शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा बैठक शुन्य समय : कसले के भने ?

बुधबार, २९ भदौ २०७९, १२ : ४५
बुधबार, २९ भदौ २०७९

राष्ट्रियसभाका सांसदहरुले महामारीको रुपमा फैलिँदै गएको डेंगु रोग नियन्त्रणका लागि विशेष ध्यान दिन सरकारसँग माग गरेका छन् ।  बुधबार बसेको राष्ट्रियसभा बैठकको शुन्य समयमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदद्वय देवेन्द्र दाहाल र गोपाल भट्टराई तथा सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद मायाप्रसाद शर्माले डेंगु रोगको उपचारका लागि अतिआवश्यक रहेको सिटामोलको अभाव हुन नदिन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् । प्रमुख प्रतिपक्ष दल एमाले सांसद दाहालले बजारमा सिटामोलको अभाव भएको उल्लेख गर्दै तत्काल त्यसको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरे ।

उनले मिटरब्याजीहरुबाट पीडितलाई राहत दिनुको साटो सरकारले सुरक्षाकर्मी लगाएर दमन गर्ने काम गरेको भन्दै आपत्ति समेत जनाए । सांसद दाहालले भने– ‘मिटरब्याजीहरुले आम जनतालाई ठगी गरिरहेको कुरा र व्यापक रुपमा मिटरब्याज असुल गर्दै ठगी गरेको कुरा आएको छ । तर ती न्याय माग्न गएकाहरुलाई सरकारले उल्टै लाठी चार्ज गर्ने, उनीहरूको आवाज सुन्नुको साटो दमन गर्ने काम गरिरहेको छ । यस्तो काम अविलम्ब रोकियोस् । भनेर म माग गर्न चाहन्छु । यो विषयमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु अध्यक्षज्यू मार्फत् । र, अहिले सिटामोलको अभावले देशमा त्यसको व्यवस्था अविलम्ब गरियोस् ।’

नेकपा (माओवादी केन्द्र)का सांसद मायाप्रसाद शर्माले डेंगु रोग नियन्त्रणका लागि विशेष ध्यान दिन सरकारको गम्भिर ध्यानाकर्षण गराए । उनले बाढी र पहिरोबाट पीडित जनताका लागि तत्काल उद्धार र राहतको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए । सांसद शर्माले भने, ‘यो देशमा कोरोनासँगै डेंगु रोग भयावह स्थिति सृजना भएको छ । र, औषधि उपचारको निम्ति समस्या छ भन्ने समाचार आइरहेको छ । यो व्यापक रुपमा फैलिँदै गएको र त्यसको बारेमा सरकारले विशेष ध्यान दिनुपर्दछ । बाढी पहिरोबाट जनताहरु आहत भएका छन । उद्दार र खानपानको व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।’

एमालेका अर्का सांसद गोपाल भट्टराईले डेंगु रोगको उपचारका लागि सिटामोलको समेत अभाव भएको भन्दै त्यसको आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए । उनले भने, ‘अहिले औषधि सिटामोल समेत प्राप्त नगरेको कुरा आएको छ । यो देशव्यापी भइसकेको छ ।’ सांसद भट्टराईले सरकारले जनताको स्वास्थ्य सुरक्षामा आवश्यक ध्यान दिन नसकेको आरोप समेत लगाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप