शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

राजनीतिक दलहरुमा आन्तरिक शुद्धीकरणको समय आइसकेको होइन र ?

बिहीबार, ३० भदौ २०७९, ११ : ४१
बिहीबार, ३० भदौ २०७९

यही भदौ १३ गते दिउँसो बानेश्वरमा एकजना पुराना राजनीतिज्ञ अनयासै भेटिनुभयो । एकछिन सडकमै उभिएर सामान्य सञ्चो बिसञ्चो सोधपुछ पछि हामी अलि लामो समय भलाकुसारी गर्न नजिकैको चिया पसलमा पस्यौँ । हामी बिच पञ्चायतकालदेखि नै घनिष्ट मित्रता थियो । उहाँ मेरो अग्रज भए पनि उहाँको म प्रतिको व्यवहार साथी सरहको थियो । त्यसबेला म विद्यार्थी राजनीतिमा औसत भन्दा बढी नै सक्रिय थिएँ भने उहाँ प्रतिबन्धित दलको राजनीतिमा पूर्णकालीन रुपमा समर्पित हुनुहुन्थ्यो । हाम्रो संगठन भने फरक फरक थियो तर पनि हाम्रो मित्रता ज्यादै प्रगाढ थियो । आमनिर्वाचन नजिकिएको र एक जना परिपक्व, सिद्धान्तनिष्ठ र सादगी नेताको परिचय बनाउनु भएका अग्रज नेतासँग भेट भएको अवसरमा कुरा राजनीतिबाट नै सुरु भयो । चियाको चुस्की लिदै मैले उहाँको राजनीतिक यात्राको बारेमा नै पहिलो प्रश्न गरेँ ।

उहाँले अलि निरास भावमा उत्तर दिनु भयो, अहिलेको राजनीति पचासको दशकको जस्तो कहाँ छ र ? राजनीतिको लगाव र दलप्रतिको प्रतिबद्धताको कारण राजनीतिमा निरन्तर सक्रिय रहेको छु तर मेरो प्राप्ति भनेको राजकीय पदमा पुगेका दलका अरु नेताहरुले गरेका गलत क्रियाकलापका कारण जनताबाट गाली खानुबाहेक केही छैन बलराम जी ।”

उहाँले अझ अगाडि बढ्दै भन्नुभयो कि हिजोको राजनीतिमा दलमा गरेको त्याग, तपस्या, उसको वैचारिक र सैद्धान्तिक परिपक्वता, जनताको बिचमा निरन्तर खटाइ आदि हेरिन्थ्यो र आवधिक निर्वाचन र अन्य मनोनयन गरिने पदहरुमा त्यसैअनुसार दलले मूल्याङ्कन गथ्र्यौ र त म जस्ता थुप्रै साथीहरुले २०४९ को स्थानीय निर्वाचन तथा २०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा टिकट पाएका थियौँ ।

मैले २०४८ को प्रतिनिधिसभा निर्वाचनमा टिकट पाएँ तर झिनो मतले पराजित भएँ । त्यसपछि कहिल्यै टिकट पाइनँ । मैले प्रशिक्षण गरेका र मैले नै पार्टीको सदस्यता दिएका भाइहरूले टिकट पाउँछन्, म सधैँ उनीहरुको झोला बोकेर हिँडिरहेको छु, अहिले त हामी हरायौँ । तर पनि राजनीति छोड्न सकिएन, के गरौँ ।

उहाँले अझ थप्नुभयो “२०५६ र त्यसपछिको आम निर्वाचनमा त निजी शिक्षण संस्था र मेडिकल कलेज चलाएर पैसा कमाउने, जग्गा कारोबारी, ठेकेदार, वैदेशिक रोजगारीका नाममा विदेशमा नेपाली युवा पठाएर आर्थिक उपार्जन गर्नेहरु, ब्यापारी र उद्योगपति नेताका नजरमा छन् । तिनैले टिकट पाउँछन्, चुनाव लड्छन्, प्रशस्त पैसा खर्च गर्छन्, चुनाव जितेर आउँछन्, अनि मन्त्री हुन्छन् । हामी जस्ता सोझा र सादगी कार्यकर्ताको दिन गए बलराम जी” भनेर उहाँले खुईय गर्नुभयो ।

उहाँले निष्कर्ष सुनाउँदै भन्नुभयो “आजको राजनीति त धन, डन र गन हुनेवालाहरुको नियन्त्रणमा छ ।” गफ धेरै भए, घर व्यवहार, छोराछोरी, पढाइ, जागिर आदि इत्यादि । हामी करिब २ घण्टा बसेर छुट्टियौँ ।

मैले यहाँ उहाँको किन परिचय खुलाइन भने उहाँ अहिले पनि टिकटको दाबेदार हुनुहुँदो रहेछ । यो अन्तिम पटक हो भनेर नेताहरुको घरदैलो धाउँदै हुनुहुँदो रहेछ । यदि यो लेख उहाँको दलको कुनै पहुँचवाला नेताले पढे भने यस्तो निराशाजनक अभिव्यक्ति दिनेलाई के को टिकट दिने भन्ने होला भनेर मैले उहाँको परिचय दिन उपयुक्त ठानिन ।

जब हामी छुट्टियौँ, मेरो मानसपटलमा उहाँको भनाइ र नेपालको राजनीतिक परिदृश्य फिल्मको रिल घुमेझँै फनफनी घुम्न थाले । यसो सम्झेँ, प्रजातन्त्र पुनःस्थापना पछिको पहिलो संसदीय निवार्चनका उम्मेद्वारहरुको मुहार कस्तो थियो ? उहाँहरुको व्यक्तिगत जीवन नभएको, जिन्दगीभर देश र जनताको लागि लडेको, दलको झोला बोकेर गाउँ गाउँ हिँडेको, जनताको पिँढीमा बसेर जनतासँगै गुन्द्रुक र ढिँडो खाएको, व्यक्तिगत सम्पत्ति र धनमा पटक्कै लालसा नभएको, जनताको दुःख र सुखमै आफूलाई पूर्णतः समर्पण गरेको जनताको मान्छे हुनुहुन्थ्यो उहाँहरु । त्यसबेलाका राजनीतिक कर्मीको जति नै गुणगान, व्याख्या, विश्लेषण गरे पनि कम हुन्छ ।

अनि सम्झेँ आज दलको टिकटको लागि दौडधुप गरिरहेका धेरै व्यक्तिहरुको विगत र वर्तमान । हिजोसम्म दलको कुनै कार्यक्रम, सभा, सम्मेलन, अभियान वा आन्दोलनमा सहभागी नभएको व्यक्तिको नाम टिकट पाउनेको लिस्टमा सबभन्दा माथि छ रे । हिजो दलको सदस्यता वृद्धि गर्न दिन रात खट्ने, दलको नीति, कार्यक्रम, विचार र सिद्धान्त बुझाउन गाउँ गाउँ डुल्ने अनि दललाई अप्ठ्यारो परेको बेलामा समेत आफ्नो दलको पक्षमा सतिसाल झैँ उभिने व्यक्तिसँग चुनावी खर्च छैन रे । उसँग अघिपछि मोटरसाइकल कुदाउने युवाहरुको भीड पनि छैन रे । अनि उसलाई टिकट दिएर के गर्ने ? भन्दै आफ्नै नेताले यस्ता सादगी नेतालाई लिस्टमै नराखेका समाचार थुप्रै पढ्न र सुन्न पाइन्छ ।

फेरि २०४८ र २०५१ सालको चुनाव प्रचारको याद आयो, त्यो बेला चुनाव प्रचारमा कति गाडी प्रयोग हुन्थे ? उम्मेद्वारका वरपर कति मोटरसाइकल दौडिन्थे ? वा गाउँ गाउँमा के कति भोज भत्तेर हुन्थे ? एकदमै कम । मोटरबाटो पुगेको ठाउँमा उम्मेदवार चढ्ने एउटा गाडी हुन्थ्यो, कार्यकर्ताहरु लौरो टेकेर चुनाव प्रचारमा हिँडेका हुन्थे । अनि सम्झना आयो २०६४, २०७० र २०७४ को चुनावको टिकट वितरण, चुनाव प्रचार प्रसार, नेताको भाषण कुनै पनि तुलनायोग्य नै छैन । केही केन्द्रीय स्तरका नेताहरुदेखि बाहेक टिकट कस्तालाई दिइयो ? चुनाव प्रचारको शैली कस्तो थियो ? प्रचार, प्रसार र भाषणमा कस्तो भाषा प्रयोग गरियो सबैले सम्झौँ त ।

ठिक छ, निर्वाचनमा जित्ने व्यक्तिलाई टिकट दिनुपर्छ तर मलाई अचम्म लागेको कुरा के भने दशकौंदेखि जनताकै विचमा, जनतासँगै बसेको व्यक्तिले चुनाव नजित्ने अनि हिजो दलमा प्रवेश गरेको व्यक्तिसँग धन सम्पति छ, त्यसैको कारणले चुनाव जित्ने हो र ? के हामी मतदाता पनि त्यस्तै व्यक्तिको पछाडि दौडने भएका हौं ? हामी मतदाता पनि देश, समाज, गाउँ र टोललाई योगदान पुर्याएको र अनवरत रुपमा राजनीतिमा सक्रिय, सधैँ जनताको विचमा रहेको एक शालीन र सादगी व्यक्तिको भन्दा धन सम्पत्तिको पछि लाग्न थालेका हौँ ? हामी जनता र दलका कार्यकर्ताको पनि मन मस्तिष्कमा एक चिज अनि व्यवहारमा अर्को भएको त होइन ? हामीले पनि आफ्नो समीक्षा गर्नुृपर्ने बेला भए जस्तो लाग्छ मलाई ।

मलाई अत्यन्तै खड्किएको एउटा कुरा के हो भने नेताहरुले माध्यमिक तहदेखि विद्यार्थी संगठनमार्फत एउटा कसैलाई राजनीीतमा होमी दिन्छन्, ऊ निरन्तर सभा, सम्मेलन, कार्यक्रम, आन्दोलन आदिमा लागिरहन्छ, अनि उस्ले कसरी पैसा कमाओस्, कसरी गाडी र घर जोडोस्, अनि कसरी अहिलेको महँगो चुनावको लागि खर्चको जोहो गरोस् । यसको विपरीत बरु पैतृक सम्पत्ति समेत घटाएको हुन्छ, उसले त ।

अनि निर्वाचनमा उम्मेदवार हुनेबेला र राजकीय पदको बेलामा धन, सम्पति भएको नेता खोज्ने हो भने राजनीतिक दलहरुले भन्नुपर्यो, पढाइ हुन्जेल कुनै विद्यार्थी संगठनमा नलाग, पढाइ सक, व्यापार, व्यवसाय, नोकरी, ठेकेदारी गर, पैसा कमाऊ अनि दलमा सक्रिय बन । दललाई बचाइ राख्नको लागि एक प्रकारका कार्यकर्ता र निर्वाचनमा टिकट वितरण र राजकीय पदका लागि अर्का प्रकारका कार्यकर्ता, के न्यायसंगत हुन्छ यो ।

अहिले नै माथि चिया गफमा भनिएजस्तो परिदृश्य पूरै त देखिएको होइन र छैन पनि तर यसरी नै राजनीति अगाडि बढ्ने हो तथा धन र सम्पतिवाला व्यक्तिहरुको पार्टी संगठनमा पनि पकड बढ्दै गयो भने पार्टीका इमान्दार कार्यकता पूर्णतः पाखा लाग्ने बेला आउँदैन भन्न सकिदैन ।

म कहिलेकाहीँ सोच्छु, कुनै पनि दलको प्रतिनिधित्व गरेर प्रतिनिधिसभा वा राष्ट्रियसभा वा प्रदेशसभामा पुग्ने व्यक्तिहरुले आफू सदस्य रहेको दलको नीति कार्यक्रमका बारेमा जानकारी राख्नुपर्छ कि पर्दैन ? उक्त पार्टी स्थापना हुनुको उद्देश्य, उक्त दलले परिकल्पना गरेको राजनीतिक व्यवस्था, अर्थ नीति, परराष्ट्र नीति, शिक्षा नीति आदिका बारेमा हामी जस्ता जनतालाई बुझाउन सक्ने क्षमता राख्नु पर्छ कि पर्दैन ? ल मानौ, जनताबाट चुनिएर जानुपर्ने पदमा त दलले खोजे जस्तो मात्र व्यक्ति नपाउन पनि सकिन्छ वा समाजका अन्य क्षेत्रमा प्रतिष्ठा कमाएका व्यक्तिलाई उम्मेदवार बनाउनु पर्ने हुन सक्छ । तर दलका आधिकारिक पदहरुमा समेत यही परिदृश्य देखिन थालिसकेको छ ।

दलका गाउँ समितिका कुराहरु नगरौं तर जिल्लादेखि केन्द्रीय समिति सम्मका नेताहरुले आफ्नो दलको औचित्य, दलले अङ्गिकार गरेका सैद्धान्तिक आधारहरु, यसले निर्माण गर्न चाहेको समाज र राष्ट्रको चरित्र, उक्त दलको विकासको मोडल आदिको बारेमा ज्ञान राख्नु पर्छ कि पर्दैन ?

 अचम्म लाग्छ, हिजो साँझसम्म एक अमुक दलको सत्तोसराप गरिरहेको व्यक्ति राती २ घण्टाको कुनै शीर्ष नेतासँगको भेट र टिकटको सुनिश्चितता पछि ऊ त्यो दलको सदस्यता ग्रहण गर्छ वा ससम्मान खादा लगाएर पार्टीको सदस्यता दिइन्छ र पर्सिपल्ट केन्द्रीय सदस्यमा मनोनित गरिन्छ ।

त्यसपछि ऊ ओठेभक्ति देखाउन थाल्छ नेताप्रति, उसलाई न प्रशिक्षण दिइन्छ न उसले नै मैले हिजोसम्म बुझेको कुरा सत्य होइन रहेछ । आज यो यो कारणले कुरा बुझेँ भनेर भन्नुपर्छ । अनि नेताहरुको क्रिपादृष्टिका कारण उसले टिकट पाउँछ र जिल्ला पुग्छ । जिल्लाका पचासौँ वर्षदेखि अनवरत पार्टीमा सक्रिय अग्रजहरु अमिलो अनुहार लगाउँदै उसको झोला बोकेर गाउँ गाउँ डुल्न बाध्य हुन्छन् ।

पचासको दशकमा नेताहरुले अध्ययन, अनुसन्धान, चिन्तन, मनन प्रशस्त गरेको पाइन्थ्यो । एकापसमा विचार विमर्श, छलफल, वादविवाद आदि नेताहरुको दिनचर्या नै हुन्थ्यो । पुस्तक लेख्ने, विचारमुलक लेखहरु पत्रिकामा प्रकाशित गर्ने होड नै चल्थ्यो । तर आज यी सब कुरामा खडेरी परेको महशुस हुन थालेको छ ।

के चुनाव जित्नु मात्र राजनीतिक दलको प्राथमिकता हो ? जस्तोसुकै चरित्रको मान्छे भए पनि नेतालाई चुनाव जित्छ भन्ने लाग्यो भने दलको सदस्य दिइहाल्नु पर्ने हो ? के दलका नेताले सोच्ने बेला भएन र ?

कुरा राजनीतिक दलका नेताको मात्र होइन, हामी सर्वसाधारण जनता र दलका कार्यकर्ताको पनि कमजोरी छन् । दलका नेता पनि त हाम्रै समाजका उपज हुन्, उनीहरुको आधारभूत चरित्र हाम्रो भन्दा के फरक होला र ? तर पनि मेरो भनाइ यति मात्र हो, नेता भइसकेपछि म पनि त्यही समाजको उत्पादन हुँ र तपाई भन्दा फरक हुन सक्दिन भन्न पाइँदैन । हामी सरह भए त तपाईंलाई किन नेता मान्नु र । त्यसैले तपाईंले बाटो देखाउने हो, मार्गनिर्देश गर्ने हो र तपार्इं नमूना बन्ने हो र हामी तपाईंको पछि लाग्ने हो ।

यस पटकको निर्वाचनमा उम्मेदवार तय गर्दा व्यक्तिले पार्टीमा दिएको समय, दललाई अप्ठ्यारो पर्दा उसले लिएको अडान र गरेको सहयोग, उसको सामाजिक प्रतिष्ठा र इज्जत, उसको वैचारिक र सैद्धान्तिक स्तर, उसले बिताइरहेको जीवनशैली र विगतको व्यक्तिगत चरित्र आदिलाई हेरेर टिकट वितरण गर्नुभयो भने दलहरुप्रति सर्वसाधारण जनतामा बढ्दै गएको वितृष्णा क्रमशः घट्दै जान्छ ।

आखिर बहुदलीय प्रजातन्त्र र बहुलवादमा आधारित राजनीतिक व्यवस्था भएको देशमा सरकार चलाउने र देशको नेतृत्व गर्ने राजनीतिक दलहरुले नै हो । राजनीतिक दलको विकल्प राजनीीतक दल नै हो, अरु हुनै सक्दैन । तर अहिले परिदृश्यमा देखिएका प्रमुख दलहरुमा पनि एक वा अर्को कारणले आन्तरिक शुद्धिकरणको आवश्यकता भने देखिएको छ । दलको जिम्मेवार व्यक्तिहरुले समयमै नसोच्ने हो भने सुधारको लागि भोलि ढिला भैसकेको हुनेछ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. बलराम तिमल्सिना
डा. बलराम तिमल्सिना
लेखकबाट थप