मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

बाघको आक्रमण बढेपछि स्थानीय त्रसित

बुधबार, २९ भदौ २०७९, १२ : १४
बुधबार, २९ भदौ २०७९

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिकास्थित दुम्कीबास क्षेत्रमा बाघले मानिसलाई आक्रमण गर्न थालेपछि स्थानीय त्रसित बनेका छन् । चार  दिनको अन्तरालमा दुम्कीबासबाट सर्दी जाने बाटोमा दुईपटक बाघले मानिसलाई आक्रमण गरेपछि यस क्षेत्रका स्थानीय त्रसित बनेका हुन् ।  

गत शुक्रबारमात्रै  विनयी त्रिवेणी गाउँपालिका–३ बस्ने २१ वर्षीय सुवास विकलाई बाघले आक्रमण गरेको थियो ।  विनयी त्रिवेणी– १ होङ्सी जाने गेट नजिकै मोटरसाइकलमा सवार रहँदा बाघले उनीमाथि आक्रमण गरेको थियो । बाघको आक्रमणबाट विकको खुट्टामा चोट लागेको छ । 

कृष्ण विकले चलाएको मोटरसाइकलमा सवार सुवासलाई बाघले आक्रमण गरी तान्दै गर्दा सँगै रहेको ट्रक चालकले ट्रकले लखेटेपछि उनको  ज्यान जोगिएको थियो । मङ्गलबार सोही क्षेत्रमा बाघले मानिसलाई आक्रमणको प्रयास गरेको छ । मोटरसाइकलमा सवार दुई जनालाई बाघले आक्रमणको प्रयास गरेको विनयी त्रिवेणी–३ सर्दीका स्थानीय यादव पौडेलले बताए । 

दुम्कीबासबाट सर्दी मोटरसाइकलमा जाँदै गर्दा सर्दी निवासी दुर्गाप्रसाद पौडेल र रवि जिसीलाई बाघले आक्रमणको प्रयास गरेको हो  । दुवै जनाले भागेर ज्यान जोगाउन सफल भएको पौडेलले जानकारी दिए । दुम्कीबासबाट होङ्सी जाने गेट हुँदै सर्दी जाने  बाटो भएर आवतजावत गर्दा बाघको आक्रमण जोखिम बढेको छ । 

गत वर्ष दुम्कीबास  क्षेत्रमा बाघको आक्रमणबाट तीन जनाले ज्यान गुमाएका थिए । गत वर्ष बाघले लगातार मानिसलाई आक्रमण गरेपछि नरभक्षी बाघ नियन्त्रणमा लिन चितवन राष्ट्रिय निकुञ्जबाट हात्तीसहित सुरक्षाकर्मी परिचालन गरिएको थियो । तर नरभक्षी बाघ नियन्त्रणमा लिने प्रयास असफल बनेको थियो । अहिले फेरि लगातार सोही क्षेत्रमा बाघले आक्रमण गर्न थालेपछि स्थानीय चिन्तित बनेका छन् । 

बाघ सोही क्षेत्रमा रहेको र कुनै पनि समय मानिसलाई आक्रमण गरी मानवीय क्षति पु¥याउन सक्ने भन्दै समयमै सम्बन्धित निकायले यसको नियन्त्रणका लागि पहल गर्नुपर्ने स्थानीयवासीको माग छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप