कृषिलाई प्राथमिकता दिँदै खुल्यो किस्मत
कृषि क्षेत्रलाई प्राथमिकता दिँदै कैलालीको टीकापुरमा किस्मत कञ्चन बहुउद्देश्यीय सहकारी संस्था सञ्चालनमा आएको छ । सो सहकारीका अध्यक्ष राजेन्द्र शाहीका अनुसार धान र गहुँ खेती गर्ने किसानलाई लक्षित गरेर सहकारी स्थापना गरिएको हो ।
उनका अनुसार सहकारीले बिना धितो १५ प्रतिशत ब्याज दरमा एक बिगाहा क्षेत्रफलमा धान लगाएका किसानलाई २५ हजार तथा पाँच बिगाहा क्षेत्रफलमा धान लगाएका किसानलाई एक लाख रुपैयाँसम्म ऋण प्रवाह गर्ने नीति लिएको छ ।
किसानले उत्पादन गरेको वस्तु सहकारीले नै बजार मूल्यभन्दा केही थप रकम दिएर खरिद गर्ने अध्यक्ष शाहीको भनाइ छ । ‘किसानलाई हामिले लगानी गर्छौं । किसानले उत्पादन गरेको खाद्यान्न हामी नै खरिद गर्छौं,’ शाहीले भने, ‘त्यतिमात्र होइन, १० हजार बिगाहामा धान उत्पादन गर्ने लक्ष्यसमेत लिएका छौं ।’
पछिल्लो समय किसानले श्रमको मूल्य नपाएको गुनासो बढिरहेका बेला यो स्थितिलाई किस्मत कञ्चन बहुउद्देश्यीय सहकारी संस्थाले कम गर्दै लैजाने उनको भनाइ छ । शाहीले ८० करोडको लागतमा आफ्नै २ वटा राइस मिल र एउटा काठ उद्योगसमेत सञ्चालन गरेका छन् । किसानसँग खरिद गरिएको खाद्यान्नलाई आफ्नै मिलमा ल्याएर कुटान–पिसान गरी चामल तथा पिठो बजारमा लैजाने उनको योजना छ ।