बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

यसपालिको दसैँ : महँगियो तेल, चामल, च्यूरा र तरकारी

एक वर्षमा कुन वस्तुको मूल्य कति महँगियो ?
सोमबार, २७ भदौ २०७९, १२ : २०
सोमबार, २७ भदौ २०७९

अघिल्लो वर्षको दसैँको तुलनामा यो वर्षको दसैँ महँगो हुने भएको छ । पछिल्लो १ वर्षको अवधिमा खाद्यान्नदेखि, खानेतेल र तरकारीसम्मको मूल्यसूची हेर्दा गत वर्षको तुलनामा यो वर्षको दसैँ महँगो हुने देखिएको हो । 

गत वर्षको भदौ महिनाको तुलनामा यो वर्षको भदौ महिनामा अधिकांश वस्तुको मूल्य बढेको छ । खाद्यान्न, दलहन र खानेतेल लगायत दैनिक उपभोग्य वस्तुको खुद्रा व्यापार गर्दै आइरहेको खुद्रा व्यापार संघका अनुसार गत वर्षको तुलनामा अधिकांश वस्तुको मूल्य बढेको छ । 

संघले उपलब्ध गराएको सूचीअनुसार यो वर्ष दाल, चामल, गेडागुडी, खानेतेल लगायत सबैजसो वस्तुको मूल्य बढेको छ । यसैगरी, कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सबैजसो तरकारीजन्य वस्तुको मूल्य समेत बढेको छ ।

खाद्यान्न

अघिल्लो वर्षको भदौ १५ गतेको तुलनामा यो वर्षको भदौ १५ गतेसम्ममा सबै प्रकारका चामलको मूल्य वृद्धि भएको छ । संघका अनुसार पोखरेली चामल, बासमती र जिरा मसिनो चामलको मूल्य प्रतिकिलो न्यूनतम १० रुपैयाँले बढेको छ । यस्तै, ताइचिन चिउराको मूल्य १ वर्षमा प्रतिकिलो २० रुपैयाँले बढेको छ भने सबैजसो दालहरूको मूल्य समेत बढेको संघले जानकारी दिएको छ । संघका अनुसार मासको दाल प्रतिकेजी १० रुपैयाँ, मुसुरको दाल १५ रुपैयाँ र मस्यौरा प्रतिकिलो २५ रुपैयाँले बढेको छ ।

गेडागुडी

यस वर्ष सबैजसो गेडागुडीको मूल्य पनि बढेको छ । खुद्रा व्यापार संघका अनुसार चनाको मूल्य गत वर्षको भदौ १५ को तुलनामा प्रतिकिलो २५ रुपैयाँले बढेको छ । यस्तै, केराउको मूल्य किलोमा ३५ रुपैयाँले, राजमाको मूल्य किलोमा १० रुपैयाँले बढेको छ । यसैगरी, सेतो सिमीको मूल्य भने प्रतिकिलो ४० रुपैयाँसम्मको मूल्यवृद्धि देखिएको छ । यस्तै, बोडी प्रतिकेजी १० रुपैयाँले बढेको छ भने मुगीको गेडा र मस्याङको मूल्य भने स्थिर छ ।

खानेतेल

यो १ वर्षको अवधिमा सबैभन्दा धेरै मूल्यवृद्धि भएको वस्तु खानेतेल हो । यस अवधिमा भुटेको तोरी तेलको मूल्य प्रतिलिटर ४० रुपैयाँ बढेको छ भने काँचो तोरीको तेलको मूल्य लिटरमा ११० रुपैयाँले बढेको छ । यस्तै, भटमासको तेलको मूल्य १५ रुपैयाँ प्रतिलिटर बढेको छ । सनफ्लावर तेलको मूल्य लिटरमा ५० रुपैयाँ बढेको छ भने डाल्डा घ्यूको मूल्य लिटरमा ८० रुपैयाँसम्म वृद्धि देखिएको छ । यस्तै, नेपाली घ्यूको मूल्य प्रतिलिटर ३०० रुपैयाँसम्म बढेको संघले जानकारी दिएको छ ।

नेपाल वनस्पति घ्यू तेलका अध्यक्ष सञ्जीव अग्रवाल अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेका कारण नेपालमा पनि खानेतेलको मूल्य बढेको बताउँछन् । खासगरी, रुस–युक्रेनबीच युद्ध हुँदा र दक्षिण अमेरिकामा खडेरी चल्दा खानेतेलको मूल्य बढेको उनको भनाइ छ । युक्रेन र रुस विश्वभरमा सबैभन्दा धेरै सूर्यमुखी, भटमास र तोरीको तेल निर्यात गर्ने मुलुकहरूको सूचीमा शीर्ष स्थानमा पर्छन् । तर, यीनै मुलुक आपसी द्वन्द्व फस्दा विश्वभर खानेतेलको आपूर्तिमा समस्या भएकाले मूल्य बढेको अग्रवालको भनाई छ ।

तरकारीको सूची

गत वर्षको भदौ पहिलो साताको तुलनामा यो वर्षको सोही अवधिमा सबैजसो तरकारीको मूल्य बढेको देखिएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार १ वर्षको अन्तरालमा अधिकांश तरकारीको मूल्य बढेको हो । यस अवधिमा आलू, काउली, सिमी, च्याउ, निउरो, हरियो प्याज, ब्रोकाउली, लौकालगायत तरकारीको मूल्य बढेको छ । यस्तै, यस अवधिमा कुरिलो, अकबरे खुर्सानी, गोलभेडा, परवल जस्ता केही तरकारीको मूल्य भने भने घटेको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका निर्देशक विनय श्रेष्ठले गत वर्षको तुलनामा यो वर्ष कम मूल्यवृद्धि देखिएको बताए । 

‘यो वर्ष मौसमी तरकारी बजारमा आइरहेको छ, यो वर्ष औसतमा १५ देखि २० रुपैयाँ प्रतिकिलोसम्म मूल्य बढेको छ,’ श्रेष्ठले भने ।

गत वर्षको भदौ महिनामा भने अघिल्लो वर्षको तुलनामा धेरै मूल्यवृद्धि देखिएको उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप