बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

जग्गा प्राप्तिको अनुमतिलगत्तै प्रादेशिक संरचना निर्माण थालिने

मङ्गलबार, २८ भदौ २०७९, १५ : ४७
मङ्गलबार, २८ भदौ २०७९

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले संघीय सरकारबाट जग्गा प्राप्तिको अनुमति पाउनेबित्तिकै हेटौंडाको हटियामा प्रादेशिक संरचना निर्माणको काम सुरु गरिने बताएका छन् । मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले संघीय सरकारबाट जग्गा प्राप्त हुनासाथ प्रादेशिक संरचना अन्तर्गतका मुख्यमन्त्री कार्यालय, मन्त्रालयहरू र संसद भवन लगायतका कार्यालयहरूको समेत निर्माण सुरु गरिने बताएका हुन् ।

उक्त कार्यका लागि प्रदेश सरकारले हेटौंडाको हटियामा ५५ बिगाहा क्षेत्रफलको जग्गा भोगाधिकारको लागि संघीय सरकारसंग अनुमति माग गर्दैै निवेदन पेश गरिसकेको छ । सो विषय प्रक्रियामा नै रहेकाले केही समयमा नै संघीय सरकारले भोगाधिकारको अनुमति दिने र काम सुरु गरिने उनले बताए । ‘हामीले प्रदेशको सिंहदरबार बनाउने हेटौंडाको हटिमा ५५ बिगाहा जग्गा अवलोकन गरेर संघ सरकार संग भोगाधिकारको अनुमति लिन चिठी पठाइसकेका छौँ । उक्त कार्य प्रक्रियामा नै रहेको छ । केही समयमा नै भोगाधिकार प्राप्त हुन्छ । त्यसपछि सो जग्गामा प्रदेशको सिंहदरबार बनाउने काम थाल्छौं,’ मुख्यमन्त्री पाण्डेले भने ।

प्रदेश सरकार मातहतमा जग्गा आएलगत्तै एकै स्थानमा मन्त्रालय र संसद भवन पनि निर्माण गर्ने तयारीका लागि डिजाइन एण्ड विल्ट अवधारणाका साथ संरचना निर्माणको ठेक्का प्रक्रियाको काम अगाडि बढेको उनले बताए । उक्त कार्यका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा १ अर्ब ५ करोड रुपैयाँ बजेट छुट्याइएको बताए । ‘हामीले प्रदेशको सिंहदरबार बनाउन चालु आर्थिक वर्षमा १ अर्ब ५ करोड रुपैयाँ बजेट छुट्याएका छौं । यो बजेट पर्याप्त होइन । तै पनि काम सुरु गर्नका लागि सहज हुन्छ । अब डिपिआर र निर्माणको काम समेत गर्नेगरी एकै पटक ठेक्का मार्फत काम गर्ने तयारीमा छौं,’ उनले भने ।

सो स्थानमा ठुलो क्षेत्रफल भएकाले नेपाल प्रहरीका कार्यालय, सशस्त्र प्रहरी र अरु कार्यालयहरु पनि निर्माण गर्न सहज हुने भएकाले यो जग्गा प्राप्तिका लागि संघीय सरकारसंग निरन्तर पहलको काम भइरहेको मुख्यमन्त्री पाण्डेले बताए । मुख्यमन्त्री पाण्डेले भूकम्प र बाढी पहिरोका कारणबाट पीडित हुँदै आएको मेलम्ची क्षेत्रको संरक्षणमा प्रदेश सरकार गम्भीर रहेको समेत बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप