मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

बेलायतमा राजा र रानीको काम के हुन्छ ?

मङ्गलबार, २८ भदौ २०७९, ०९ : २९
मङ्गलबार, २८ भदौ २०७९

बेलायतमा महारानी एलिजाबेथ द्वितीयको मृत्यु पछि, सिंहासन तुरुन्तै उनका उत्तराधिकारी, राजा चार्ल्स तृतीयलाई हस्तान्तरण गरियो ।

बेलायतमा संसदीय राजतन्त्र छ, अर्थात् राजा पनि छ र संसद पनि छ । यी दुवै त्यहाँका बलियो संस्था हुन् जुन एकअर्काका पूरक हुन् ।

राजा बेलायतका राज्य प्रमुख हुन् । यद्यपि, राजगद्दीका शक्तिहरू प्रतीकात्मक र औपचारिक छन् । बेलायतका राजा राजनीतिक रूपमा तटस्थ रहन्छन् ।

राज्य प्रमुखको रूपमा, राजा चार्ल्स तृतीयले रातो छालाको बक्समा हरेक दिन सरकारी काम र निर्णयबारे जानकारी प्राप्त गर्नेछन् ।

यसका साथै महत्त्वपूर्ण बैठक वा कागजातहरू पनि अग्रिम रिपोर्ट गरिनेछ, जसमा उनीहरूको हस्ताक्षर आवश्यक हुनेछ ।

प्रधानमन्त्री लिज ट्रसले सामान्यतया हरेक बुधवार बकिंघम प्यालेसमा राजा चार्ल्सलाई भेट्ने गरी सरकारको कामका बारेमा जानकारी गराउनेछन् ।

यी बैठक पूर्ण रूपमा निजी हुन्छन् र यतिबेला के कस्ता कुराकानी भए भन्ने कुनै आधिकारिक रेकर्ड राखिँदैन ।

राजाको पनि धेरै संसदीय कार्यहरू छन् ।

राजाको जिम्मेवारी के–के छन् ?

राजाको सबैभन्दा महत्त्वपूर्ण कार्यहरू मध्ये एक बेलायतमा आम निर्वाचन पछि सरकारको नियुक्ति हो ।

विजयी दलका नेतालाई राजाको निवास बकिङ्घम प्यालेसमा बोलाइन्छ र औपचारिक रूपमा सरकार गठन गर्न आमन्त्रित गरिन्छ ।

बेलायतमा आम निर्वाचन हुनुअघि सरकार भंग गर्ने अधिकार पनि राजासँग हुन्छ ।

यससँगै राजाले उद्घाटन समारोहमा संसद्को अधिवेशन सुरु गरी सरकारका योजनाहरू आफ्नो भाषणमा प्रस्तुत गर्छन् । यो भाषण बेलायती संसदको माथिल्लो सदन हाउस अफ लर्ड्समा हुन्छ ।

राजाको काम संसदबाट पारित कानुनलाई वैध मानिने गरी औपचारिक अनुमोदन गराउनु पनि हो । अन्तिम पटक सन् १७०८ मा राजगद्दीले कुनै कानुन पारित गर्न अस्वीकार गरेको थियो ।

 


 

राष्ट्रमण्डल प्रमुख

त्यसैगरी हरेक वर्ष नोभेम्बरमा स्मृति दिवसमा पनि उनले निर्देशन दिने गर्छन् । यसलाई युद्धविराम दिवस वा भेटरन्स डे पनि भनिन्छ । कतिपय राष्ट्रमण्डल देशहरूमा युद्धमा ज्यान गुमाएका सैनिक र आम जनतालाई सम्झिने दिन यही हो ।

नयाँ राजा राष्ट्रमण्डलको पनि नयाँ प्रमुख हुन् । कमनवेल्थ ५६ स्वतन्त्र देश र २.४ बिलियन जनताको संघ हो ।

योसँगै राजा चार्ल्स तृतीय १४ राष्ट्रमण्डलका राष्ट्र प्रमुख पनि बनेका छन् ।

यद्यपि, बार्बाडोस २०२१ मा गणतन्त्र बनेपछि, अन्य क्यारिबियन राष्ट्रमण्डल क्षेत्रहरूले पनि गणतन्त्र बन्ने इच्छा व्यक्त गरेका छन्।

रानीको सट्टा राजा

अब रानी एलिजाबेथ द्वितीयाको तस्बिर हटाएर राजा चार्ल्स तृतीयाको तस्बिरलाई देशको पोस्टल सर्भिस रोयल मेलको नयाँ छाप र बैंक अफ इङ्गल्याण्डले जारी गरेको नोटहरू राखिनेछ ।

साथै, ब्रिटिश राहदानीमा शब्दहरू परिवर्तन गरी ‘हिज म्याजेस्टी’ बनाइनेछ ।

नयाँ राजासँगै देशको राष्ट्रिय गानमा परिवर्तन हुने र अब  ‘गॉड सेभ द क्वीन’को सट्टा ‘गॉड सेभ द किंग’ थपिने भएको छ ।

सम्राट कहाँ बस्छन् ?

राजा चार्ल्स तृतीय र क्विन कन्सर्ट लण्डनको बकिंघम प्यालेसमा जाने अपेक्षा गरिएको छ ।

यसअघि उनी लन्डनको बकिङ्घम प्यालेस नजिकै क्लेरेन्स हाउस र पश्चिमी इंगल्याण्डको हाईग्रोव हाउसमा बस्थे ।

प्रिन्स विलियम र उनकी पत्नी राजकुमारी क्याथरिन हालै पश्चिमी लन्डनको केन्सिङ्टन प्यालेसबाट राजधानीको बाहिरी भागमा विन्डसरको एडिलेड कटेजमा सरेका छन् ।

राजकुमार ह्यारी र मेगन मार्कल अमेरिकाको क्यालिफोर्नियामा बस्छन् ।

बेलायतमा राजतन्त्रलाई कत्तिको रुचाइएको छ ?

यस वर्षको मध्यमा यू–गवले गरेको सर्वेक्षणअनुसार ६२ प्रतिशत बेलायती नागरिकले रानीको प्लाटिनम जुबलीको अवसरमा राजतन्त्र कायमै रहनुपर्छ भन्ने विश्वास गरेका थिए । जबकि २२ प्रतिशत जनताले राष्ट्रप्रमुख चुन्नुपर्ने बताएका छन् ।

इप्सोस मरीको सन् २०२१ को दुईवटा सर्वेक्षणमा झण्डै समान नतिजा आएको थियो । सर्वेक्षणमा सहभागी पाँचमध्ये एक जनाले मात्र राजतन्त्र हटाउनु बेलायतका लागि राम्रो हुने विश्वास गरेका थिए ।

यद्यपि, यु–गभ बाट सर्वेक्षणको नतिजाले राजतन्त्रको लागि समर्थन विगत दशकमा घटेको देखाउँछ। सन् २०१२ मा ७५ प्रतिशत रहेको संख्या २०२२ मा ६२ प्रतिशत पुगेको छ ।

राजतन्त्रका लागि ज्येष्ठ नागरिकको धेरै समर्थन भए पनि युवाको तथ्यांक भने अलि फरक देखिएको छ ।

यु–गभले पहिलो पटक २०११ मा मतदान सुरु गरेको थियो । त्यसबेला १८ देखि २४ वर्ष उमेर समूहका ५९५ युवाले राजतन्त्र  चाहेका थिए तर २०२२ मा मात्रै ३३५ युवाले राजतन्त्रलाई समर्थन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप