शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

रघुवीरलाई ओलीको प्रश्न : मधेसका २२ सिट कसलाई छोड्ने त ?

सोमबार, २७ भदौ २०७९, २३ : ०१
सोमबार, २७ भदौ २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रदेश इन्चार्ज रघुवीर महासेठलाई प्रदेशका २२ सिट कसलाई छोड्ने त ? भनेर प्रश्न गरेका छन् ।  सोमबार जनकपुरमा भएको जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले महासेठलाई यस्तो प्रश्न गरेका हुन् । ओली अघि बोलेका महासेठले मधेस प्रदेशमा एमालेले १० सिट जित्ने बताएका थिए । 

‘रघुवीरजीले अघि २ नम्बर प्रदेशमा १० भन्दा कम जित्दैनौ भन्नुभयो’, ओलीले प्रश्न गर्दै भने, ‘अनि २२ वटा सिट कसलाई छोड्ने त ?’  अध्यक्ष ओलीले एमालेमा पार्टी प्रवेशको लहर चलेको भन्दै अब सवै पार्टीका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेर अरु पार्टी रित्तिने दावी गर्दै कसैलाई जोगाउन मन भए जोगाउन चुनौति दिए । ‘आफ्ना पार्टीका कार्यकर्ता थमाउन सक्छौ भने थमाउ, होइन भने कमेरे माटोको पहिरो जस्तो हुनेछ’, ओलीको भनाइ छ । उनले एमालेबाहेक अरुले पार्टी जोगाउन नसक्ने र अस्तित्व समेत नरहने दावी गरे । 

उनले पार्टी प्रवेश गरेकाहरूलाई दुरुपयोग नगर्ने भन्दै एमालेले देश विकासमा लगाउने बताए ।  ‘मंसिर ४ को निर्वाचनले यस देशको भाग्य भविष्यको फैसला गर्नुपर्नेछ’, ओलीले भने, ‘देशलाई अधोगतितिर गठबन्धनले लगेको छ, त्यसलाई रोक्नुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप