बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

५५ देशबाट नेपालमा प्रत्यक्ष वैदेशिक लगानी, ६०.५ प्रतिशत औद्योगिक क्षेत्रमा

मङ्गलबार, २८ भदौ २०७९, १४ : १९
मङ्गलबार, २८ भदौ २०७९

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ को प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को सर्वेक्षण तथ्याङ्क सार्वजनिक गरेको छ । मंगलबार सर्वेक्षण तथ्याङ्क सार्वजनिक गर्दै बैंकले ५५ देशबाट नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको जनाएको हो । 
२०७८ असार मसान्तसम्मको तथ्याङ्कका आधारमा सबैभन्दा बढी भारतबाट ७५ अर्ब ८१ करोड रुपैयाँ लगानी भित्रिएको बैंकले जनाएको छ । यसपछि क्रमशः चीनबाट ३३ अर्ब, आयरल्याण्डबाट १६ अर्ब ४८ करोड, सिङ्गापुरबाट १५ अर्ब ४८ करोड र सेन्ट किट्स एण्ड नेभिसबाट १४ अर्ब ५१ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी रहेको देखिएको बैंकको तथ्याङ्कले देखाएको छ । 

आर्थिक वर्ष २०७७/७८ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये कुल १९७ वटा कम्पनीको नमूना छनौट गरी बैंकले सर्वेक्षण गरेको थियो । सर्वेक्षणबाट प्राप्त नतिजाअनुसार नेपालमा आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात अघिल्लो वर्षको तुलनामा १४.८ प्रतिशतले वृद्धि भई २ खर्ब २७ अर्ब ९५ करोड रुपैयाँ कायम रहेको समेत बैंकले जनाएको छ । कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५३.९ प्रतिशत, सञ्चितिको ३१.६ प्रतिशत र कर्जाको अंश १४.५ प्रतिशत रहेको छ । चुक्ता पुँजीको अंश १३.७ प्रतिशतले बढेकोले कुल प्रत्यक्ष वैदेशिक लगानीमा वृद्धि भएको हो ।

६०.५ प्रतिशत लगानी औद्योगिक क्षेत्रमा
बैंकको सर्वेक्षण रिपोर्ट अनुसार कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये ६०.५ प्रतिशत औद्योगिक क्षेत्रमा मात्र आएको देखिएको छ । यस्तै, ३९.४ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिन्छ । औद्योगिक क्षेत्रअन्तर्गत जलविद्युतको क्षेत्रमा ३०.८ प्रतिशत र उत्पादन क्षेत्रमा २९.५ प्रतिशत वैदेशिक लगानी रहेको देखिन्छ । यसैगरी, कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २६.९ प्रतिशत सेवा क्षेत्रअन्तर्गत बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूमा रहेको छ ।

समीक्षा वर्षमा वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीको क्षमता उपयोग ६४.९ प्रतिशत रहेको र नाफाको दर करिब १४.७ प्रतिशत रहेको पाइएको बैंकले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप