शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

२० महिनामा  ६५२ सडक बालबालिकाको  उद्दार

मङ्गलबार, ०४ पुस २०७४, १७ : ०८
मङ्गलबार, ०४ पुस २०७४

काठमाडौं– काठमाडौ उपत्यकालाई सडक बालबालिकामुक्त बनाउने अभियान अन्तर्गत अहिलेसम्म ६ सय ५२ जना सडक बालबालिकाको उद्दार गरिएको बालबालिका खोजतलास केन्द्रले जनाएको छ ।

 उद्दार गरिएका ५१ जिल्लाका बालबालिकामध्ये  धेरै नुवाकोट र सिन्धुपाञ्चोकका रहेका छन् ।  जसमा १० देखि १४ वर्ष उमेर समूहका ४७ प्रतिशत , १५ देखि १८ वर्ष उमेर समूहका ३८ प्रतिशत  र १० वर्ष मुनिका १५ प्रतिशत रहेका छन् । 

यसमा पनि  साक्षर वा विद्यालय बीचैमा छाडेका ७२.७ प्रतिशत र अन्य २७ .१४ प्रतिशत निराक्षर रहेको केन्द्रले जनाएको छ ।  ४ सय भन्दा धेरै बालबालिकाको आमाबाबु दुबै जीवित रहेको समेत पाइएको छ । 

 अभियानको थालनीसँगै नेपाल प्रहरीले पनि उपत्यकाको जुनसुकै ठाँउमा सडक बालबालिकाको उद्धार थालेको थियो । उद्दारका क्रममा २ जना बालिका त गर्भवती समेत पाइएको केन्द्रले जनाएको छ ।  

सरकारले ‘सडक बालबालिका उद्धार ,संरक्षण तथा व्यवस्थापन मार्गदर्शन, २०७२’ स्वीकृत गरेदेखि  वि.स २०७३ बैशाख २७ बाट सडक बालबालिका उद्धार कार्य सुरु गरिएको थियो । 

 उद्धार गरेका मध्ये १० प्रतिशत बालबालिकाको पारिवारिक आर्थिक अवस्था राम्रो रहेको समेत पाइएको छ ।    उनीहरु खराब संगतमा लागेर सडकमा आएको पाइएको खोजतलास केन्द्रका कार्यक्रम अधिकृत सन्तोष अधिकारीले बताए । अहिले सम्म उद्धार गरिएका मध्ये २ सय ४३ जनालाई परिवारको जिम्मा लगाईएको पनि उनले जानकारी दिए । 

उद्दार गरिएका तर अभिभावक पहिचान नभएकालाई   एक्सीस नेपाल, एसपी सिएस नेपाल, बेथानी भिजन, रक्षा नेपाल, नेपाल बाल मन्दिर , बाल हेल्पलाईन १०९८ , शक्ति समुह, ओम अपाङग, बाल वातावरण नेपाल, छोराछोरी नेपाल लगायत ३० वटा संस्थामा राखिएको पनि केन्द्रले जनाएको छ । 

सम्बन्ध विच्छेद, बहुविवाह, बैदेशीक रोजगार सडक बालबालिका बढ्नुको मुख्य कारण पाइएको छ ।  बैदेशीक रोजगारीमा जाने अविभावकले बालबालिकालाई समय नदिने ,बहुविवाह पछि   बालबालिकाको हेरचाहमा ख्याल नगर्दा पनि  सडकमा आउन बाध्य भएको केन्द्रको भनाई छ । 

उद्धार गरेका ३० प्रतिशत बालबालिका बहुविवाह (सौतेनी) मामलामाका कारण घर छाड्ने र सडक रोज्ने गरेको पाइएको छ  । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप