सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

नेपालमा प्रत्यक्ष विदेशी लगानीका कम्पनीको नाफा घट्यो

मङ्गलबार, २८ भदौ २०७९, १५ : ३८
मङ्गलबार, २८ भदौ २०७९

नेपालमा लगानी गरेर उद्यम व्यवसाय गरिरहेका प्रत्यक्ष विदेशी लगानीका कम्पनीको नाफा घटेको छ । आर्थिक वर्ष २०७७/७८ मा गरिएको एक अध्ययनले प्रत्यक्ष वैदेशिक लगानीमा संचालित उद्योग व्यवसायको नाफा कम देखिएको हो ।

नेपाल राष्ट्र बैंकले गरेको अध्ययनले यस्तो तथ्य देखाएको हो । आर्थिक वर्ष २०७७/७८ मा प्रत्यक्ष वैदेशिक लगानीमा संचालित कम्पनीहरुले औसतमा १४.७ प्रतिशत नाफा गरेको पाइएको छ । जबकि आर्थिक वर्ष २०७६/७७ मा यस्तो नाफा १५.६ प्रतिशत थियो । एक वर्षको अन्तरालमा प्रत्यक्ष वैदेशिक लगानीमा संचालित कम्पनीहरुको नाफा औसतमा १ प्रतिशतले कम भएको तथ्यांकले देखाएका छ ।

राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये कुल १९७ वटा कम्पनीको नमूना छनौट गरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्क तथा अन्य विवरणको विश्लेषणका आधारमा ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७७/७८’ तयार पारेको हो ।

राष्ट्र बैंकका अनुसार नेपालमा आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात अघिल्लो वर्षको तुलनामा १४.८ प्रतिशतले वृद्धि भई २ खर्ब २७ अर्ब ९५ करोड रुपैयाँ कायम रहेको छ । कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५३.९ प्रतिशत, सञ्चितिको ३१.६ प्रतिशत र कर्जाको अंश १४.५ प्रतिशत रहेको छ । चुक्ता पुँजीको अंश १३.७ प्रतिशतले बढेकोले कुल प्रत्यक्ष वैदेशिक लगानीमा वृद्धि भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तसम्ममा नेपालमा ५५ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ । जसमध्ये, भारतबाट सबैभन्दा बढी अर्थात् ७५ अर्ब १ करोड रुपैयाँ र त्यसपछि क्रमशः चीनबाट ३३ अर्ब, आयरल्याण्डबाट १६ अर्ब ४ करोड, सिङ्गापुरबाट १५ अर्ब ४८ करोड र सेन्ट किट्स एण्ड नेभिसबाट १४ अर्ब ५१ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी रहेको देखिएको छ । सो वर्षमा वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीको क्षमता उपयोग ६४.९ प्रतिशत रहेको पाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप