बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

समानुपातिक उम्मेदवार बन्न कांग्रेसले तोक्यो चार मापदण्ड

बुधबार, २९ भदौ २०७९, १९ : ५७
बुधबार, २९ भदौ २०७९

सत्तारुढ नेपाली कांग्रेसले समानुपातिकतर्फ उम्मेदवार चयन गर्ने मापदण्ड तोकेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको केन्द्रीय संसदीय समितिको बैठकले समानुपातिक उम्मेदवार चयन गर्ने चार मापदण्ड तोकेको हो ।

बैठकले समानुपातिकतर्फ उम्मेदवार चयनका चार मापदण्ड तोक्ने निर्णय गरेको सहमहामन्त्री फर्मुला मन्सुरले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार गत स्थानीय निर्वाचनमा उम्मेदवार भएकाहरूले समानुपातिकतर्फ उम्मेदवारीको दाबी गर्न पाउने छैनन् । त्यस्तै, ०७४ मा समानुपातिकतर्फ उम्मेदवार भएका नेताहरूलाई समेत संघ वा प्रदेश दुवैतर्फ उम्मेदवार नबनाउने कांग्रेसको मापदण्ड बनेको छ ।

त्यस्तै प्रतिनिधिसभामा समानुपातिकबाट हाल सांसद भएको व्यक्ति पनि अब प्रदेशमा गएर समेत फेरि समानुपातिकबाटै सांसद बन्न नपाउने र प्रदेशमा भएको व्यक्ति प्रतिनिधिसभामा आएर समेत बन्न नपाउने गरी मापदण्ड निर्धारण गरेको  मन्सुरले बताए । उच्च नैतिकता, योग्यता, क्षमता भएको र उमेर सन्तुलनलाई आधार मानेर पार्टीको पक्षमा लोकप्रिय मत थप्न सक्नेलाई समानुपातिक उम्मेदवार बनाउने कांग्रेसको लाइन छ । कांग्रेस ७७ जिल्लाका १६५ वटै निर्वाचन क्षेत्रमा  पार्टीले समानुपातिक उम्मेदवार पनि खडा गर्ने उनको भनाइ छ ।

मन्सुरका अनुसार समितिको बिहीबार बस्ने बैठकले समानुपातिकमा पर्ने नामबारे छलफल गर्नेछ । निर्वाचन आयोगको २–३ असोजमा समानुपातिकतर्फको बन्दसूची पेस गर्ने समय सीमा तोकेको छ । बन्द सूची सच्याउने म्याद भने आगामी असोज १६ गतेसम्म तोकेको छ ।​

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप