कुमारी, अदृश्य शक्ति र बौद्ध दर्शनका लोकहरू

person explore access_timeभदौ २७, २०७९ chat_bubble_outline0

संसारभर ढुंगाका देउता वा अन्य वस्तु पूजा गरिन्छ, तिनमा दैवी वा अदृश्य शक्ति छ भन्ने विश्वासमा । यो धर्मले भन्ने कुरा भयो । भौतिकवादीहरु भन्छन्, देखिने कुरामा मात्र विश्वास गर्न सकिन्छ । उनीहरु नदेखिने अदृश्य शक्तिमा विश्वास गर्दैनन् वा ठाडै छैन भनिदिन्छन् ।


अदृश्य शक्ति छ वा छैन ? धर्महरु फरक फरक भए पनि एउटा कुरामा समानता छ । त्यो हो, अदृश्य शक्तिमा विश्वास । भौतिकवादीले भने दृश्य जगतमा मात्र विश्वास गर्छन् । हुन त अदृश्य शक्ति साधारणतया नदेखिने भएकोले आधुनिक युगमा यसलाई अन्धविश्वास भन्ने पनि नबढेको होइन । अदृश्य शक्ति प्रत्यक्ष नदेखिए पनि अप्रत्यक्ष रुपमा देख्न सकिन्छ । हाम्रो नजिकको उदाहरण लिने हो भने जीवित देवी कुमारीमा नै स्पष्ट रुपमा अदृश्य शक्ति हाम्रै आँखाले देख्न सक्छौं ।



कन्या बालिकाहरु कुमारीको भेषमा सजिन सक्छन् । यसरी कुमारी पूजा गर्ने चलन पनि छ वा कतिपय ठाउँमा प्रतीकस्वरुप मोडेलको रुपमा कुमारीको भेष सजाएर कन्यालाई राख्ने पनि गरिन्छ । यी मोडेल कुमारीहरुको शारीरिक हाउभाउ, मुहारको अभिव्यक्ति सामान्य बालिकाको जस्तै देखिन्छ । अर्थात्, तिनमा चञ्चलता हुन्छ, हाँसो वा मुस्कान हुन्छ । आँखा यताउति डुलाइरहेका हुन्छन् । लामो समय बस्नु परेमा उनीहरुलाई नियास्रो लाग्ने, अल्छी लाग्ने, थाक्ने, निद्रा लाग्ने हुन्छ ।



देवी कुमारी सानी बालिका (अझ शिशु) नै भए पनि अन्य बालिकाभन्दा पूर्ण रुपमा भिन्न देख्न सकिन्छ । कुमारीको भेषमा आसनमा बसिसकेपछि उनमा देवीको स्वभाव र स्वरुप झल्किन्छ । सबैभन्दा पहिला त उनका आँखामा न त खुशी वा दुःखीको भाव नै हुन्छ । बरु, आँखा रहस्यमयी देखिन्छन् । अलि डरलाग्दो पनि हुन्छ । यो हामी सबैले अनुभव गर्न सकिने कुरा हो, तस्विरमा मात्रै हेरेर पनि । कुमारीको मोडेल बनेका बालिका र साँच्चैको देवी कुमारीमा यो फरक तिनका तस्विर मात्र हेर्दा पनि सहजै छुट्याउन सकिन्छ ।

हिन्दू धर्मअनुसार कुमारी भगवतीको रुप हो, तुलजा भवानीको रुप हो । भगवती भयावह देवी हुन् । बौद्ध धर्मअनुसार कुमारी वज्रदेवी हुन् । वज्रको अर्थ कठोर वा शक्तिशाली हो । भगवती वा वज्रदेवीको यही भयावह र शक्तिशाली रुप जीवित देवी कुमारीमा देख्न सकिन्छ । कुमारी बालिका भए पनि न त हाँसिन्छन्, न त रुन्छिन् । हाँस्न त परै जाओस्, दाँतसम्म पनि देखाउँदिनन् । उनी आसनमा बसुञ्जेल पूरै मौन रहन्छिन् ।

देवी कुमारीको अनुहारमा न त सुखको भाव झल्किन्छ, न दुःखको भाव नै । बालबालिका त के, सामान्य सबै मानिसको मुहारमा मनको अवस्थाअनुसार अनेक भाव प्रकट भइरहन्छन् । आकाशमा बादलले रुप फेरिरहेजस्तै हाम्रो मुहारमा भाव फेरिरहन्छन् । तर जतिसुकै कम उमेरकी भए पनि देवी कुमारीको मुहारको भाव स्थिर रहन्छ । त्यो धेरै गम्भीर हुन्छ, जुन बाल उमेरको लागि सामान्य कुरा होइन । त्यो गम्भीरता एक छिनको लागि नभएर आसनमा बसुञ्जेल घण्टौं घण्टाको लागि हुन्छ । हुन त हामीले धेरै बेर कुमारीको अनुहार हेरिरहन पनि सक्दैनौं । आँखामा सीधै हेर्न त झन गाह्रो हुन्छ । एकैछिन मात्रै हेर्दा पनि हामीलाई भयको अनुभूति हुन्छ ।

केवल मुहारको भाव मात्र नभएर कुमारी आसनमा बस्दा शरीर पनि घण्टौंसम्म हलचल नगरी बस्न सक्छिन् । नानीचायाः आदि चाडको दिन राष्ट्रप्रमुखलगायत सर्वसाधारणलाई टीका लगाइदिन आसनमा बस्दा उनी एक शब्द पनि नबोली घण्टौं एकनासले बसेर टीका लगाउँछिन् । न त उनी थाक्छिन्, न पिसाब फेर्न वा केही गर्न उठ्छिन् नै । बिना दैवी शक्ति एउटी बालिकामा यस्तो लक्षण सम्भव छैन ।

कुमारी आसनमा बसिसकेपछि हाँस्ने, रुने त के आँखासम्म पनि मिच्दैनन् । कथंकदाचित उनले यस्ता कुनै लक्षण देखाएमा अनिष्ट हुने संकेतको रुपमा लिइन्छ । यस्ता घटना अत्यन्त बिरलै मात्र हुन्छ । देवी कुमारीप्रति खराब नियत राखेमा रक्तसम्बन्धि रोग हुन्छ भन्ने मान्यता छ । यसको ज्वलन्त उदाहरण हो, कुमारी प्रथालाई हटाउनु पर्छ भन्दा देशको एउटा प्रमुख नेतालाई रक्त क्यान्सर भएको कुरा धेरै अघिको होइन । अहिले उनी कुमारीलाई ढोग्छिन् ।

त्यस्तै, जात्राहरुमा लाखे बन्नेहरुको अनुभव छ कि लाखेको वस्त्र लगाउँदै गर्दा नै झुम्म भई कुनै शक्तिले छोपेको महसूस भइ सक्छ । पूरै वस्त्र लगाएर मुखौटा लगाइसकेपछि मान्छे आफ्नो होशले सञ्चालित हुँदैन । यी मुखौटाहरु वर्षैभरि विधिपूर्वक राखिन्छ र नित्य पूजा गरिन्छ । साथै, लाखे बन्नेले पनि शुद्धिकरण गर्नुपर्ने हुन्छ । बजारमा मुखौटा किनेर लगाएर लाखे नाच नाच्दा त्यस्तो कुनै अनुभव हुँदैन । लाखे जुन खालले काम्ने गर्छ, अभिनय गरेर त्यस्तो खालको कम्पन पनि ल्याउन सकिँदैन ।

अदृश्य शक्ति अर्थात् डार्क एनर्जी 

नदेखेको कुरा नमान्ने भौतिकवादीलाई पनि चुनौती दिने गरी विज्ञानले डार्क म्याटर र डार्क एनर्जी पत्ता लगाएको छ । दृश्य जगत मात्रै मान्छु भन्ने भौतिकवादीले पनि अब मान्नु पर्छ कि हामीले देखिरहेको दृश्यजगत त अदृश्य जगत र अदृश्य शक्तिमा टिकेको छ । इन्साइक्लोपेडिया ब्रिटानिका (२०२२) को अनुसार ब्रह्माण्डमा ३०.१ प्रतिशत अदृश्य तत्त्व (डार्क म्याटर) र ६९.४ प्रतिशत अदृश्य शक्ति (डार्क एनर्जी) ले बनेको छ । हामीले देख्ने दृश्य जगत वा विशाल ब्रह्माण्ड त सम्पूर्ण अस्तित्वको आधा प्रतिशत मात्र हो । 

सन् १९३३ मा खगोलविद् फ्रिज ज्वीकले पहिलो पटक अदृश्य तत्त्वको अवधारणा ल्याएका हुन् । उनले आकाशगंगाको अवलोकन गर्दै गर्दा देखेका हुन् कि ताराहरु जुन गतिमा गतिमान छन्, त्यस हिसाबले ती एउटै आकाशगंगामा सुसंगठित भइरहन सक्दैनन् वा भनौं छिन्नभिन्न भइजानु पर्ने हो । ताराहरुलाई एउटै आकाशगंगाको संरचनामा सुसंगठित गरिराख्न गुरुत्वबल मात्र पर्याप्त छैन । 

हामीले देख्ने वा ज्ञात भौतिक जगतभन्दा भिन्नै तत्त्व वा जगतको आवश्यकता पर्छ । त्यसबेला वैज्ञानिकहरुले फ्रिज ज्वीकको महत्त्वपूर्ण खोजमा खासै ध्यान दिएनन् वा उनको कुरा बुझ्न सकेनन् । सन् १९७० मा आएर बल्ल अन्य वैज्ञानिकहरुले पनि ताराहरुलाई आकाशगंगामा आवद्ध भइरहन दृश्य तत्त्वभन्दा फरक तत्त्वको आवश्यकता पर्ने महसूस गरे । त्यस्तै, वैज्ञानिकहरुले पत्ता लगाएका छन् कि ब्रह्माण्डको संरचना र सञ्चालनमा सबैभन्दा धेरै भूमिका अदृश्य शक्ति (डार्क एनर्जी) ले खेल्ने गरेको छ, जसले ब्रह्माण्डको झण्डै सत्तरी प्रतिशत भाग ढाकेको छ ।

आजको वैज्ञानिक अन्वेषणले देखेको कुरा मात्र मान्छु भन्नु आफै अवैज्ञानिक रुढीवाद प्रमाणित गरेको छ । ब्रह्माण्डमा हामीले देखिरहेको, जानिरहेको दृश्य जगत एक प्रतिशतभन्दा पनि कम हो भने अदृश्य जगत र शक्ति ९९ प्रतिशतभन्दा बढी छ । दृश्य जगत अदृश्य तत्त्व र शक्तिबाट सञ्चालित छ । यी अदृश्य तत्त्व र शक्तिलाई वैज्ञानिकहरु आफैले देखेका छैनन् । कुनै वैज्ञानिक उपकरणले ठम्याउन सकेको पनि छैन । त्यसैले तिनको बारे केही पनि भन्न सकिएको छैन । तर तिनको प्रभाव दृश्य जगतमा महसुस गरिएको छ । 

एउटा कुरा स्पष्ट भन्न सकिएको छ कि ती बिना दृश्य जगत टिकिरहन सम्भव छैन । दृश्य जगतमा तिनको  प्रभावको आधारमा ती अदृश्य तत्त्व र शक्ति छ भन्ने निक्र्यौल गर्न सकिएको छ । यी अदृश्य तत्त्व र शक्ति ब्रह्माण्डैभरि छरिएका छन् । हाम्रै वरिपरि छन् र हाम्रै शरीर वारपार गरेर पनि गरिरहन्छन्, प्रभाव छोड्छन् । तर हामीले सुइँको पनि पाउँदैनौं । तिनले दृश्य जगतलाई प्रभाव पार्ने आधारमा यति कुरा थाहा हुँदा हुँदै पनि अदृश्य जगत र शक्तिको बारेमा वैज्ञानिकहरुले प्रत्यक्ष केही ठम्याउन सकेका छैनन् ।

अब हामीलाई लाग्न सक्छ, ती तत्त्व र शक्तिलाई अदृश्य किन भनियो त ? हामीले देख्ने र वैज्ञानिक उपकरणले पत्ता लगाउन सक्ने जगत भनेको प्रकाशसित सम्बन्धित जगत मात्र हो । हामीले देख्ने जगतमा भएका वस्तुले प्रकाश निकाल्ने, प्रकाश सोस्ने वा परावर्तन गर्ने गर्दछ । त्यसैले हामीले तिनलाई देख्न सकेका हौं । अदृश्य तत्त्व र शक्तिले प्रकाशसित कुनै अन्तरक्रिया गर्दैन । त्यसैले त्यो हाम्रो लागि अन्धकार बराबर हो । त्यसैले नै वैज्ञानिकहरुले तिनलाई डार्क म्याटर र डार्क एनर्जी भनेका हुन् ।

बौद्ध दर्शनमा अदृश्य शक्ति

धेरैले सोच्छन् कि बौद्ध दर्शन भौतिकवादी दर्शन हो । त्यसमा ईश्वरको स्थान छैन । तर यो बौद्ध दर्शनबारे आधा बुझाइ मात्र हो । बौद्ध दर्शन भौतिकवादी दर्शन पनि हो, अध्यात्मवादी दर्शन पनि हो । यसले मध्यम मार्गको दर्शन अवलम्बन गरेको छ, जसमा भौतिकवाद र अध्यात्मवादको सन्तुलन छ ।

बौद्ध दर्शन भौतिकवादी यस अर्थमा हो कि यसले ईश्वरलाई सृष्टिकर्ताको रुपमा मान्दैन । सृष्टि आफैं अनन्त छ र अनन्त कालदेखि चलिरहेको छ । यसको निश्चित एउटा स्रष्टा छैन । त्यस अर्थमा यो विज्ञानसित नजिक हुन जान्छ । तर, यसले भौतिकवादीहरुले जस्तो देवीदेवताहरुको अस्तित्व नकारेको छैन । बौद्ध धर्मका सूत्रहरुमा सबभन्दा पहिला देखा पर्ने देवीदेवता भूमिमा बस्ने देउता हुन् । सिद्धार्थ गौतम बुद्ध बन्नको लागि तपस्या गरिरहँदा ‘मार’ आएका थिए, तब उनले धरतीमाता पुकारेका थिए । धरतीमाताले नै मारलाई भगाइदिएकी थिइन् ।

बुद्धको जीवनीमा ठाउँ ठाउँमा यक्ष, यक्षी, नाग आदि अतिप्राकृतिक शक्तिहरुसित जम्काभेट भइरहन्छन् । यिनीहरुलाई ‘भुम्मादेवा’ भनिएको छ । काठमाडौंका जात्राहरुमा निकालिने लाखे, लसिं, आजु, अजिमाहरु भूमिमा बस्ने देउता वा शक्ति हुन् । बुद्धले पहिलो पटक सूत्र देशना (धर्मचक्र प्रवर्तन सूत्र) गर्दा मानवमा पाँच जना भिक्षुहरु (पञ्चभद्रवर्गीय) ले सुनेका थिए । साथसाथै भूमीस्थ देवीदेवताले पनि सुनेका थिए र सहर्ष अनुमोदन गरेका थिए भनेर सोही सूत्रमा उल्लेख छ । भूमिमा बस्ने देउताहरुको पूजा नेवार जातिमा  मात्र नभई सबै जनजाति समुदायमा प्रचलित छ । यिनलाई स्थानीय देउता भन्न सकिन्छ ।

यसबाहेक बौद्ध दर्शनमा कामावचर, रुपावचर र अरुपावचर लोक उल्लेख छन् । अहिलेसम्म थाहा भएको वैज्ञानिक अन्वेषणको आधारमा भन्ने हो भने कामावचर लोकलाई हाम्रै ब्रह्माण्डभित्रका तर हाम्रोभन्दा विकसित ग्रहका प्राणी हुन् कि भनी अनुमान गर्न सकिन्छ । वैज्ञानिकहरुले पृथ्वीबाहेक प्राणी भएका अन्य ग्रहहरुको सम्भावना जनाएका छन् र खोजमै छन् । 

बौद्ध दर्शनअनुसार रुपावचर लोकका देउताहरुको रुप त हुन्छ, तर हामीले देख्न सक्ने हुँदैन । किनभने ती हाम्रोजस्तो भौतिक तत्त्वबाट बनेका हुँदैनन् । यसलाई डार्क म्याटरको संसार भन्न सकिएला कि ? त्यस्तै, अरुपावचर देउताहरुको रुप नै हुँदैन । अब, तिनको लोकलाई डार्क इनर्जीको संसार भन्न सकिएला कि ? यो नै ब्रह्मतत्व वा काली शक्ति हो कि ? बौद्ध दर्शनअनुसार यी लोकका देउताहरु शक्तिशाली हुन्छन् र हामीलाई राम्रो र नराम्रो दुवै प्रभाव पार्न सक्ने हुन्छन् । तर ती कर्मबन्धनबाट मुक्त भने हुँदैनन् । अरुप ब्रह्मलोकका देउताहरु कल्पौंकल्प जीवित रहन सक्छन् । तर पनि समय आएपछि कर्मबन्धन अनुसार अन्य योनिमा जन्म लिनुपर्ने हुन्छ । कर्मबन्धनबाट मुक्ति निर्वाणबाट मात्र सम्भव छ ।

निष्कर्ष

विज्ञान र अध्यात्मबीच यहाँ कुनै निष्कर्ष निकाल्न खोजेको होइन । डार्क म्याटर र डार्क एनर्जीलाई देवलोक, ब्रह्मलोक नै हुन् भन्न खोजको पनि होइन । धर्म र विज्ञान दुवैले दृश्य जगतभन्दा पर अदृश्य जगत र शक्तिको अस्तित्व स्वीकार गरिसकेको अवस्था मात्र जनाएको हुँ । 

बौद्ध दर्शनमा त लोकहरु अनन्त छन् । साथै विज्ञानले अहिले डार्क म्याटर र डार्क इनर्जी भरखर अनुमान गर्न सकेको छ भने भविष्यमा अझै पत्ता लाग्न बाँकी अस्तित्वका रहस्यहरु त अनन्त नै होला । वास्तवमा अध्यात्म र विज्ञान दुवै खुला अन्वेषण हुन् । कुनै निष्कर्ष होइनन् । एउटाले आफूभित्र अन्वेषण गर्छ, अर्कोले बाहिरी जगतमा । त्यसैले तिनमा विवाद गर्नुपर्ने कुरा पनि छैन । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।