बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

किन लोसपा छोड्दैछन् अरगरिया ? असोज ८ गते एमाले प्रवेश गर्ने

बिहीबार, ३० भदौ २०७९, १७ : ०२
बिहीबार, ३० भदौ २०७९

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य उमाशंकर अरगरिया नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । असोज ८ गते एक कार्यक्रमको आयोजना गरि उनी एमाले प्रवेश गर्न लागेका हुन् । नेता अरगरियाले भने, ‘एमालेमा प्रवेश गर्ने निर्णय गरिसकेको छु, तर हालसम्म लोसपामा राजीनामा दिएको छैन ।’ राजीनामा दिने विषयमा छलफल गरिरहेको उनले बताए ।

'लोसपाका अन्य नेताहरु पनि एमालेमा जान लागेका छन्, उनीहरुको बीचमा छलफल चलिरहेको छ, कहिले राजीनामा दिने, कसरी दिने विषयमा छलफल भइरहेको  छ', उनले बताए । 

लोसपा किन छाड्न लाग्नु भएको हो भन्ने जिज्ञासामा उनले पार्टीमा राजीनामा दिएपछि मात्र विस्तृतमा जानकारी गराउने प्रतिकृया दिए । 'पार्टी छाड्नुपर्ने कारण थुप्रै छन् तर अहिले लोसपाबाट राजीनामा नदिएको कारणले ती कुराहरु उजागर नगर्ने मिल्दैन । एक दुई दिनमा सबै कुरा बाहिर  ल्याउँछु', उनले भने ।

कांग्रेसबाट राजनीति सुरु गरेका अरगरिया मधेश आन्दोलनपछि मधेश राजनीतिमा प्रवेश गरेका थिए । तत्कालिन मधेशी जनअधिकार फोरममा प्रवेश गरेर उनी मधेसको राजनीतिमा सक्रिय भएका थिए । 
तत्कालिन मधेशी जनअधिकार फोरम नेपालबाट विजयकुमार गच्छदार अलग भएपछि अरगरिया पनि सो पार्टी छाडेका थिए । गच्छदार काँग्रेससँग एकीकरण गरेपछि उनी पुनः उपेन्द्र यादवको नेतृत्व फोरममा प्रवेश गरेका थिए । 

२०७४ को प्रतिनिधिसभामा निर्वाचनमा धनुषा–२ बाट चुनाव जितेका अरगरिया जसपा विभाजन हुँदा महन्थ ठाकुरलाई साथ दिएका थिए । महन्थ ठाकुर नेतृत्वको लोसपामा उनी कार्यकारिणी सदस्य तथा संसदीय दलको प्रमुख सचेतक रहेका थिए । ओली नेतृत्वको तत्कालिन सरकारमा जसपाको महन्थ ठाकुर पक्षका १० जना मन्त्री बनेका थिए, त्यसमध्ये एक अरगरिया पनि थिए । 

पछिल्लो समय लोसपाको संगठन निर्माण र सो पार्टीको गतिविधिप्रति उनी असन्तुष्ट रहेका थिए । 'लोसपा गठन भएको एक वर्षभन्दा बढी भइसक्यो तर अहिलेसम्म केन्द्रीय समिति बनेको छैन । पार्टीमा कार्यकारिणी समिति छ । त्यसको पनि बैठक बस्दैन । पार्टीभित्रका पाँचजना (महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी र सर्वेन्द्रनाथ सुक्ला) ले जे गर्छन् त्यही हुन्छ । अन्य नेताहरुसँग कुनै सरसल्लाह तथा सोधपुछ छैन' उनले गुनासो गरे ।

स्रोतका अनुसार उनले लोसपामा परिवार वाद हावी भएको गुनासो गर्दै आइरहेका छन् । आगामी चुनावका लागि महन्थ ठाकुरले आफ्ना सम्धी–सम्धनी, अनिल झाले आफ्नो छोरा, राजेन्द्र महतोले आफ्नो ज्वाई, शरतसिंह भण्डारीले निर्जला राउतको नाम सिफारिस गरेका छन् । उनीहरु पार्टीका नेताहरुको चिन्ता छाडेर आआफ्नो परिवारका सदस्यलाई कसरी सांसद बनाउने चिन्ता गरिररहेको भन्दै अरगरियले पार्टीभित्र गुनासो गर्दै आएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप