शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

विदेशी लगानीकर्ता भन्छन्– नेपालमा लगानीको वातावरणमा सुधार भएको छ

बुधबार, २९ भदौ २०७९, १४ : २१
बुधबार, २९ भदौ २०७९

नेपालमा लगानीको वातावरणमा सुधार हुँदै गएको विदेशी लगानीकर्ताले बताएका छन् । लगानी वोर्डले सहजीकरण गरेका परियोजनामा लगानी गरिरहेका लगानीकर्ताले नेपालमा लगानीको वातावरणमा सुधार हुँदै गएको बताएका हुन् । लगानी वोर्डले आयोजना गरेको दीगो पूर्वाधार लगानी फोरम (एसआईआईएफ) मा नेपालमा ठूला परियोजनामा लगानी गरिरहेका भारतीय र चिनियाँ लगानीकर्ताले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै अरुण तेस्रो जलविद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले पछिल्लो समय नेपालमा लगानीको वातावरण सुधार हुँदै गएको र आफूहरुलाई परियोजना समयमै सक्ने गरी अघि बढाउन सहज भएको धारणा राखे । 

सो आयोजनामा १.६ अर्ब अमेरिकी डलर बराबरको लगानी भएको छ । संखुवासभामा बन्ने सो आयोजना ९ सय मेगावाट क्षमताको आयोजना हो । सो आयोजना सन् २०२३÷२४ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । उर्जा मन्त्रालय, लगानी बोर्ड जस्ता निकायले सहयोग गरेका कारण सो आयोजना समयमै सम्पन्न गर्ने गरी अघि बढाउन सकिएको प्रमुख कार्यकारी अधिकृत धिमानले बताए । सो आयोजना सरकार–निजी क्षेत्र–साझेदारी (पीपीपी) अवधारणामा निर्माण भइरहेको छ ।

नेपालमा सिमेन्ट उत्पादन गरिरहेको हुवासिन सिमेन्टका उपमहाप्रवन्धक लिउ गाङले पनि सरकारी सहयोगले आफूहरुलाई काम गर्न सहज भएको बताए । त्रिशुली थ्री उ जलविद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत हे उङ काङले पनि आयोजनाको लागि सरकारले आवश्यकता अनुसार सहजीकरण गरिदिएको धारण राखे । नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले नेपालमा पछिल्लो समय लगानीको वातावरणमा सुधार हुँदै गएको र नेपाल विदेशी लगानीको लागि सुरक्षित स्थानको रुपमा परिचित हुँदै गएको धारणा राखिन् ।

भर्चुअल माध्यमबाट सम्बोधन गर्दै विश्व बैँककी प्रबन्ध निर्देशक मरी प्यानगेस्तुले नेपालले हरित पूर्वाधारमा लगानी गर्ने प्रतिवद्धता जनाएको उल्लेख गरिन् । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले देशका सातै प्रदेशमा विशेष प्रकारका परियोजना सञ्चालन गर्ने रणनीतिक योजनामा बोर्ड रहेको जानकारी दिए । उनले नेपालमा लगानीको वातावरण व्यापक सुधार भएको भन्दै लगानीकर्तालाई बोर्डको तर्फबाट आवश्यक सबै प्रकारको सहयोग हुने प्रतिवद्धता जनाए । 

कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले दीगो पूर्वाधारमा लगानी गर्नुपर्ने आवश्यकता औल्याउँदै नेपालमा लगानीको वातावरण राम्रो रहेको र नेपालमा लगानी गर्न विदेशी लगानीकर्तालाई आव्हान गरे । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप