आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

कांग्रेसले ४ वटा क्षेत्रमा भाग पाउनुपर्छ : उपाध्याय

मङ्गलबार, २८ भदौ २०७९, १५ : २९
मङ्गलबार, २८ भदौ २०७९

नेपाली कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्यय ‘डिना’ ले आगामी निर्वाचनमा मकवानपुरको ६ मध्ये ४ वटा क्षेत्रमा कांग्रेसले भाग पाउनु पर्ने बताएकी छिन् । मंगलबार हेटौंडामा आयोजित एक कार्यक्रममा बोल्दै सह–महामन्त्री डिनाले कांग्रेसले आगामी निर्वाचनमा मकवानपुरमा प्रतिनिधिसभाको एक र प्रदेशसभाको ३ वटा गरी ४ वटा क्षेत्र आफुहरुले भाग पाउनुपर्ने बताएकी हुन् ।

सत्ता गठबन्धनमा भागबण्डा हुँदा मकवानपुरको २ वटा क्षेत्र भने अन्य दलहरूलाई छोड्न तयार रहेको उनको भनाइ छ । सहमहामन्त्री डिनाले मकवानपुरमा शक्ति सन्तुलनको हिसाबले पनि आफूहरुले कांग्रेसले प्रतिनिधिसभाको १ र प्रदेशसभाको ३ क्षेत्रमा दावी रहने र सोही अनुसार गठबन्धनमा भाग पाउनु पर्ने बताइन् ।

‘आगामी निर्वाचनमा केन्द्रमा हामीले पाउने एउटा नै हो । प्रदेशमा भने हामी धेरै लिने प्रयत्नमा छौं,’ उनले भनिन्, ‘हामीले केन्द्रमा एउटा लिन्छौ भने प्रदेशमा ४ वटा मध्ये ३ वटा पाउनुपर्छ । त्यस विषयमा समझदारी हुनुपर्छ । शक्ति सन्तुलनको हिसाबले पनि हामीले दावी गरेको ३ क्षेत्रमा भाग पाउनु पर्छ ।’

अन्य दलहरुले पनि संघ र प्रदेशमा आ–आफ्नो दावी गरेका कारणले सो विषयमा केन्द्रीय गठबन्धनको बैठकमा छलफल हुने उनको भनाई छ । ‘अहिले गठबन्धन गर्ने विषयमा छलफल मात्र सुरु भएको हो । भागबण्डा र जिल्ला स्तरको कुरा अघि बढ्न बाँकी नै छ । सो विषमा केही समय पछि छलफल हुन्छ । तर मकवानपुरमा कांग्रेसको दावी चार क्षेत्र रहन्छ,’ उनले भनिन् ।

सह–महामन्त्री उपाध्यायले काँग्रेसभित्र कुनै पनि अन्तर विरोध नरहेको भन्दै आगामी निर्वाचनमा सक्रिय ढंगबाट काँग्रेस र गठबन्धन जिताउन सबै मिलेर अघि बढ्ने बताइन् । उनले कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादु्र बानियाँसँगको बाहिर सार्वजनिक भए अनुसारको अन्तर विरोध नरहेको र मिलेर नै अघि बढिरहेको बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप