शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

चुनावको बहानामा लालपुर्जा वितरण रोकिँदैन : मन्त्री श्रेष्ठ

एक वर्षमा ४९ हजार परिवारले पाए लालपुर्जा
बुधबार, २९ भदौ २०७९, २० : ५७
बुधबार, २९ भदौ २०७९

विराटनगर । सरकारले गत वर्ष कात्तिकदेखि हालसम्ममा ४९ हजार भूमिहीन दलित, भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गरेको छ । मोरङको कानेपोखरी ६ मा आयोजित लालपूर्जा वितरण समारोहलाई सम्बोधन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले यस्तो जानकारी दिएकी हुन् । उनले लालपूर्जा वितरणको काम कुनै पनि बहानाले नरोकिने पनि बताइन् ।

‘गत कात्तिक १६ गतेदेखि महोत्तरीको रामगोपाल गाउँपालिकाबाट सुरु गरेको धनीपुर्जा वितरण अहिले देशभरि भइरहेको छ,’ मन्त्री श्रेष्ठले भनिन्, ‘बिना लक्ष्य, बिना बजेट हामीले हालसम्ममा ४९ हजारलाई लालपुर्जा वितरण गरेर सुकुम्वासीलाई जग्गाको मालिक बनाउन सफल भयौं ।’

सरकारले यही वर्षभित्र देशभरका सम्पूर्ण गाउँघरका सुकुम्वासीलाई लालपुर्जा वितरण गरिसक्ने लक्ष्य लिइएको पनि उनले बताइन् । ‘गरिब नागरिकहरुलाई अधिकार दिने भनेर संविधानमा उल्लेख भयो । तर, सधैँभरि राजनीतिक आग्रह पूर्वाग्रह भए,’ उनले भनिन्, ‘गरिव तथा विपन्नले परिचयपत्र पनि प्राप्त गर्न नसक्ने अवस्था भयो । त्यो स्थिति अन्त्य गर्नका लागि गरिब पहिचान गर्ने गरी स्थानीय तहलाई जिम्मेवार बनाउने कामको सुरुवात भएको छ ।’

उनले नागरिकलाई लालपुर्जा दिने विषयमा जस कसले लिने भन्ने प्रमुख कुरा नभएको पनि बताइन् । ‘जस कसले लिने भन्ने बहानामा नागरिकले पाउने संविधान प्रदत्त अधिकार स्थापित हुन नदिने कुरा मान्य हुँदैन । सरकारले नागरिकको अधिकार स्थापित गर्ने कुरा प्राथमिकतामा राखेको छ । जुन बेला नागरिकको अनुहारमा खुसी देखिनेछ, त्यो नै हाम्रो सन्तुष्टि र सफलता मान्नुपर्दछ,’ उनले भनिन् ।

लालपुर्जा पाएकाहरुले आफ्नै छाप्रोमा मर्न पाइने भयो भनेर सुनाएको प्रसङ्ग निकाल्दै अलिसान महलमा बस्नेहरूले चुनावको नाममा गरिबहरुको हुर्मत लिने कोसिस भइरहेको पनि उनले बताइन् ।

उनले भनिन्, ‘लालपुर्जा अहिले बाँड्ने होइन, चुनाव आयो भन्छन् । जो जनतालाई पानी पर्दा ओत लाग्ने छाप्रो छैन । त्यो नागरिकलाई चुनाव के मतलब ? यहाँ महलमा बस्नेहरुले भोटको राजनीति गरिरहेका छन् ।’

उनले लालपुर्जा बाँड्ने कुरा राज्यको दायित्व भएको पनि बताइन् । ‘मैले कुनै सदासयता, दया, मायाका कारण यहाँ आएर लालपुर्जा बाँडेको होइन, मेरो दायित्व हो । हामी मालिक होइनौं । हिजो कुर्सीमा बस्नेहरुले आफू मालिक र जनतालाई रैतीको व्यवहार गरेका छन् । त्यसकारण यो काम चुनाव वा कुनै पनि बहानामा रोकिनु हुँदैन,’ उनले भनिन्, ‘सरकारले यसैवर्ष ३ सय पालिकामा ५ लाख सुकुमवासीलाई लालपुर्जा बाँड्ने लक्ष्य राखेको छ ।’

६७ जनालाई पुर्जा वितरण

यसैबीच कानेपोखरीको वडा नम्बर ६ का ६७ जना भूमिहीन सुकुम्वासी तथा भूमिहीन दलित परिवारलाई भूमि आयोगले लालपुर्जा वितरण गरेको छ । मन्त्री श्रेष्ठले उनीहरुलाई लालपुर्जा वितरण गरेकी हुन् ।

कार्यक्रममा आयोगका अध्यक्ष केशव निरौला, उपाध्यक्ष नहेन्द्र खड्का, आयोग मोरङकी अध्यक्ष सुशीला घिमिरे (सामना), कानेपोखरी गाउँपालिकाका अध्यक्ष राजमति इङ्नाम, उपाध्यक्ष भोला अधिकारी लगायतको उपस्थिति थियो ।

कार्यक्रमस्थलमै भूमिहीन सुकुम्वासी २७ जना र भूमिहीन दलित ९ जनाले जग्गाको धनीपुर्जा पाएका छन् । अन्यलाई तत्काल वितरण गर्ने आयोगले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप