बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

भीभीआईपी सवारीमा अत्यासलाग्दो जाम : के अरू विकल्प थिएन ?

काठमाडौँ महानगरका ट्राफिक विज्ञ जगतमान भन्छन्– जोर बिजोर गर्न सकिन्थ्यो
बुधबार, २९ भदौ २०७९, १६ : ११
बुधबार, २९ भदौ २०७९

चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्सु भदौ २७ अपराह्न काठमाडौँमा ओर्लिए । नेपालको चार दिने भ्रमणमा रहेका चान्सु काठमाडौँ ओर्लिएदेखि नै उपत्यकावासीले अत्यासलाग्दो सवारी जाम खेप्न बाध्य भएका छन् । सामाजिक सञ्जालमा भीभीआईपी सवारीको नाममा बाटो खाली गराएर हैरानी दिएको भन्दै चर्को आलोचना भइरहेको छ ।

सरकारले ली चान्सुलाई ‘अति विशिष्ट’ स्तरको सुरक्षा दिएको छ । विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि–२०७७ अनुसार लीलाई ‘अति विशिष्ट’ स्तरको सुरक्षा प्रदान गरिएको प्रहरी प्रधान कार्यालयका एसएसपी दानबहादुर कार्कीले रातोपाटीलाई बताए । लीको भ्रमण अघि बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले चारै सुरक्षा निकायलाई सुरक्षा व्यवस्थापनमा कमजोरी नगर्न निर्देशन दिएको थियो ।

काठमाडौँ र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले लीको भ्रमणमा ‘औपचारिक’ सवारी गराउने निर्णय गरेको थियो । औपचारिक सवारी गराउने निर्णय अनुसार लीको कारकेड चल्ने सडक पूरै खाली गराइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एक अधिकृतले रातोपाटीलाई बताए ।

​त्रिभुवन विमानस्थलबाट बानेश्वर हुँदै सोल्टी होटल, बानेश्वर, सिंहदरबार र भक्तपुर क्षेत्रमा लीले भ्रमण गरेका छन् । भ्रमण अवधिमा सर्वसाधारणले अत्यासलाग्दो जामको मार खेपेपछि प्रश्न उठेको छ– ट्राफिक व्यवस्थापनको अर्को विकल्प थिएन र ?

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहका ट्राफिक विज्ञ पूर्व एसपी जगतमान श्रेष्ठ अत्यासलाग्दो जाम नियन्त्रणका लागि ट्राफिक व्यवस्थापनको अरू तरिका पनि भएको बताउँछन् । उपत्यकाको ट्राफिक व्यवस्थापनमा लामो समय काम गरेका श्रेष्ठ भन्छन्, ‘३ दिन जोर बिजोर गर्न सकिन्थ्यो, त्यसो गरेमा आधा सवारीसाधन कम हुने थिए ।’

विदेशी भीआईपीहरुको सुरक्षामा मुख्य सडकमा उच्च सुरक्षा सतर्कता अपनाइएको हुन्छ । तर, शाखा सडकमा सुरक्षाकर्मी परिचालन नगर्दा सुरक्षा खतरा हुने बताउँछन् श्रेष्ठ । उनी भन्छन्, ‘जस्तो, बानेश्वर चोकमा धेरै ट्राफिक प्रहरी खटाएरमात्र हुँदैन, थापागाउँ र बागमतीतर्फ पनि परिचालन गर्नुपर्छ ।’

भीभीआईपी सवारी हुँदा ट्राफिक जाम बढ्नुमा काठमाडौंको सडकको अवस्था मुख्य कारक रहेको बताउँछन् प्रहरी प्रधान कार्यालयका एसएसपी दान बहादुर कार्की । वैकल्पिक सडक कमजोर छन्’ कार्कीले रातोपाटीसँग भने, ‘करिडोरका सडक पनि कमजोर छन्, त्यसले गर्दा मुख्य सडकमा चाप परेको हो ।’

आधाघण्टा अघि रोकिन्छ गाडी

लीको सवारी हुनुभन्दा आधा घण्टा अघि ट्राफिक प्रहरीले ठुला सवारी साधन रोक्ने गरेको छ । भ्रमण सुरु हुनुभन्दा ५ मिनेट अघिचाहिँ पूरै सडक खाली गराइन्छ । सडक खाली गराउन शाखा रुटमा सवारी साधन डाइभर्ट गर्नुपर्दा चापका कारण अत्यधिक जाम हुने गरेको ट्राफिक व्यवस्थापनमा खटिएका अधिकृतहरु बताउँछन् । ‘मुख्य ट्रयाकमा आधा घण्टाअघि ठुला गाडी हिँड्न रोक्छौँ,’ उपत्यका ट्राफिक प्रहरी कार्यालयका एकजना अधिकृतले रातोपाटीसँग भने, ‘कारकेड सुरु हुनुभन्दा ५ मिनेटअघि बाटो खाली गराउँदै जान्छौँ ।’

उपत्यका ट्राफिक प्रहरी कार्यालयले एकैपटक बाटो खाली गराउँदा सवारीको चाप धान्नै नसक्ने विश्लेषण गरेर छोटो–छोटो दुरीमा खाली गराउँदै सवारी चलाइरहेको छ ।

सोमबार दिउँसो ली विमानस्थलबाट सोल्टी होटलतर्फ जाँदा र साँझ सभामुख अग्निप्रसाद सापकोटासँग संसद् भवनमा भेट गर्न जाँदा सो क्षेत्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भयो । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग उनले सिंहदरबारमा शिष्टाचार भेट गरे । बुधबार बिहान ९ देखि ११ सम्म भक्तपुर दरबार क्षेत्रको अवलोकन गर्न जाँदा र आउँदा सर्वसाधारणले घण्टौँ सास्ती पाए ।

भ्रमणबारे सूचना प्रवाह कम भएको हुनाले पनि ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको बताउँछन् मेयर शाहका ट्राफिक विज्ञ सल्लाहकार जगतमान । उनी भन्छन्, ‘सूचना प्रवाह कम भयो, चिनियाँ भीआईपी आउने कुरा सर्वसाधारणले थाहा पाए तर, सवारी रुट कसरी मिलाइन्छ कुन–कुन ठाउँको सडक प्रभावित हुन्छन् भनेर सर्वसाधारणलाई सचेत गराइएन ।’ 

जाम हुनसक्ने सम्भावित रुटबारे सूचना प्रवाह गरेमा सर्वसाधारण बाहिर ननिस्कने श्रेष्ठको तर्क छ ।

केही समयअघि सरकारले विशिष्ट व्यक्तिहरूको भ्रमणमा हेलिकप्टर प्रयोगबारे छलफल चलाएको थियो । विशिष्ट व्यक्तिहरूलाई होटलबाट कार्यक्रमस्थल र उपत्यबाहिर लैजाने आन्तरिक छलफल चले पनि अहिले सो विषय रोकिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप