शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेशबाट संघ ताक्दै १९ नेता

मङ्गलबार, २८ भदौ २०७९, १० : १८
मङ्गलबार, २८ भदौ २०७९

आगामी मंसिर ४ गतेको निर्वाचनका लागि प्रदेश १ का २८ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको उम्मेदवारका लागि ठूला तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट २२५ जना उम्मेदवार सिफारिसमा परेका छन् ।

त्यसमध्ये १९ नेता हाल प्रदेश १ को प्रदेशसभामा प्रतिनिधित्व गर्दै आएका छन् । प्रदेशबाट संघमा जाने चाहना राख्ने सबैभन्दा धेरै नेता एमालेका छन् । प्राप्त तथ्याङ्क अनुसार हाल प्रदेशसभामा रहेका र संघमा जान चाहने नेताहरुमा पूर्व मुख्यमन्त्रीद्वय शेरधन राई, भीम आचार्य तथा केही मन्त्रीसहित ११ जना छन् ।

राईले भोजपुरबाट यस पटक संघमा लड्ने तयारी गरिरहेका छन् भने आचार्य सुनसरीको क्षेत्र नम्बर २ बाट उम्मेदवारमा सिफारिस भएका छन् । यस्तै माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गरेका ताप्लेजुङका नेता टंक आङ्बुहाङको नाम पनि संघमा सिफारिस भएको छ । आङ्बुहाङ यसअघि प्रदेश १ को आर्थिक मामिला तथा योजनामन्त्री भइसकेका छन् । एमालेमा प्रवेश गरेसँगै माओवादी केन्द्रको कारबाहीमा परेका उनी हाल कुनै सार्वजनिक पदमा छैनन् ।

यस्तै एमालेकै प्रदेश सांसद हिराकुमार थापाले झापा ४ बाट प्रतिनिधिसभामा उम्मेदवार बन्ने बताएका छन् । एमालेले सो क्षेत्रबाट उनको नाम पनि सिफारिस गरेको छ । थापा प्रदेश १ का पूर्वमन्त्री पनि हुन् । एमाले प्रदेश १ का अध्यक्ष तथा प्रदेशसभा सदस्य तुलसीप्रसाद न्यौपानेले पनि संखुवासभाबाट प्रतिनिधिसभामा दाबी गरेका छन् । उनी पनि प्रदेश १ का पूर्व आर्थिक मामिला तथा योजनामन्त्री हुन् ।

यस्तै तेह्रथुमबाट तेजमान कङ्दङ्बा, सुनसरी–४ बाट जगदिशप्रसाद कुसियैत, उदयपुर–१ बाट बिमल कार्की, उदयपुर–२ बाट कला घले, खोटाङबाट उषाकला राई र ओखलढुंगाबाट अम्बिरबाबु गुरुङ पनि प्रदेशबाट संघमा जान चाहने नेताहरु हुन् । उनीहरुको नाम पनि प्रतिनिधिसभामा उम्मेदवारीका लागि सिफारिस भएको छ । उनीहरुमध्ये कुसियैत, घले, राई र गुरुङ प्रदेश १ का पूर्वमन्त्री पनि हुन् । कन्दङ्बा र कार्की भने प्रदेश १ का सांसद हुन् । प्रदेशसभामा एमालेका ३९ जना सांसद छन् ।

यता प्रदेशकै दोस्रो ठूलो पार्टी नेपाली कांग्रेसबाट भने २ जनाले मात्रै प्रदेशबाट संघमा जाने इच्छा देखाएका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइराला आफै यस पटक संघमा चुनाव लड्ने दाउमा छन् । उनलाई कांग्रेसले सुनसरीको २ नम्बर क्षेत्रबाट प्रतिनिधिसभातर्फ उम्मेदवारीका लागि सिफारिस गरेको छ । यस्तै कांग्रेसका नेता तथा प्रदेश १ को उद्योग श्रम तथा रोजगार मन्त्री समेत रहेका प्रताप प्रकाश हाङ्माङ पनि प्रतिनिधिसभाको उम्मेदवारको रुपमा सिफारिसमा परेका छन् । उनलाई नेपाली कांग्रेसले ताप्लेजुङबाट सिफारिस गरेको हो । प्रदेश १ को प्रदेशसभामा कांग्रेसका २१ जना सांसद छन् ।

यता तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रका ४ जना प्रदेशका नेताले संघमा जाने चाहना राखेका छन् । माओवादीले सिफारिस गरेको नामावलीहरुमा इलाम–२ बाट धिरेन्द्र शर्मा, झापा–३ बाट पूर्ण प्रसाद राजवंशी, झापा–४ बाट झलकसिंह दर्लामी र खोटाङबाट रामकुमार राई छन् । सिफारिसमा परेका दर्लामी हालका प्रदेश १ का कृषिमन्त्री हुन् भने राई खानेपानी तथा सिंचाई मन्त्री छन् । शर्मा र राजवंशी भने प्रदेश सांसद हुन् । माओवादी केन्द्रका सांसदहरु प्रदेश १ मा १५ जना छन् ।

यस्तै संसदको चौथो ठूलो दल नेकपा (एकीकृत समाजवादी)को तर्फबाट संघमा जान चाहने २ जना देखिएका छन् । हालका मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई सो पार्टीले भोजपुर निर्वाचन क्षेत्र र सुनसरीको १ नम्बर निर्वाचन क्षेत्रबाट संघमा सिफारिस गरेको छ । राईले आफू भोजपुरबाटै चुनाव लड्ने बताइसकेका छन् ।

यस्तै हालका सामाजिक विकास मन्त्री राजन राईको नाम पनि संघीय सांसदको उम्मेदवारको रुपमा सिफारिस भएको छ । उनको नाम खोटाङबाट सिफारिसमा परेको हो । १० जना सांसद रहेको नेकपा एकीकृत समाजवादीमा अन्य ८ सांसदले संघमा लड्न चासो देखाएका छैनन् ।

प्रदेश १ का ९३ सांसदमध्ये संघमा जान चाहनेहरुको नामावलीः

हालसम्म प्राप्त विवरण अनुसार कांग्रेस र एमालेको जिल्लाबाट प्रदेश समितिबाट शतप्रतिशत सिफारिस भएको छ भने माओवादी केन्द्रले सोलुखुम्बुको सिफारिस गर्न बाँकी छ । प्रदेश १ को २८ निर्वाचन क्षेत्रका लागि नेपाली कांग्रेसबाट ९२, एमालेबाट ७४ र माओवादी केन्द्रबाट ५९ जना उम्मेदवार सिफारिस भएको हो । सिफारिस भएका उम्मेदवारमध्ये एमालेबाट १३ जना, कांग्रेसबाट १० र माओवादी केन्द्रबाट ११ जना उम्मेदवार सर्वसम्मत सिफारिस भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप