शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीको ग्रीन सिग्नलले अछाममा भीम रावल ढुक्क, रुपन्देहीमा घनश्याम ‘धरमर’ !

सोमबार, २७ भदौ २०७९, १४ : २७
सोमबार, २७ भदौ २०७९

मंसिर ४ मा हुने आम निर्वाचनका लागि नेकपा एमालेमा टिकटको रस्साकस्सी सुरु भएको छ । उम्मेदवारको मापदण्ड तोकेर सोही मापदण्डका आधारमा क्षेत्रीय निर्वाचन कमिटी, जिल्ला कमिटी हुँदै प्रदेश कमिटीलाई उम्मेदवारका नामहरू केन्द्रमा पठाउन सर्कुलर दिएअनुसार एमालेले सातै प्रदेशबाट सिफारिस भएका उम्मेदवारको नामहरू छानविन गरिरहेको छ ।

एमाले स्रोतका अनुसार प्रदेशबाट सिफारिस भएर आएका नामहरू उपमहासचिव विष्णु रिमालले पार्टी केन्द्रीय कार्यालयमा बसेर छानविन गरिरहेका छन् । एमालेले एउटा निर्वाचन क्षेत्रबाट चार जनाको नाम सिफारिस गर्न निर्देशन दिएपनि एक क्षेत्रबाट तोकिए भन्दा चार गुणा बढीसम्म नामहरू सिफारिस भएको बताइएको छ।  

प्रदेशबाट सिफारिस भएर आएका नामहरूमा पहिला पार्टी केन्द्रीय कार्यालयले ‘सर्ट लिष्ट’ तयार गर्ने छ । त्यसपछि सचिवालयमार्फत उम्मेदवारहरूको अन्तिम टुंगो लगाउने तयारीमा एमाले छ । 
‘केही दिनमा सचिवालय बैठक बसेर उम्मेदवारहरूको टुंगो लगाउने तयारी छ । अहिले सिफारिस भएर आएका नामहरूको छानविन भइरहेको छ’, एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले रातोपाटीसँग भने, ‘उम्मेदवार छनोटका लागि आवश्यक गृहकार्य भइरहेको छ ।’

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको टिकट वितरणको अन्तिम निर्णय गर्ने अधिकार केन्द्रले नै गर्ने एमालेको नीति छ ।  सोही नीति अनुसार एमालेले क–कसलाई टिकट दिने भन्ने गृहकार्य गर्न अध्यक्ष केपी शर्मा ओलीले आफ्नो कोर टीमलाई सुक्ष्म अध्ययन गर्न जिम्मा दिएका हुन् । 

एमालेका कतिपय नेताहरु एकल रुपमा उम्मेदवार सिफारिस भएपनि अधिकांश निर्वाचन क्षेत्रमा एक दर्जनसम्म नामावली सिफारिस भएका छन् । यही क्रममा अछाम १ बाट अध्यक्ष केपी ओलीसँग गत महाधिवेशनमा अध्यक्ष पदमा प्रतिस्पर्धा गरेका भीम रावल एकल रुपमा सिफारिस हुनपुग्दा रावल कित्ताकै नेता मानिने घनश्याम भुसाल भने रुपन्देहीबाट एकल रुपमा सिफारिस हुन सकेनन् । भुसालको नाम एकल रुपमा सिफारिस हुन नसकेकै कारण उनले टिकट पाउने– नपाउने अन्यौलता सिर्जना भएको छ ।

भुसाललाई टिकट पाउनै सकस !

त्यसो त भुसालको नाम सिफारिस गर्ने क्रममा नै क्षेत्रीय कमिटीमा विवाद उत्पन्न भएको थियो ।  विवादपछि उनले टिकट पाउन–नपाउनेबारे जिल्लामा तीव्र बहस हुन थालेको छ । कतिपयले भुसालको नाम सर्वसम्मत हुन नसक्नुमा पार्टी केन्द्रको नै चलखेलका रुपमा बुझेका छन् ।

सैद्धान्तिक हिसाबको अध्यक्ष भुसाल ओलीका खरो आलोचक मानिन्छन् । सोही कारण प्रतिनिधिसभातर्फ रुपन्देही क्षेत्र १ र ३ बाट सिफारिस भएका भुसाललाई पछि क्षेत्र नम्बर १ बाट नाम काटेर ३ मामात्र सीमित राखिएको उनी पक्षीय नेता–कार्यकर्ताहरुको बुझाइ छ । क्षेत्र नम्बर ३ बाट भुसालको नाम सिफारिस हुँदा पनि उनीसँग अरु ४ जनाको नाम समेत राखिएको छ । अर्कोतिर एमालेले राप्रपासँग तालमेल गर्ने बहानामा भुसाललाई उम्मेदवार नबनाएर पाखा लगाउन त खोजेको  होइन ? भनेर उनी निकटका नेता कार्यकर्ताहरूमा सशंकित बनेका छन् । 

उम्मेदवार सिफारिस गर्नुअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले सकभर सवै निर्वाचन क्षेत्रमा सर्वसम्मत उम्मेदवार सिफारिस गर्न निर्देशन दिएका थिए । सो अनुसार रुपन्देही क्षेत्र नम्बर २ बाट पार्टी उपाध्यक्ष समेत रहेका विष्णु पौडेल र क्षेत्र नम्बर ५ बाट पोलिटब्युरो सदस्य खिमलाल भट्टराई सर्वसम्मत सिफारिस भएका छन् । तर, भुसाल उनीहरुकै हाराहारीका नेता भएपनि सर्वसम्मत हुन सकेनन् । 

‘पौडेल र भट्टराई सर्वसम्मत सिफारिस हुँदा भुसालसँग अरु नाम सिफारिस हुनु नै शंकास्पद छ । यही विवाद देखाएर राप्रपासँग गठबन्धनको बहनामा भुसाललाई प्रत्यक्ष निर्वाचनका लागि टिकट नदिने रणनीति हुनसक्छ’, भुसाल निकट एक जिल्लास्तरीय नेताको भनाइ छ । तर एमाले रुपन्देहीका उपसचिव हितराज पन्थी भुसाल निकटको आशंका सही नभएको तर्क गर्छन् ।

‘क्षेत्रबाट आएको नाम सकभर दोहोरो नहुने गरी पठाउने उद्देश्यले भुसालको नाम क्षेत्र नम्बर ३ वाट पठाइएको हो’,  पन्थीले रातोपाटीसँग भने । 
भुसालको घर रुपन्देही १ मा पर्छ । २०७४ सालमा पनि क्षेत्र नम्बर १ वाट उनको नाम सिफारिस भएका थियो । तर पछि पार्टीकै छविलाल विश्वकर्माले टिकट पाएकाले भुसाललाई ३ बाट उम्मेदवार बनाइएको थियो । अहिले विश्वकर्मा पार्टीसचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छन् । सुरुमा सिफारिस भएको भुसालको नाम १ बाट काटेर ३ मा सीमित गरिएको प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले स्वीकार गरे ।

भुसाल ३ बाट र विश्वकर्मा १ सिफारिस भएको श्रेष्ठको भनाइ छ । रुपन्देहीमा एमाले र राप्रपाबीच गठबन्धन गरेर चुनावमा गएको अवस्थामा सो क्षेत्र राप्रपाका उपाध्यक्ष दीपक बोहराले दाबी गर्ने देखिन्छ । यस्तो अवस्थामा विश्वकर्माले १ नछाडे घनश्याम सिफारिस भएको ३ बाट पनि पाखा लाग्नसक्ने उनीनिकटका नेताहरुको आशंका छ । यद्यपी बोहोरा चुनाव लड्ने नलड्ने प्रस्ट भइसकेको छैन । 

रुपन्देहीका १ र ३ दुवै निर्वाचन क्षेत्रमा राप्रपाको जनमत अन्य क्षेत्रको तुलनामा राम्रो मानिन्छ । राप्रपा लुम्बिनीका अध्यक्ष प्रदीप उदयले बोहोरालाई जुन क्षेत्र जित्न सहज हुन्छ त्यही प्राथमिकता दिने भएपनि अहिले नै सवै कुरा स्पष्ट भइनसकेको बताए । रुपन्देहीको क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका गृहमन्त्री बालकृष्ण खाँण उठ्ने निश्चित जस्तै छ । खाँणलाई सो क्षेत्रबाट कांग्रेसले एकल सिफारिस गरेको छ । भुसालले टिकट पाए खाँणसँग मैदानमा जानु पर्ने देखिन्छ ।

एमाले रुपन्देहीका उपाध्यक्ष जागेश्वरी चौधरीले भुसालको कुन क्षेत्र सुरक्षित हुन्छ सोहीअनुसार  पार्टीले माथिबाट निर्णय गर्ने बताइन् । ‘घनश्याम कमरेडले कहाँ जित्ने र कसरी लैजाने भन्ने विषयमा पार्टीको माथिल्लो निकायले नै ध्यान दिन्छ’, चौधरीको भनाइ छ ।

एमालेका युवा नेता देवराज पोखरेलले  भुसालले ३  नम्बर क्षेत्रबाटै चुनाव लड्नुपर्ने बताए । ‘घनश्याम कमरेडले अहिले जितेको क्षेत्र ३ नम्बर नै हो । त्यसैले पनि अन्यत्र जान उपयुक्त हुँदैन । त्यो क्षेत्रमा गठबन्धन भए पार्टीले गर्ने निर्णय भुसालले मान्नु पर्नेहुन्छ’, पोखरेलको भनाइ छ ।

२०७४ को निर्वाचनमा भुसालले क्षेत्र नम्बर ३ मा राप्रपाका दीपक बोहोरालाई पराजित गरेका थिए । वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा वडाअध्यक्षहरूको मतअनुसार रुपन्देही–३ बाट राप्रपाले १३ हजार ३९७ मत ल्याएको थियो ।

त्यस्तै कांग्रेसले ३४ हजार १५३, एमालेले २९ हजार ४८, जसपाले ६ हजार १८३, माओवादीले २ हजार ८८१, लोसपाले २ हजार १७४ र नेकपा एसले ९७७ मत पाएको थियो ।

यस्तै क्षेत्र नम्बर १ मा वडाध्यक्षहरूले पाएको मत अनुसार काँग्रेसले ३२ हजार ९९९, एमालेले ३० हजार ३९४, राप्रपाले १४ हजार ५५२, जसपाले ६ हजार ६९५, माओवादीले ४ हजार २०२, र नेकपा एसले १२४३ मत पाएका छन् । लोसपाको मत ३२५ छ ।

भीम रावल ढुक्क

नेकपा एमालेमा भुसालपछि अध्यक्ष ओलीका आलोचक मानिने अर्का नेता हुन् भीम रावल । रावल गत मंसिरमा भएको एमाले महाधिवेशनमा उनै ओलीसँग अध्यक्ष पदमा उत्रिएका थिए । सोही कारण पनि ओली रावलसँग पछिल्लो समय सकारात्मक हुन नसकेको ओली निकटका नेताहरु नै बताउँछन् ।

तर, अछाम १ मा रावल एमालेका तर्फबाट सर्वसम्मत प्रतिनिधि सभा सदस्य पदका लागि सिफारिस भएका छन् । २०७४ को निर्वाचनमा पनि रावल सोही क्षेत्रबाट निर्वाचित भएका थिए । त्यसबेला रावल २४८९३ मतसहित विजयी बन्दा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भरत स्वाँरले १७६८९ मतमात्रै पाएका थिए । गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा रावलको १६५६७ मत एमाले उम्मेदवारले पाएका थिए भने कांग्रेस १६७२८,माओवादी केन्द्र ६७९० र नेकपा एस २७५२ मत पाएका थिए । सत्ता गठबन्धन एकातिर र एमाले एकातिर हुँदा रावललाई पार्टीले टिकट दिएपनि जित्न कठिन हुने यो अंक गणितले देखाएको छ ।

त्यतिमात्रै होइन उनी २०५१ र २०७० को निर्वाचनमा समेत सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

रावल र भुसालप्रति ओलीको हिसाव

 नेताहरुका अनुसार रावललाई अछामबाट टिकट दिन ओली सकारात्मक छन् । स्थानीय मतको हिसाबअनुसार एमाले कमजोर भएपनि गठबन्धनसँग प्रतिस्पर्धा गर्नुपर्ने र त्यसमा उपयुक्त उम्मेदवार रावल नै हुने ओलीको बुझाइ छ । ओलीको त्यही बुझाई रावलसमक्ष समेत पुगिसकेको छ । 

त्यसैले टिकट पाउनेमा उनी ढुक्क भएका हुन् । तर भुसालप्रति भने ओली सकारात्मक हुन सकेका छैनन् । भुसालप्रति ओली सकारात्मक नहुनुमा उनले तीनवटा कारण रहेको आफू निकटकाहरुलाई बताउने गरेका छन् । ‘पहिलो कुरा भुसालजी लेखनतिरै रमाउने मान्छे । दोस्रो वाम एकता भनिरहनुभएको छ । वाम नै नभएकासँग के को वाम एकताको गीत ? र तेस्रो उहाँ निर्वाचित भएपछि निर्वाचन क्षेत्रमा पनि अत्यन्त कम जाने र नेता कार्यकर्तासँग समेत घुलमिल हुन सकेको देखिँदैन’, ओलीको भनाइ उदृत गर्दै एक नेताले भने, ‘ भुसालजीलाई प्रतिनिधि सभाको टिकट दिनुभन्दा लेख लेख्न नै छोड्दा राम्रो होला कि ?’

बुटवलबाट तेजेन्द्र केसीको सहयोगमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप