शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

संयुक्त राष्ट्र संघीय निकायमा भारतले गर्यो श्रीलंकाको आलोचना, चीन बचाउमा

मङ्गलबार, २८ भदौ २०७९, १८ : ५५
मङ्गलबार, २८ भदौ २०७९

छिमेकी मुलुक भारत र श्रीलंकाबीच सम्बन्ध पहिलेदेखि सामान्य रहेको भए पनि पछिल्ला केही वर्षयता त्यहाँ बढेको चिनियाँ लगानीका कारण दुई मुलुकबीचको सम्बन्धमा चिसोपन बढ्दै गएको थियो ।
गत महिना चिनियाँ युद्धपोत ‘युआन वाङ ५’ श्रीलंका पुगेपछि भारत र श्रीलंकाबीचको सम्बन्धमा थप चिसोपन आएको छ ।

श्रीलंकाको हम्बनटोटा बन्दरगाहमा युद्धपोत आउने कुरामा पहिले नै भारत सरकारले सार्वजनिक रुपमा चिन्ता र असन्तुष्टि व्यक्त गरेको थियो । यसका बावजुद श्रीलंका सरकारले यो युद्धपोतलाई हम्बनटोटामा आउने अनुमति दियो । यसले भारत श्रीलंकाप्रति रुष्ट भएजस्तो छ ।

यसको एक दृष्टान्त सोमबार देखियो जब, भारतले श्रीलंकाका तमिल समुदायको मानव अधिकारको विषय उठाएर संयुक्त राष्ट्रसंघको मानवअधिकार निकाय(यूएनएचसीआर)मा श्रीलंकाको आलोचना गर्यो । 
श्रीलंकाले आफ्नो प्रतिरक्षामा मानव अधिकारको संरक्षण र विकासमा आफूले निरन्तर काम गरिरहेको बतायो ।

चीनले पनि यस विषयमा श्रीलंकाको प्रतिरक्षा गरेको छ । उसले भारतको नाम नलिई मानव अधिकारको नाममा श्रीलंकाको आन्तरिक मामिलामा हस्तक्षेपको आफूले विरोध गर्ने प्रतिक्रिया दिएको छ । भारतले श्रीलंकामा बसोबास गर्ने तमिल समुदायको स्थितिबारे चिन्ता व्यक्त गर्दै उनीहरुविरुद्धको जातीय विभेदलाई सम्बोधन गर्न श्रीलंकाले विगतमा गरेको वाचा पालना नगरेको आरोप लगायो । संयुक्त राष्ट्र संघीय मानव अधिकार उच्च आयोगको जेनेभास्थित मुख्यालयको लागि भारतका स्थायी प्रतिनिधि इन्द्रमणि पाण्डेयले श्रीलंकाली तलिम समुदायको कुरा उठाएका थिए । 

उनले तलिम समस्या सम्बोधन गर्न श्रीलंकाको संविधानको १३ औँ संशोधनमार्फत प्रदेश परिषद्लाई अधिकार दिने वाचा गरे अनुरुप जतिसक्दो चाँडो प्रादेशिक परिषद्को निर्वाचन गराउनु पर्ने बताए । श्रीलंकाले भने जवाफमा अहिले देशको मुख्य प्राथमिकता अर्थतन्त्रलाई सही मार्गमा ल्याउनु भएको बतायो । साथै उसले श्रीलंकाली जनताको मानवअधिकार पनि आफ्नो प्राथमिकतामा रहेको बतायो । 

चीनको प्रतिक्रिया 
भारतले अन्तराष्ट्रिय फोरममा श्रीलंकालाई प्रश्नको घेरामा पारेपछि चीन श्रीलंकाको प्रतिरक्षामा अघि आएको छ । संयुक्त राष्ट्र संघका लागि चीनका स्थायी प्रतिनिधि चेन सुले ट्विट गर्दै लेखेका छन् ,‘ मैले श्रीलंकाको सार्वभौमसत्ता र स्वतन्त्रताको रक्षाको पक्षमा बलियो समर्थन व्यक्त गरेको छु । म सबै पक्षहरुलाई उनीहरूले अधिकारको सम्मान गर्न आग्रह गर्दछु । श्रीलंकाले स्वतन्त्रतापूर्वक विकासको बाटो रोज्नेछ।

भारत–श्रीलंका सम्बन्धलाई पछ्याउने विश्लेषकहरूले श्रीलंकाप्रति भारतको बदलिएके बोलीलाई चासोका साथ हेरिरहेका छन् । किनकि श्रीलंकाली तलिम समुदायको मानव अधिकारबारे उल्लेख गरिएको बयानमा भारतले ‘श्रीलंकाको वर्तमान संकटले ऋणमा आधारित अर्थतन्त्रको सीमालाई उजागर गरेको छ र यसको प्रभाव जीवनस्तरमै परेको’ भनेको छ  । विश्लेषकहरूले यहाँ भारतले नाम नलिए पनि उसको संकेत चीनतर्फ रहेको औंल्याइरहेका छन् ।

भारत सरकारले लामो समयदेखि श्रीलंकामा बसोबास गर्ने तमिल समुदायको समस्याको राजनीतिक समाधानका लागि श्रीलंका सरकारलाई दबाब दिइरहेको छ । बीचमा उसले यो विषय उठाएको थिएन । तर चिनियाँ युद्धपोत ‘युवान वाङ ५’ लाई देशको हम्बनटोटा बन्दरगाहमा रोक्ने अनुमती दिएपछि श्रीलंकाप्रति भारतको अडानमा बदलाव आएको शंका गर्न थालिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप