शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कांग्रेसको हिसाबमा जसपाको १० सिटको अड्को

गठबन्धन बैठक पाँच दिन रोकियो
मङ्गलबार, २८ भदौ २०७९, २२ : ०४
मङ्गलबार, २८ भदौ २०७९

पाँच दलीय सत्ता गठबन्धन समानुपातिकतर्फको बन्दसूची पेस गर्नअघि प्रत्यक्षतर्फ सिट बाँडफाँट गर्न असफल भएको छ । मंगलबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक आगामी असोज ४ गतेसम्मका लागि स्थगित भएको हो ।

मंगलबारको बैठकपछि जसपाका नेता मनिष सुमनले भने, 'समानुपातिकतर्फको बन्दसूची तयार आन्तरिक गृहकार्य गर्न असोज ४ गतेसम्मका लागि गठबन्धन बैठक स्थगित भएको छ । यो चार दिन आ आफ्नो पार्टीमा आन्तरिक तयार हुन्छ । समानुपातिकको बन्दसूची तयार पारेर निर्वाचन आयोगमा पेस भएपछि फेरि छलफल सुरु हुन्छ ।'

निर्वाचन आयोगको २–३ असोजमा समानुपातिकतर्फको बन्दसूची पेस गर्ने समय सीमा तोकेको छ । बन्द सूची सच्याउने म्याद भने आगामी असोज १६ गतेसम्म तोकेको छ ।​ यस्तै २३–२६ असोजसम्ममा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको कार्यतालिका आयोगले सार्वजनिक गरिसकेको छ । तर गत साउन २० गतेदेखि सिट बाँडफाँटको गृहकार्यमा जुटेको सत्ता गठबन्धनमा  अहिलेसम्म कुनै ठोस सहमति भएको छैन ।

४० दिनसम्म सिट बाँडफाँटका लागि बालुवाटारमा २३ वटा बैठक बस्दा पनि सहमति हुन सकेको देखिन्छ । कांग्रेस शीर्ष नेता कृष्णप्रसाद सिटौला नेतृत्वको ११ सदस्यीय कार्यदल र गठबन्धनका शीर्ष नेताहरूको बैठक बसे पनि सिट सङ्ख्या समेत टुङ्गिएको छैन । कार्यदलमा सहमति नभएपछि राजनीतिक निर्णयमार्फत सिट बाँडफाँट टुङ्ग्याउन शीर्ष नेताको तयारी छ । तर निरन्तर छलफल पछि पनि शीर्ष नेता र कार्यदलका सदस्य सम्मिलित बैठकबाट पनि निकास निस्किएको छैन ।

गठबन्धनमा देखिएको समस्या के हो ?

सत्ता गठबन्धनको छलफलमा सहभागी एक नेताका अनुसार जसपाका कारण सिट बाँडफाँटमा समस्या पैदा भएको छ । नेताले भने, जसपाले जति मागेको छ , त्यति दिन सक्ने अवस्था नै छैन । १६५ मध्ये २५ सिटभन्दा तल नझर्ने जसपाको अडान छ । 

त्यसमा पछि जसपाले मधेस प्रदेशमा अस्वाभाविक माग राखेको ती नेताको भनाइ छ । 'जसपाले मधेस प्रदेशमा १० देखि १२ सिटसम्ममा चित्त बुझाएको अवस्थामा सिट बाँडफाँट मिल्न कुनै गाह्रो छैन । नभए जति छलफल गरे पनि कुरा मिल्दैन । निरन्तर ८ घण्टासम्म छलफल हुँदा पनि जसपाको अडानका कारण सिट बाँडफाँटले मूर्तरूप पाउन सकेको छैन,' ती नेताले भने । 

तर जसपा नेता मनिष सुमनले भने गठबन्धनमा कांग्रेस र माओवादीका कारण समस्या देखिएको बताए । उनले भने, 'जसपामा समस्या होइन । निकास हो । समस्या कांग्रेस र माओवादीका कारणले देखिएको हो ।'

चार दलीय गठबन्धनको चर्चा

जसपा लचिलो नभएपछि मुख्यतः कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच त्रिपक्षीय छलफलले तीव्रता पाएको छ । सत्ता गठबन्धनमा सिट बाँडफाँटमा चित्त नबुझाएर जसपा बाहिरिए पनि कांग्रेस, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबीचको तालमेलमा कुनै समस्या नहुने ती नेताको भनाइ छ ।

जसपाको समस्या कांग्रेससँग मात्र होइन । माओवादी र समाजवादीसँग पनि छ । 'माओवादी र समाजवादी गठबन्धनप्रति गम्भीर छन्,' ती नेताले भने, 'जसपाका नेताहरु घुर्की लगाइ राख्नु भएको छ । यति सिट नभए गठबन्धनमा बस्दैनौं, बस्नुको अर्थ छैन भनिराख्नु भएको छ ।'

सुरुवाती छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल केही एग्रेसिभ थिए । पछिल्लो समय एकीकृत समाजवादीका नेताहरु कुल हुँदै गएको बैठकमा सहभागी नेताहरूको भनाइ छ ।

कांग्रेसले राख्यो सहमतिको हिसाब

कांग्रेसले १६५ निर्वाचन क्षेत्रको सिट बाँडफाँटमा सहमतिका लागि पाँच दलीय हिसाब बैठकमा राखेको थियो । कांग्रेसले आफ्ना लागि ८८ सिटको हिसाब राखेको छ । ९० सिटलाई बटमलाइन बनाएको कांग्रेसले दुई सिट राष्ट्रिय जनमोर्चालाई छुट्याएको छ ।

यता बाँकी ७५ सिटमा माओवादी केन्द्रलाई ४५ मा मनाउने कांग्रेस रणनीति छ । बाँकी ३० सिटमा एकीकृत समाजवादी र जसपाले चित्त बुझाउनुपर्ने परिस्थिति बन्दै गएको कांग्रेस नेताहरूको बुझाइ छ । तर कांग्रेसले १००, माओवादीले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी राखेको छ । जनमोर्चाका लागि दुई सिट दिन गठबन्धनमा कुनै समस्या छैन । ती नेताका अनुसार कांग्रेसले १२ र माओवादीले १५ सिटमा दाबी छोड्ने परिस्थति बनेको छ ।

एकीकृत समाजवादीले पनि आधा जस्तै दाबी छोडेको अवस्था छ । तर जसपा भने दाबी गरेका मध्ये ७ सिट मात्र छोड्ने गरी प्रस्तुत भएको छ । जसपाले २५ सिटबाट थप १० सिट माइनस नगरी सिट बाँडफाँट नटुंगिने कांग्रेस नेताहरूको दाबी छ । जसपालाई मधेसमा १२ र प्रदेश १, बागमती र लुम्बिनीमा एक एक सिट गरी १५ सिट दिन कांग्रेस तयार छ । यसमा माओवादी पनि सकारात्मक नै छ । तर मधेसमा १८ र बाँकी प्रदेशमा ७ सिट पाउनुपर्ने जसपाको अडान छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप