शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

आरोप लागेकै भरमा अपराधी ?

मङ्गलबार, २८ भदौ २०७९, १४ : ४०
मङ्गलबार, २८ भदौ २०७९

यो लेखको सुरुवात एउटा सत्य घटनाबाट गरौं । उमेर पुगेका दुई जना युवा युवती बीचमा प्रेम हुन्छ । क्याम्पस पढ्दाखेरी सुरु भएको उनीहरुको सम्बन्ध घनिष्ठ हुँदै जान्छ । उनीहरु बीच विवाह गर्ने सम्झौता पनि हुन्छ र पटक पटक सहमतिमै शारीरिक सम्बन्ध हुन्छ । यसै बीचमा युवकले एमबीबीएसमा नाम निकालेकाले पढ्नको लागि विदेश जानुपर्ने भयो ।

अब युवतीले युवकमाथि दवाब बढाउन थाल्छिन् । करिव ५ बर्षको अन्तरालपछि मात्रै नेपाल फर्किने भएपछि युवतीको मनमा चिसो पस्छ । त्यसैले, बिहे गरेर मात्रै बिदेश जान दवाव दिन्छिन् ।

तर युवकले पढाई पुरा गरेर बिहे गरौला भनी आग्रह गर्दै अहिल्यै बिहे गर्न नसक्ने जवाफ दिन्छन् । त्यसपछि उनीहरुको बीचमा खटपट सुरु हुन्छ, विवाद बढ्दै जान्छ । विवादले उग्र रुप लिएपछि बद्लावको भाव पैदा हुन्छ र युवतीले आफूमाथि जबरजस्ती करणी भएको भनी प्रहरीमा उजुरी लिएर जान्छिन् । युवक पक्राउ पर्छ र मुद्दा अदालतसम्म पुग्छ । युवकले आफूहरुबीच प्रेम सम्बन्ध रहेको र राजीखुशीले नै शारीरिक सम्पर्क हुने गरेको भनी बयान दिन्छन् ।

तर अदालतले युवकलाई पुर्पक्षका लागि कारागार चलान गर्छ। लामो अनुसन्धानपछि मुद्दा फैसला हुन्छ । अदालतले उनीहरुबीच सहमतिमै शारीरिक सम्पर्क भएको ठहर गर्छ र युवकलाई सफाई दिन्छ ।

उक्त फैसलाले युवक थुनाबाट मुक्त भएपनि जीवनलाई अनिश्चयको भूमरीमा लगेर छोडिदिन्छ । उनले जीवनलाई पुरानो लयमा अगाडि बढाउन सकेनन् । उनको एमबीबीएसको अध्ययनको लागि विदेश जाने कार्यक्रम रद्ध भैसकेको थियो । डाक्टर पढ्ने सपना बीचमै तुहिएको थियो ।

यस बीचमा उनलाई समाजले घृणाको नजरले हेरिरह्यो । उनको घरपरिवारका सदस्यले पीडा र तनाव बेहोरीरह्यो । समाजको नजरमा उनको परिवार बलात्कारीको परिवार थियो। पीडितको नाम गोप्य रह्यो, उजुरी गर्नेदेखि मुद्दा फैसला हुँदासम्म पीडित को हुन् भन्ने थाहा भएन । नक्कली पीडितलाई समाजले चिनेन । तर निर्दोष युवकलाई समाजले बलात्कारीको ट्याग भिराइरह्यो । घृणाको नजरले हेर्यो र अन्तिममा करियरमा समेत ब्रेक लाग्यो । यसको क्षतिपूर्ति कसले दिने ? 

यो त एक प्रतिनिधिमूलक घट्ना मात्रै हो । यस्ता कैयन् घट्ना छन् । कानून जुन किसिमको विकृति र अपराधलाई नियन्त्रण गर्न बनेको हुन्छ, सोही प्रयोजनको लागि मात्रै कानूनको प्रयोग गरियो भने कानूनको शाख झल्किन्छ र न्यायालयको गरिमा उच्च हुन्छ । जब कानूनमाथि जासूसी र खेलवाड गर्न थालिन्छ, तब वास्तविक पीडितहरु झन अन्यायमा पर्छन् ।

आफ्नो स्वार्थपूर्तिको हतियार कानूनलाई बनाइनु हुँदैन । कानूनको आडमा कसैको जीवनमाथि खेलवाड गर्ने कुरा कुनैपनि दृष्टिकोणले सही हुन सक्दैन । महिला र बालिकामाथि हुने दर्दनाक यौनजन्य अपराधलाई रोक्न कडा कानूनको निर्माण गरियो । कुनै पनि छोरीचेलीहरुप्रति यौन हिंसा नहोस्, अकालमै ज्यान गुमाउन नपरोस्, बलात्कार जस्तो दर्दनाक घट्नाको शिकार हुन नपरोस् भन्ने सोचका साथ दिनप्रति दिन कडा कानून बनाउँदै लगियो ।

बलात्कारमा उजुरी गर्ने हदम्याद बढाइयो । यति हुँदाहुँदै पनि जब वास्तविक पीडितले न्याय नपाउने र नक्कली पीडितहरुले व्यक्तिगत स्वास्थपूर्तिको लागि मौजुदा कानूनको दुरुपयोग गर्ने हो भने कानून परिमार्जनको आवाज नउठ्ला भन्न सकिन्न । यसको प्रत्यक्ष असर वास्तविक पीडितलाई पर्न जाने देखिन्छ ।

गोपनीयता पीडितको मात्रै हुँदैन । आरोप लागेकै आधारमा कसैलाई दोषी नजरले हेर्न मिल्दैन ।  उसको पनि मान, प्रतिष्ठा र इज्जत हुन्छ । उसले पनि भोलि त्यही समाजमा बस्नुपर्छ । लामो समयसम्म बलात्कारीको ट्याग भिरेर प्रताडित भएको मान्छे कसरी समाजमा सजिलै पुस्र्थापित हुन्छ ? 

हाम्रा कानून समय र परिस्थितिअनुसार परिवर्तन हुँदै जान्छन् । कुनै समय पीडितमैत्री कानून भएन, पीडितका पक्षमा कानून बन्नुपर्छ भन्ने आवाज उठ्यो र सोहीअनुसार कानून पनि संशोधन भयो । अपराध पीडितको हकसम्बन्धि छुट्टै ऐन नै ल्याइयो । पीडितको गोपनीयता कायम गर्नेबारे छुट्टै कानून बनाइयो ।

संशोधित ऐनअनुसार हाम्रो समाजले घृणा र चरित्रहीनको नजरले हेर्ने बलात्कारसम्बन्धि मुद्दामा पीडितको नाम पूर्णतया गोप्य हुन्छ । तर आरोपितको नाम, थर, ठेगाना, बुवा, बाजे समेतको तीनपुस्ता नै सार्वजनिक गरिन्छ ।

हामीले देखेका छौँ, बलात्कारका कैयन् मुद्दामा अभियुक्तले सफाई पाएका छन्, निर्दोष साबित भएका छन् । सफाई पाएर एकछिन त राहतको सास फेर्लान् तर वर्षौसम्म आरोपित र तिनका घर परिवारले व्यहोरेको तनाव,  हैरानी, पीडा र आत्मग्लानीको क्षतिपूर्ति कसले दिन्छ ? 

आफ्नो करियर बनाउने लक्ष्यमा तल्लीन रहेको कुनै युवा यो घट्नाले कसरी पुरानै लयमा फर्किन सक्छ ? पक्कै पनि उसको जीवन पुरानै लयमा फर्किन सक्दैन । उसका जोश जाँगर पुरानो जस्तो हुँदैन । प्रताडित भएर बाहिर निक्लेको मान्छेको जीवन पुरानै लयमा फर्काउन धेरै मुस्किल पर्दछ । यसको क्षतिपूर्ति कसले दिने ?

तर अहिले परिस्थिति अलि फरक बन्दै गइरहेको छ । सहमतिमा भएका कतिपय यौनसम्बन्धहरु कुरा नमिलेपछि बलात्कारको रुपमा दर्ता हुने गरेका छन् । थुप्रै निर्दोष युवकहरुको भविष्य धरापमा पर्ने गरेको छ । विभिन्न लाञ्छना र प्रताडनाको शिकार हुन पुगेका छन् ।

कतिपय बलात्कारका मुद्दाहरु व्यक्तिगत स्वार्थ, प्रतिशोध र ईष्र्याका कारणले दर्ता हुने गरेका छन् । अब यस्ता संवेदनशील मुद्दामा आरोपितको गोपनीयता र करियरको बारेमा पनि सोच्नुपर्ने बेला आएको छ । एउटा आरोपकै भरमा देशका होनहार युवाहरुको भविष्य धरापमा पार्ने कुरा राष्ट्रकै लागि पनि हितकर हुन सक्दैन ।  

लेखक नेपाल सरकारका कानून अधिकृत हुन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप