सन्दर्भ बालदिवस

‘युट्युब हेरेर खुवाउने रोगै छ अहिले’

युट्युब, कार्टुनहरूमा पनि नेपाली बालसाहित्यका सामग्री चाहिन्छ: ध्रुव घिमिरे

person explore access_timeभदौ २९, २०७९ chat_bubble_outline0

हरेक वर्षझैँ यो वर्ष पनि भदौ २९ गते बालदिवस मनाइँदैछ । बालबालिकाको उत्सवको दिन भएकाले हरेक विद्यालयमा विविध कार्यक्रम गरी बालदिवस मनाइन्छ । धेरैजसो विद्यालयले यस दिन वक्तृत्वकला, नृत्य, साङ्गीतिक कार्यक्रम तथा विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्छन् । 


अतिरिक्त क्रियाकलापले कलिला बालबालिकाको शारीरिक तथा बौद्धिक क्षमताको विकास गर्छ । बौद्धिक क्षमताको विकासका लागि साहित्यको विशेष योगदान रहन्छ । बालसाहित्यको अध्ययन र सिर्जनाले बालबालिकाको बौद्धिक विकासका लागि विशेष भूमिका खेल्छ । साहित्य समाजको ऐना भएकाले त्यसमार्फत उनीहरूले आफ्नो समाजको अवस्था कस्तो छ भन्ने जानकारी पाउँछन् । 



बालबालिका नै प्राथमिक पाठक, दर्शक, श्रोता भएको साहित्य बालसाहित्य हो । यसर्थ बालबालिका आफैँले रोजेर पढ्ने साहित्यिक सामग्री र अभिभावक, शिक्षक तथा विशेषज्ञहरूले ‘बालबालिकाका लागि उपयुक्त’ भनेर छुट्याएका सामग्री बालसाहित्य हुन् । 



नेपाली बाल–विश्वकोशले बालबालिकाले लेखेको अथवा बालबालिकाका निम्ति अरूले लेखेको साहित्यललाई बालसाहित्य भनेको छ । यस्ता कृतिमा प्रशस्त चित्र हुन्छन् । जति सानो उमेर त्यति ठूला र धेरै चित्र राखिनु यसको मुख्य विशेषता हो । समालोचक राजेन्द्र सुवेदीले बालसाहित्यको सिर्जना बालकको उमेरको हद, ग्रहणशीलता, परखक्षमता, मनोवैज्ञानिक विकास आदिलाई दृष्टि दिएर गरिएको हुनुपर्छ भनेका छन् । त्यस्ता कृतिमा बालकहरूले आत्मसात् गर्न सक्ने विषय, भाव, कला, शिल्प र प्रस्तुतीकरण हुनुपर्छ भन्छन् उनी । 

तर हाम्रो मुलुकमा बालसाहित्यका बारेमा सरकार, शिक्षक र अभिभावकहरू त्यति धेरै सचेत भएको अवस्था देखिँदैन । किनभने आफ्ना बालबालिकाका लागि बालसाहित्य सामग्री ल्याएर अध्ययनका लागि दिने अभिभावक नगण्य छन् । 

नेपालमा बालसाहित्यका सामग्रीको पनि कमी छ । पत्रपत्रिकाहरुले पनि यस किसिमका सामग्री प्रकाशन गर्न रुचाएको देखिँदैन । समय समयमा बालबालिकालाई केन्द्रित गरी साहित्यिक पत्रिकाहरू प्रकाशन भए पनि ‘मुना’ पत्रिकाबाहेक अन्य कुनैले स्थायित्व पाउन सकेका छैनन् । 

राजधानीलगायत मुख्य सहरबाट प्रकाशित हुने केही समाचारपत्रले शनिबारको परिशिष्टांकमा बालबालिकाका लागि साहित्य सामग्री पस्किने गरेका थिए । तर कोभिडपछि ती परिशिष्टांक सबै बन्द भएको अवस्था छ । यसर्थ बालबालिकाका रुचिका साहित्यिक सामग्री प्रकाशित गर्न, प्रचार प्रसार गर्न र विद्यालय तथा आम अभिभावकमा सचेतना बढाउन जरुरी देखिएको छ । यसै विषयमा नेपाल बालसाहित्य समाजका अध्यक्ष प्राडा. ध्रुवकुमार घिमिरेसँग बालदिवसको सन्दर्भ पारेर रातोपाटीले गरेको कुराकानी :

–आफ्ना बालबालिकालाई बालसाहित्य सामग्री दिनुपर्छ भन्नेमा हाम्रा अभिभावक कतिको सचेत देख्नुभएको छ ? 

पहिले पहिले बालसाहित्यका सामग्री उपलब्ध थिएनन् । अहिले पनि दूरदराजमा बालसाहित्यका पुस्तक पुग्न सकेका छैनन् । पढ्नुपर्छ, पढाउनुपर्छ, बालबालिकालाई सुनाउनुपर्छ भन्ने अभिभावकको धारणा पूर्ण रूपमा विकसित भइसकेको छैन । यति हुँदाहुँदै पनि सरदर अभिभावकले बालसाहित्य पढाउनुपर्छ भन्ने सोच चाहिँ सहरिया र शिक्षित अभिवकमा सचेतना चाहिँ क्रमशः बढ्दो छ । पहिलेको तुलनामा केही प्रगति भएको छ । 

हाम्रो नेपाल बालसाहित्य समाजले पनि विभिन्न जिल्लामा कार्यक्रम गर्दा एउटा सेसन नै अभिभावकलाई बालसाहित्य किन पढ्नुपर्ने भनेर राख्छौँ । त्यसले पनि अलिकति जनजागरण ल्याएको छ । 

–नेपालमा बालसाहित्य सामग्रीको अवस्था कस्तो छ ?

अहिले बालबालिकालाई नै लक्षित गरेर प्रकाशित हुने पत्रिकाको खडेरी नै छ । गोरखापत्रको ‘मुना’बाहेक नियमित प्रकाशित हुने बालपत्रिका हामीसँग छैन । भर्खरै नेपाल प्रज्ञा प्रतिष्ठानले ‘बाल प्रज्ञा’ प्रकाशनको सुरुवात गरेको छ । ‘बालक’ भन्ने पत्रिका पनि बन्द भएको धेरै भयो । बालपत्रिकाहरूको एकदमै कमी छ । 

समय समयमा बालपत्रिकाहरू निस्कन्छन् तर दिगो हुन सकेको अवस्था छैन । दैनिक पत्रपत्रिकाहरूले पनि शनिबार केन्द्रित गरेर बालसामग्री प्रकाशित गर्थे, ५, ७ वटा पत्रिकाले बालबालिकाका सामग्री राखिदिँदा निकै सामग्री हुन्थे । तर त्यो स्थायी हुन सकेन । त्यो पनि कोभिडपछि बन्द भएको अवस्था छ । तसर्थ सञ्चारमाध्यमका क्षेत्रमा बालसाहित्य शून्य अवस्थामा छ । पुस्तक चर्चा, व्यक्ति चर्चा प्रौढको मात्र हुन्छ । बालबालिकाका लेखक र प्रतिभाका बारेमा सारै थोरै छन् । 

–बालपत्रिका भन्छौँ तर त्यसमा ८० प्रतिशत त प्रौढकै रचना हुन्छन् नि ?

बालबालिका आफैँले सिर्जना गरेका र प्रौढले बालबालिकाका लागि लेखेका गरी दुई किसिमका बालसाहित्य हुन्छन् । प्रौढले लेखेका बालबालिकाका लागि उपयोगी पनि हुन्छन् । यस्ता सिर्जना ६०, ७० प्रतिशत लेखिन्छ । बाँकी भने बालबालिका स्वयंले लेखेका रचनाहरू त्यहाँ प्रकाशित भएका हुन्छन् । यसले गर्दा यी दुईवटैको संयोजन चाहिँ बालपत्रिकामा हुँदै आएको छ । त्यो ठिकै पनि हो । किनभने धेरै कुरा बालबालिकाले प्रौढकै रचनाबाट सिक्छन् । त्यसैले बालसाहित्य भनेको बालबालिकाको मात्रै रचना होइन, बालबालिकालाई केन्द्रित गरेर लेखिएको प्रौढका रचना पनि हुन् । 

–बालसाहित्यमा बढी अर्ती उपदेश थोपरिन्छ भनिन्छ नि, सत्य के हो ? 

यो हामीकहाँ ज्यादै पुरानो रोग हो । २०६० सालसम्म अर्ती, उपदेश दिने खालका मात्र बालसिर्जनाहरू हुने गर्थे । त्यसपछि अलिकति परिवर्तन हुँदै आएको छ । बालसिर्जनामा अर्ती मात्र दिने होइन, उनीहरूको मनोविज्ञान पनि बुझेर सिर्जना गर्नुपर्छ भन्ने त्यसपछि आयो । बालसाहित्यसम्बन्धि विभिन्न विधाबारे चिन्तन मनन भए । सोहीअनुसार पुस्तकहरू लेखिए । उमेरअनुसारको साहित्य लेखिनुपर्छ भन्ने धारणाको विकास भयो । तर पनि पारम्परिक तरिकाले लेख्ने लेखकहरू भने उपदेशको धारबाट मुक्त हुन सकेका छैनन् । 

–सरकारले चाहिँ यो क्षेत्रमा के के गरेको छ ?

सरकारले ऋण नै भए पनि बाल पुस्तकालयका लागि ६ लाख रुपियाँ दिएको छ । तर दुर्भाग्य के भएको छ भने बालबालिकाका लागि चाहिने पुस्तक त्यहाँ पुगेका छैनन् । व्यापारीकरण भएको छ । एक लाखका अन्य किताब किनेपछि बाँकी एक लाखको त्यसै लैजानुस् भन्ने खालका पुस्तक खरिद गर्ने गरेको पाइन्छ । त्यसो हुनाले स्तरीय बालसाहित्यका पुस्तक विद्यालयमा पुगेका छैनन् । तुलनात्मक हिसाबले पाठ्यपुस्तकमा अलिअलि बालसाहित्य समावेश चाहिँ भएको छ । पाठ्यक्रम विकास केन्द्रले पनि ६०,७० वटा बालसन्दर्भ सामग्री प्रकाशन गरेको छ । तर नेपाल सरकारले दिनुपर्ने जति प्रोत्साहन दिएको भने छैन । 

–अहिलेका बालबालिका पढ्नभन्दा आफ्नो रुचिसँग सम्बन्धित युट्युब हेर्न बढी रुचाउँछन् तर अभिभावकले बन्देज लगाउँछन् । यो सही हो या गलत ?

युट्युबमा सबै सामग्री नराम्रै हुन्छन् भन्ने छैन । तर यो बालबालिकालाई भुलाउने माध्यम भइदियो । खाना खान मानेनन् भने युट्युब हेरेर खुवाउने रोगै छ अहिले । यो स्वास्थ्य अनि सन्देशको दृष्टिकोणले हानिकारक हो । तर त्यसको क्षतिपूर्ति चाहिँ केही इलेक्ट्रोनिक बालसाहित्य सामग्री पनि विकास गर्नुपर्ने हुन्छ । जसले गर्दा त्यसमार्फत पनि केही कुरा सिक्छन् । कार्टुनहरूमा पनि बालसाहित्यका सामग्री होस्, त्यसमा नेपालीपना होस् । 

अहिले बालबालिकाले धेरै विदेशी सामग्री मात्र हेर्छन् । सांस्कृतिकलगायत हरेक दृष्टिकोणबाट उनीहरू अपरिचित रहन्छन् । त्यसैले, केही बालसाहित्य सामग्री युट्युबमा पनि राख्नुपर्छ । युट्युबको रुचिलाई पछार्ने खालको बालसाहित्य सामग्री तयार पार्न सकियो र उनीहरूको हातमा पर्यो भने युट्युबतिर आकर्षित नहुन पनि सक्छन् । त्यसका लागि प्रयास आवश्यक छ ।  

–यसका लागि बालसाहित्य समाजको कस्तो योजना छ ? 

त्यो हैसियतमा बालसाहित्य समाज पुगेको छैन । बालसाहित्य समाज २०४४ सालमा स्थापना भए पनि यो सामाजिक संस्था हो । त्यसो हुँदा कुनै पनि किसिमको रकम यो संस्थामा छैन । तर समग्र बालसाहित्यमा कहाँनेर के समस्या छ, त्यसको पहिचान गर्छ । बालसाहित्यको प्रचार प्रसार गर्ने क्रममा शिक्षक, अभिभावक, बालबालिकाले किन अध्ययन गर्नुपर्छ भनेर उत्प्रेरणामूलक काम भने गर्छ । तर आफँैले उत्पादन गर्न सक्ने अवस्थामा छैन । 

हरेक भदौ २९ गते बालसाहित्य समाजले बालदिवस मनाउँदै आएको छ । यो बालबालिकाका लागि उत्सवको दिन हो । हामीले बालबालिकालाई कोभिडको महामारीमा पनि अनलाइनमार्फत् विभिन्न कार्यक्रम गर्यौँ । यसपटक पनि रुम टु रिड लगायतका संस्थासँग मिलेर नुवाकोटमा बालमहोत्सव गर्दैछौँ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।