शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेतृत्वको विकल्प किन नखोज्ने ?

मङ्गलबार, २८ भदौ २०७९, १२ : २७
मङ्गलबार, २८ भदौ २०७९

कैयौं वर्षदेखि राजनीतिक दलहरूको गतिविधिकै कारण जनता आजित छन् । जताततै एउटै गुनासो, एउटै नैराश्यता अनि एउटै आरोप सुनिन्छ– देशको यो हालतको जिम्मेवार यहाँका नेता हुन्, कार्यकर्ता हुन् । यिनीहरूले नै देश बिगारे ।

माथिको भनाइमा आंशिक सहमत हुन सकिएला तर पूर्ण सहमत हुन पक्कै सकिंदैन । किनभने नेता भनेका कुनै अर्कै ग्रहबाट आएका ‘एलियन’ होइनन् कि जो अचानक प्रकट भएर हामीमाथि शासन गरून् ।

यी त हाम्रै समाजका सह–उत्पादन हुन् । तपाईं हाम्रै प्रतिनिधि अनुहार हुन् र तिनीहरूलाई जन्माउने हुर्काउने र मदमस्त हात्ती बनेर मात्तिने आधार प्रकट गर्ने स्वयम् हामी नै हौं । कुनै तेस्रो ग्रहको अदृश्य शक्तिले होइन । दोषी म हो, तपाईं हो र हामी सबै हौं ।

हाम्रो दुर्भाग्य हामीले नेता त जन्मायौं तर एउटा पनि राजनेता जन्माउन सकेनौं । शासक जन्मायौं तर एउटा पनि कुशल प्रशासक जन्माउन सकेनौं । स्वार्थी नेता मात्रै जन्मायौं । घुम्ने कुर्सीमा जन्मजात तानाशाह भएर कोही जन्मँदैन । तिनीहरूलाई त्यो स्थानमा पुर्याउने हामी हौं, मोहनदासलाई गान्धी बनाउने हामी हौं । आखिर दोष तपाईं हाम्रो पनि छ ।

दुर्गम झुपडीमा जन्मेर सिंहदरबारको कुर्सीमाथि विराजमान गराएर श्री ८ बनाउने पनि हामी नै हौं । टोल टोलमा टोलेराजा जन्माएर पिर्के सलामी दिने पनि हामी नै हौं ।

उनीहरूको झोला बोकेर, चाप्लुसी गरेर, हरेक गल्तीलाई सही भन्दै अन्धभक्त समर्थक भएर तिनीहरूभित्र सुतेको जंगबहादुर जन्माउने पनि हामी नै हौं । हिटलर, मुसोलोनी जन्माउने हामी हौं ।

सही व्यक्ति, सही स्थान छनोट गर्न नसकेर गलत व्यक्तिलाई सत्तामा पुर्याउने अनि बर्बाद गर्यो, सखाप गर्यो भनेर आँसु बगाउने पनि हामी नै हौं । दोषी नेताहरू होइनन्, प्रमुख दोषी हामी हौं, जसले प्रजातान्त्रिक संस्कारमा व्यक्ति चुन्न पाउने अधिकारको सही प्रयोग गर्न जानेनौं र अनुपयुक्त पात्रलाई अनुपयुक्त स्थानमा चुनेर पठायौं ।

कसरी भन्न सक्छौ नेताले बिगार्यो देश भनेर ? देश बिगार्ने, भ्रष्टाचार गर्ने, देशको भूगोल बेच्ने दुस्साहस कसरी पैदा भयो नेतामा ? अर्को मुसोलिनी कसरी जन्मियो नेताभित्र ? गोयबल्स शैलीका हामीहरूको क्षमताले महात्मा गान्धी कहिल्यै जन्मिन्नन् । हामीले जन्माउने भनेको हिटलर हो र अहिलेसम्म जन्माएका पनि हिटलर नै छौं । कुन नैतिकताले आरोप लगाउँछौं मात्र नेता कार्यकर्तालाई ? , आफू पानीमाथिको ओभानो बनेर बस्छौ ?

कागतीको बिरुवा रोप्छौं अनि कराउँछौं आँप किन फलेन भनेर ? सिस्नु रोप्छौं अनि गाली गर्छौं गुलाब किन फुलेन भनेर ? रोप्नुभन्दा पहिले सोचेनौ कि तिमी के रोप्दैछौं ? तिमीलाई थाहा छैन ? जे रोप्यो त्यही फल्छ, यो प्रकृतिको नियम हो । यो कुरासम्म हामीले बुझ्न सकेनौं भने अरुलाई सरापेर हुन्छ ? नेतालाई गाली गरेर हुन्छ ?

देश भनेको घर हो । कहिले सोच्यौ घर बनाउने गलत मिस्त्री छनौट गर्दा के हुन्छ ? गलत मिस्त्री छनौट गरेर घरको छानोको जिम्मा दिने अनि त्यही छानो भत्केर घाइते हुने हाम्रो नियति हो । र, यो नियति हामी वर्षौदेखि भोगिरहेका छौं । ठोकेरै भन्छु, अझै कैयौं वर्ष भोग्ने पनि छौं, त्यति बेलासम्म जबसम्म हाम्रो चेतनाको दियो बल्दैन । त्यति बेलासम्म जबसम्म हामीभित्र स्वाभिमानी नागरिक जन्मिंदैन ।

कुन इतिहासमा लेखिएको छ, हामीलाई अरुले बनाएर दिन्छ भनेर ? जे बनाउनु छ आफैं बनाउनु छ । जे रोप्नु छ आफैं रोप्नु छ र जुन बीउ रोप्यौं, त्यसैको फल काट्नु छ । दोषी कुनै सती होइनन् । न त सतीले सरापेको नेपाल खाल्डो नै हो । दोषी तिमी, दोषी म, दोषी हामी हौं । हाम्रो चरित्र दोषी हो । हाम्रो चेतनास्तर दोषी हो । हाम्रो चाकरीबाज अनि शक्ति । सत्ताको ‘जी–हजुरी’ गर्न बेचिएको नैतिकता दोषी हो । नेताहरूलाई दोष दिनुभन्दा अगाडि किन सोच्दैनौं हामी ? एकपटक होइन, बारम्बार गलत छनौट किन ? एक पटकको धोकाले नचेतेर बारम्बारको धोका किन ?

थाहा छ फोहोर भइसक्यो, गन्हाइ सक्यो । तैपनि त्यही बासी सडेगलेको अचारमा झिंगाजस्तै भन्किरहने हामी किन ? कहिलेसम्म हामी झोले भनेर बस्ने ? कहिलेसम्म पार्टीका हनुमान छाप भएर जिन्दगी बिताउने ? कहिलेसम्म भ्रष्ट नेताहरूका धूर्त पासाहरूको शकुनी खेल हेरेर रमाउने ? हामीले बुझिसक्यौं यी भ्रष्टहरूबाट देश बन्दैन । फेरि किन यिनै धृतराष्ट्रहरूको जिम्मा लगाउँछौं आफ्ना सपना, रहर र सन्तानका भविष्य ?

दोषी कोही एकजना होइन । दोषी हामी सबै हौं । ज–जसले यी भ्रष्टहरूलाई देश बनाउने जिम्मेवारी दियौं, समर्थक बन्यौं । थाहा थियो, यी आफू बन्नेछन् तर देश बन्ने छैन । आफू बाँच्ने छन् तर देश हार्नेछ । आफू जिउने छन् तर हाम्रा सपना मार्ने छन् । आज पनि त्यही देखाए फेरि हाम्रै सपनाहरूको सामूहिक चिहानमा उभिएर फेरि हाम्रै घरदैलोमा आइसकेका छन् भोट माग्न, चुनाव जित्न । धूर्त ओठहरू बाहिर कृत्रिम मुस्कुराहट बोकेर, गुलाफको फूलभित्र छुरा लुकाएर । तैपनि हामी यिनीहरूमाथि नै भरोसा गर्नेछौं । जिम्मेवारी दिनेछौं, आफ्नो रोएको भूतकाल र रुँदै गरेको वर्तमान सजाउन ।

बाजे बराजुको पालादेखि देख्दैछौं कहिल्यै घर बनाएनन् यी आधुनिक नेताले । अनि भित्रभित्र बुझेका पनि छौं, यिनीहरूको हातबाट हाम्रो सुन्दर घर कहिल्यै बन्दैन पनि । तैपनि एक पटक होइन, बारम्बार उनीहरूलाई नै अख्तियारनामा दिएर पठाउँछौं । आखिर किन ?

फेरि उनीहरुकै सपनाभित्र हाम्रो घर बनाउने, हाम्रो जिन्दगीमा सुख समृद्धि ल्याउने सपना देख्छौं । फूलमाला लगाएर पठाउँछौं । अरु धेरै धेरै नेताहरूको ठूलो हुलमा नयाँबानेश्वरतिर तर ऊ सत्ताको सिंहासनमा हराउँछ । मदहोस भएर श्रीपेच लगाएर बस्छ । चिन्दैन हामीहरूलाई । गन्दैन कसैलाई । आफू हिँडेको आँगन बिर्सिन्छ र आफू अडेको जमीन चिन्दैन । आखिर कहिलेसम्म यी नेताहरूको विश्वासमा आफ्नो भविष्य तहसनहस गर्ने हामी ?

भूतकाल बर्बाद भएको छ । वर्तमानको अत्तोपत्तो छैन । भविष्य अन्धकारमय छ । अव त किन विकल्प नखोज्ने हामी ? आजको आवश्यकता भनेको झूटो नारा र उग्र राष्ट्रवाद होइन । खानेपानी हो, स्तरीय विद्यालय हो, बाटोघाटो हो, स्वास्थ्य हो । कसैले अकालमा मर्न नपरोस् । एउटा उचित अस्पताल होस् । हिँड्न लायक सडक र गुड्नलायक आँगन होस् । स्तरीय खानेपानी र शिक्षा होस् ।

मेरो पार्टीको हो, मेरो खानदानी नेता हो । व्यक्ति जस्तो होस्, पार्टीले जिते पुग्छ । धरातलमा केही होस् नहोस् नाराले जिते पुग्छ । हो वास्तवमा हामी सबैको मानसिकता नै यस्तो छ । कहिलेसम्म यी गैरजिम्मेवार नेताहरूबाट सुन्दर फूलबारी, यो प्यारो नेपाल लुटाइरहने ? भत्काइरहने ? अनि हामी टुलुटुलु हेरिबस्ने लाचार भएर ? निरीह भएर । भूपि शेरचनले भने जस्तै हामी आँखा देख्दैनौं । हामी दिमाग भएर पनि दिमाग नभएका मूर्ख हौं । मरुभूमिमा छाडिएका एक हूल भेडा हौं ।

यी भत्किएका सडक अनि च्यातिएका रहरहरू हामीलाई गिज्याइरहेछन् । आखिर कहिलेसम्म ? हामी नेपाली जो पर्यौं । धेरै बुद्धिमान छौं र पो बारम्बार दूधको चौकीदारी गर्न बिरालोलाई पठाइरहन्छौं । अनि सपना पनि देखिरहन्छौं, भोलि यो दूध जमेर दही बन्नेछ अनि त्यो दहीबाट मीठा मीठा परिकार बनाएर खानुपर्छ भनेर । भोका कुपोषणले ग्रसित बच्चाहरूलाई पनि खुवाउनुपर्छ भनेर ।

तर दुर्भाग्य त्यो दही कहिल्यै जमेन र लेखेर नै राख्नुहोला यी गैरजिम्मेवार नेताहरूको हातबाट कहिल्यै जम्ने पनि छैन । फेरि एकपटक भन्छु– दुनियाँले सुनोस्, संसारले सुनोस् । यी डाँडाकाडा भीर पखेराले सुनोस् । अहिले नेताहरूको व्यवहारको व्यापक विरोध भएको छ । पछुताएका छन् टोलवासीहरू, धिक्कार्दै छन् आफैंलाई । तर यो पछुतो थोरै हो । यो धिक्काराइको कुनै अर्थ छैन । फेरि चुनाव आएको छ, सत्ताको माड खाएर झन् बलियोबांगो भएका यी नेताहरू सिंहासनबाट झरेका छन् र फेरि चुनाव लड्न गाउँ टोल छिरिसकेका छन् ।

अहिले जति नै एकअर्काका दुश्मन भए पनि चुनावपछि फेरि यी जुधेका नेताहरूबीच कार्यगत एकता हुनेछ, मोलमोलाइ हुनेछ । बगैंचाहरू भाग लगाइनेछन् । हाम्रा सपनाहरूमाथि बार्गेनिङ चल्नेछ । कुनै योजना छैन उनीहरुसँग । कुनै सपना देखेका छैनन् यिनीहरूले । केही भिजन बनाएका छैनन् । यी त केवल सपना देखाउन आएका हुन् । भावना किन्न आएका हुन् । सम्मान थापेर आफूलाई जंगबहादुरको सन्तान सम्झिंदै मच्चिन आएका हुन् । कलाविहीन कलाकार हुन्, कलाकारिता देखाउन आएका हुन् ।

फेरि जनतालाई आफ्नो प्रतिनिधि चुन्ने अवसर आएको छ । आफ्नो भाग्यविधाता, आफ्नो सुन्दर बगैंचाको चौकीदारको छनौट गर्ने अवसर आएको छ । अब भने केही नयाँ सपना देख्नुपर्छ । केही नयाँ सम्भावनाहरू खोज्नुपर्छ । भावनाले होइन, विवेकले चलाउनुपर्छ आफूलाई । यी जुधेका नेताहरूको विरुद्धमा भिजनको आवाज गुन्जिनुपर्छ । सपनाको मार्गचित्र कोर्नुपर्छ । नयाँ सपना देख्नुपर्छ ।

हाम्रा अँधेरा भीरपाखामा पनि बत्ती बल्छ कि ? हाम्रो सुकेको आँखाले पनि सपना देख्छ कि ? हाम्रो हाँसो हराएको उजाड ओठमा पनि लाली छाउँछ कि ? एउटा विश्वास लिएर फुलाउनुपर्छ, आउने बसन्तमा नयाँ पालुवाहरू, नयाँ सपनाहरू र नयाँ सम्भावनाहरू ।

अब बुझ्नुपर्छ हामीले उनीहरु पहिलेभन्दा झन हट्टाकट्टा भएर आएका छन् । अब उनीहरुको हिँडाइले जमीन थर्किनेछ । फेरि एकपटक सपना बाँड्नेछन् । आश्वासन बेच्नेछन् र फेरि सपनाहरूको हत्या गर्नेछन् ।

चटक सुरु हुनेछ, कलाकारिता सुरु हुनेछ । फकिनेहरू फकाइनेछन्, बिक्नेहरू किनिनेछन् । पैसाको खोलो बगाइनेछ र स्वाभिमानको आवाज गुन्जाउनेहरूलाई रणनीतिकार षड्यन्त्रकारीको आरोप लगाइनेछ । हामी फेरि पनि यिनै नेताहरूका झूटा सपनामा आफूलाई बेच्नेछौं । किनकि यी नेताहरू त पुराना पो हुन् । यिनीहरू त आफ्नै पो हुन् । मेरा बाजे बराजुले मान्दै आएका, मेरा बाउबाजेको पालादेखि चुनिंदै आएका । हामी आस्थाका राजनीतिप्रति विश्वास लिनेहरू । अहँ, अरु कोही चाहिन्न अब हामीलाई।

धेरैले भन्छन्, नयाँहरूको के भरोसा ? यिनै नेताहरूले बनाउने छन् हाम्रो फूलबारी । सिंगार्ने छन् हाम्रो करेसाबारी । ‘यो नेता, त्यो नेता’ भन्नु केही छैन । हामी परिवर्तन हुन चाहन्नौं र परिवर्तन भएको पनि हेर्न सक्दैनौं आफूलाई । चुनावमा जुन मूर्ख उठे पनि हुन्छ । किनकि हामीले कुनै सेवक जिताउनु छैन, शासक जिताउनु छ । हाइकमान्डबाट जसलाई खटाइएको छ, त्यसैलाई जिताउनु छ ।

देश बनाउँछु भनेर हिँडेका त्यो हूलमा सम्भावना भएका अनुहार पनि छन् । परिवर्तनका सम्भावना पनि छन् तर हुन्न कदापि हुन्न । हामीले तिनीहरूलाई कदापि छान्नु हुन्न । किनकि ती हाम्रो पार्टीका होइनन् । हाम्रो बाउले जिताएकावाला होइनन् । हाम्रो बाजेले रुचाएका होइनन् ।

जति नै गन्हाएको किन नहोस्, त्यसैलाई चुन्नु छ । जति नै धूर्त किन नहोस्, त्यसैलाई छान्नु छ, किनकि त्यो मेरो हो । मेरो पार्टाीको हो, मेरो खानदानी नेता हो । व्यक्ति जस्तो होस्, पार्टाीले जिते पुग्छ । धरातलमा केही होस् नहोस् नाराले जिते पुग्छ । हो, वास्तवमा हामी सबैको मानसिकता नै यस्तो छ । अनि देश कसरी परिवर्तन हुन्छ ?

लेखक टेलिभिजन कार्यक्रम निर्माता तथा प्रस्तोता हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दिवस खनिया
दिवस खनिया
लेखकबाट थप