बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

काठमाडौं उपत्यकाका १५ सिटमा गठबन्धनभित्र यसरी हुँदैछ भागबण्डा

बुधबार, २९ भदौ २०७९, १९ : ५१
बुधबार, २९ भदौ २०७९

पाँच दलीय सत्ता गठबन्धन काठमाडौं उपत्यकाका १५ सिटमा सहमति नजिक पुगेको छ । काठमाडौंका १०, ललितपुरका ३ र भक्तपुरका दुई सिटमा गठबन्धनभित्र सिट बाँडफाँटमा खासै समस्या नरहेको बुझिएको छ ।

काठमाडौंका १, ३, ४, ५, ६,  र १० नम्बर क्षेत्रमा कांग्रेसको एकल दाबी छ । काठमाडौं १ बाट ०७४ मा कांग्रेसका नेता प्रकाशमान सिंह विजयी भएका थिए । त्यहाँ यस पटक पनि गठबन्धनबाट सिंह उम्मेदवार हुने निश्चित छ । यस्तै काठमाडौं ३ मा कांग्रेस नेतृ अम्बिका बस्नेत उम्मेदवार हुने पक्का जस्तै छ । ०७४ मा बाम गठबन्धनबाट एमालेका उम्मेदवार कृष्णकुमार राईसँग हारेकी बस्नेत यस पटक गठबन्धनको साझा उम्मेदवार बन्ने छिन् ।

काठमाडौं – ४ मा कांग्रेस महामन्त्री गगन थापा उम्मेदवार बन्ने निश्चित छ । यहाँबाट ०७४ मा बाम गठबन्धनका बाबजुद निर्वाचित भएका थिए । कांग्रेसले विभिन्न जिल्लाबाट सिफारिस गरेपनि थापा काठमाडौं- ४ बाट उम्मेदवार बन्ने छन् ।

काठमाडौं ५ पनि कांग्रेसले पाउने भएको छ । यहाँबाट कांग्रेस प्रवक्ता प्रकाशशरण महत उम्मेदवारका रुपमा सिफारिस भएका छन् । यद्यपि उनी नुवाकोट – १ बाट उम्मेदवार बन्न जोडबल गरिरहेका छन् । ७४ मा माओवादीले जितेको नुवाकोट- १ कांग्रेसले पाउँदा महत उम्मेदवार बन्ने छन् । सो अवस्थामा काठमाडौं– ५ मा कांग्रेसले नयाँ उम्मेदवार खोज्ने छ । तर माओवादीले नुवाटकोट- १ नछोडेको अवस्थामा काठमाडौं – ५ मा महत नै उम्मेदवार हुने चर्चा छ ।

काठमाडौं ६ मा कांग्रेसका भीमसेनदास प्रधान पनि गठबन्धनबाट उम्मेदवार हुने निश्चित जस्तै छ । ०७४ मा बाम गठबन्धनका उम्मेदवारलाई हराएर प्रधान संघीय सांसद बनेका थिए । माओवादी केन्द्रको दाबी काठमाडौं– २ र ९ मा छ भने एकीकृत समाजवादीले ८ र ९ मा दाबी गरेको छ ।

०७४ मा तत्कालीन बाम गठबन्धनबाट एमालेका नेता माधव नेपाल निर्वाचित भएको काठमाडौं २ मा माओवादीको इन्ट्री भएको छ । हाल एकीकृत समाजवादीका अध्यक्ष रहेका नेपाल रौतहट –१ बाट चुनाव लड्ने निश्चित भएपछि काठमाडौं–२ मा गठबन्धनभित्र नयाँ उम्मेदवारको खोजी भएको छ ।

एकीकृत समाजवादीले छलफलको सुरुवाती चरणमा काठमाडौं २ मा दाबी राखेको थियो । गठबन्धनबाट पार्टीका उपाध्यक्ष प्रमेश हमाललाई काठमाडौं – २ मा उतार्ने माधव नेपालको तयारी थियो । तर पछिल्लो दिनमा काठमाडौं – २ को सट्टा एकीकृत समाजवादीले काठमाडौं – ९ रोजेको छ ।

काठमाडौं ८ मा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठ उम्मेदवार बन्ने निश्चित जस्तै छ । ०७४ तत्कालीन बाम गठबन्धनबाट एमालेका उम्मेदवार श्रेष्ठले कांग्रेस उम्मेदवार नविन्द्रराज जोशीलाई हराएका थिए । अहिले सत्ता गठबन्धनबाट श्रेष्ठ उम्मेदवार बन्ने भएका छन् । काठमाडौं – ९ मा त्रिपक्षीय दाबी छ । यहाँ कांग्रेस, माओवादी र एकीकृत समाजवादीको दाबी रहेको कार्यदलका एक सदस्यले बताए । काठमाडौं – ९ मा कांग्रेसबाट ध्यानगोविन्द रञ्जित र नानु बाँस्तोलाको मुख्य दाबेदारी छ । तर माओवादी र एकीकृत समाजवादीले सिट मात्र मागेको छ, उम्मेदवारका सन्दर्भमा कार्यदलमा नाम प्रस्ताव गरेको छैन ।

माओवादी र एकीकृत समाजवादीले दाबी गरेका काठमाडौं– २, ८ र ९ नम्बर क्षेत्रमा कांग्रेसको पनि दाबी छ । २ र ८ मा सशक्त दाबी नराखेको कांग्रेसले काठमाडौं – ९ मा मुख्य जोड गरेको छ । यता जनता समाजवादीले काठमाडौं – ७ मा दाबी राखेको छ । काठमाडौं–७ मा कांग्रेस र जसपाको दाबी छ । तर काठमाडौं ७ मा जसपाका राजेन्द्र श्रेष्ठ उम्मेदवार बन्ने सम्भावना बलियो छ । ०७४ मा काठमाडौं – ७  राष्ट्रिय प्रजातन्त्र पार्टीलाई छोडेको कांग्रेस एक पटक जसपालाई छोड्नुपर्ने अवस्थामा पुगेको छ ।

यस्तै काठमाडौं उपत्यकाको ललितपुरका तीन क्षेत्रमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीले एक एक क्षेत्र पाउने सम्भावना छ । कांग्रेसले ललितपुर १ पाउने निश्चित जस्तै छ । त्यहाँबाट कांग्रेसका उदयशम्शेर राणा उम्मेदवार बन्ने पनि पक्का जस्तै छ । ललितपुर २ मा कांग्रेस र एकीकृत समाजवादीको मुख्य दाबी छ । ०७४ मा ललितपुर– २ बाट निर्वाचित एकीकृत समाजवादीका कृष्णलाल महर्जन मुख्य दाबेदार छन् । यस्तै ललितपुर–३ मा गठबन्धनबाट माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसाल उम्मेदवार बन्ने निश्चित छ । यहाँ पनि कांग्रेसले दाबी भने छोडेको छैन । ललितपुर – ३ मा कांग्रेसबाट जितजंग बस्नेत  र मदन अमात्य मुख्य दाबेदार हुन् ।

यस्तै भक्तपुरका २ वटा निर्वाचन क्षेत्रमा पनि गठबन्धनबीच सिट बाँडफाँटमा खासै समस्या छैन । भक्तपुर – १ मा गठबन्धनका कुनै पनि दलले रुची नराखेको कार्यदलका एक सदस्यको भनाइ छ । नेपाल मजदुर किसान पार्टीको गढ मानिएको भक्तपुर १ मा राजनीतिक उपस्थितिका लागि मात्र उम्मेदवारी दिने गठबन्धनको तयारी छ । भक्तपुर – २ मा कांग्रेस र माओवादीको दाबी छ । यहाँ कांग्रेसका जिल्ला सभापति दुर्लभ थापा र माओवादीका नेता रामप्रसाद सापकोटा (दिपशिखा)को दाबी छ । ०७४ मा एमालेका महेश बस्नेत निर्वाचित भएको यहाँ कांग्रेसका थापा उम्मेदवार बन्ने सम्भावना बढी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप