सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

पत्रकार र पत्रकारका परिवारको अब निःशुल्क आँखा चेकजाँच हुने

सोमबार, २७ भदौ २०७९, २१ : ३५
सोमबार, २७ भदौ २०७९

पत्रकार र आश्रित परिवारको अब निःशुल्क रुपमा आँखाको चेकजाँच हुने भएको छ । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेश समिति र एएसजी आई केयर एण्ड हेल्थ सर्भिसेज प्रालिबीच सोमबार पत्रकार र पत्रकारको परिवारको निःशुल्क आँखा चेकजाँच गर्ने सम्बन्धमा समझदारी भएको छ ।

उपत्यका प्रदेशको अनामनगरस्थित कार्यालयमा सोमबार एक कार्यक्रमकाबीच सम्झौता पत्र (एमओयू) मा हस्ताक्षर भएको हो । एमओयू हस्ताक्षर कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रोशन पुरीले दुई निकायबीचको समझदारीले अब पत्रकार तथा सञ्चारकर्मी र तिनका आश्रित परिवारले सजिलैसँग आँखाको चेकजाँच गराउन सजिलो भएको बताए । 

सम्झौताअनुसार पत्रकारहरुको दृष्टि बचाउने उद्देश्य राखेर उपत्यका प्रदेशको समन्वयमा नियमित रुपमा आई क्याम्प लगायतका कार्यक्रम पनि सञ्चालन गरिनेछ ।  ‘पत्रकारहरुको दृष्टि बचाउ अभियान’ अन्तर्गत उपत्यका प्रदेश समितिको सिफारिसमा क्रियाशील पत्रकार तथा सञ्चारकर्मीका साथै उनीहरुका परिवारले समेत निःशुल्क रुपमा उक्त सुविधा पाउने छन् ।

पत्रकारहरुको दृष्टि बचाउ अभियान कार्यक्रमलाई देशभर नै पुर्याउनुपर्ने पुरीको भनाई छ । उपत्यका प्रदेशका अध्यक्ष श्रीजन झाले अस्पतालसँगको सहकार्यमा अब नियमित रुपमा आई क्याम्पहरू जस्ता कार्यक्रमहरु सञ्चालन गरिने जानकारी दिए । यस अभियानलाई अन्य प्रदेशहरूसँग पनि समन्वय गरेर विस्तार गर्दै लैजाने उनको भनाई छ ।

अस्पतालका कर्पोरेट म्यानेजर राजीव झाले पत्रकार तथा उनीहरुका परिवारले निःशुल्क आँखाको चेकजाँच तथा निःशुल्क ओपिडी सेवा लिन सक्ने जानकारी दिए । उनका अनुसार पत्रकार तथा उनका परिवारका सदस्यहरुलाई पनि  सर्जरी लगायत सेवामा भने १५ प्रतिशतसम्म छुट दिनेछ ।

प्रदेश महासचिव टेनिस रोकाले अभियानले पत्रकारहरुलाई आँखाको चेकजाँच तथा सुरक्षामा सहयोग पुग्ने अपेक्षा व्यक्त गरे ।  एएसजी आँखा अस्पताल नेपाल, भारत र अफ्रिकाको युगान्डामा कार्यालय रहेको अस्पताल हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप