख्या ८५ प्रतिशतले कम भएको थियो । समग्र फिनल्यान्डले यही नीतिलाई आत्मसात गरेपछि पूरा फिनल्यान्डमा ८० प्रतिशत हृदयाघात तथा ६७ प्रतिशत क्यान्सर रोगमा कमी आएको थियो । 

हृदयाघातसँग प्रतिरोध कसरी गर्ने ?

यसका लागि आफ्नो बायोकेमेस्ट्री परिवर्तन गर्नु पर्छ ।  पूरा होलग्रेन तथा वनस्पतिप्रधान खाना खानुपर्छ । यसो गरेपछि रक्तवाहिनीमा बोसो जम्ने प्रक्रिया रोकिने, खराब कोलेस्ट्रोल (एलडीएल) जान नपाउने, रगत नटाँसिने हुन्छ । उचित जीवनशैलीले पर्याप्त मात्रामा नाइट्रिक अक्साइड उत्पादन भई बोसो  टासिने हुनबाट रोक्ने, रक्त वाहिनीलाई फराकिलो बनाउने, आर्टरी बाक्लो हुनबाट रोक्ने, ब्लकेज हुनबाट जोगाउने कार्य गर्छ । नाइट्रिक अक्साइडले फोम सेललाई नोक्सान पार्छ, जसले गर्दा रक्त नलीमा बोसो जम्मा हुन पाउँदैन ।  

वनस्पतिप्रधान होलग्रेन खनाले माथि भनिएका सबै कोषहरूलाई सही तबर काम गर्ने गरेर स्वास्थ्यकर बनाउँछ । ​

स्टेन्टको प्रभावकारिता कम 

कोरोनरी आर्टरीमा भएको ब्लकेजका लागि स्टेन्ट राखी रक्तसञ्चार सुधार गर्न एन्जियोप्लास्टी गर्न सुरु भएको सन् १९७४ देखि हो । एन्जियोप्लास्टीसम्बन्धी धेरै अध्ययन र अनुसन्धान भएको छ । स्थिर मुटुरोग भएका बिरामीहरूमा एन्जियोप्लास्टीको कुनै प्रभाव नभएको तथा यसले बिरामीको मनोविज्ञानमा मात्र सकारात्मक असर परेको पाइएको छ । सन् २००७ मा २३०० उच्च कोरोनरी आर्टरी रोगीहरूमा केहीलाई  स्टेन्टसहित तथा केहीलाई स्टेन्टबिना नै उपचार गरिएको थियो । यी बिरामीहरूलाई धेरै वर्षसम्म निगरानीमा  राखिएको थियो ।  स्टेन्टले रोकथाममा कुनै प्रभाव नपरेको कुरा न्यू इङ्ग्ल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित भएको थियो ।  यो अध्ययनको विश्वासमा प्रश्न उठाएपछि सन् २०१२ मा तीनवटा अनुसन्धान हृदयाघातपछि स्थिर रहेका बिरामीहरूमाथि गरिएको थियो । थप अनुसन्धान स्थिर एन्जाइना भएका तर हृदयाघात अझै नभएका बिरामीहरू माथि गरिएको थियो । यी सबै अनुसन्धानले हृदयाघात हुनबाट बचाउन तथा स्थिर हृदयाघात बिरामीलाई मृत्यु हुनबाट बचाउन स्टेन्टले प्रभावकारी भूमिका नभएको तथ्य जामा इन्टरनल मेडिसिनले गरेको मेटा एनालाइसिसले देखाएको छ । अझै केही मुटुरोग विशेषज्ञहरूले स्टेन्टले बिरामीको दुखाइ कम हुने जीवनयापनमा गुणात्मक असर गर्ने जिकिर गर्छन् । दुखाइ कम हुने स्टेन्टको हो कि मनोवैज्ञानिकले कारणले भन्ने यकिन गर्न गाह्रो छ ।  

बेलायतका अनुसन्धानकर्ताहरूले सन् २०१७ मा सिरियस कोरोनरी आर्टरी रोग  भएका बिरामीहरूलाई पाँच ठाउँमा जम्मा पारी दुई समूहमा विभाजन गरेका थिए । सबैलाई उपयुक्त उपचार दिएका थिए । पहिलो समूहका बिरामीलाई स्टेन्टसहितको एन्जियोप्लास्टी गरिएको थियो । दोस्रो समूहकालाई उही पद्धति गरिएको थियो । तर स्टेन्ट हालिएको थिएन र बिरामीलाई पनि भनिएको थिएन । छ हप्तापछि यी दुवै समूहका बिरामीहरूको दुखाइ मापन गर्नका लागि ट्रेडमिलमा व्यायाम गर्न लगाइएको थियो । यो एन्जाइना परीक्षण गर्ने  नियमित तरिका हो । यो टेस्ट गर्दामा मुटुरोग विशेषज्ञ तथा बिरामीहरूलाई स्टेन्ट हालिएको या नहालिएको जानाकारी दिइएको थिएन ।  यस परीक्षणमा स्टेन्ट हालेको या नहालेका बिरामीको परिणाम उस्तै भएको पाइएको थियो ।     

इमर्जेन्सी उपचारमा स्टेन्टको जरुरत हुनसक्छ । महँगो तथा प्रभावकारिता कम हुने स्टेन्टभन्दा उपयुक्त जीवनशैलीले धेरैको ज्यान बचाउन सक्छ ।   

शरीरका लागि आवश्यक पोषणका तत्त्वहरू जब पूर्ण रूपले प्रभावित हुन्छन् तब स्वास्थ्यकर दीर्घजीवी या रोग प्रतिरोध हुने मात्र नभईकन यसले खानाको आसक्ति तृष्णा कम गराई भोकलाई सामान्यकरण गर्छ र शरीरको वजन कुनै प्रयासबिना नै ठीक हुन्छ । 

उच्चतम पोषण पाएमा मानव शरीर स्वयं मर्मत र उपचार गर्ने, आफ्नो रक्षा गर्ने चामत्कारिक मेसिन जस्तो छ । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।